मोटरसाइकल असुरक्षित सवारी !

0
1241

बिर्तामोड । दिनप्रतिदिन सवारी दुर्घटना बढिरहेका बेला अधिकांश सवारी दुर्घटनामा मोटरसाइकल पर्ने गरेको प्रहरीले जनाएको छ ।
तथ्यांकलाई हेर्ने हो भने मोटरसाइकल असुरक्षित सवारी साधन भएको देखिन्छ । दुर्घटनामा मृत्यु भएको तथ्यांकको आधारमा पनि अधिकांश मृत्यु मोटरसाइकल दुर्घटनामै देखिएको छ । सडकको अवस्था सुधार नहुनु तर सवारीको संख्या बढ्नुले दुर्घटना बढाएको ट्राफिक प्रहरीको ठम्याई छ ।
मोटरसाइकल चालकले ट्राफिक नियमको उल्लंघन गर्दा यस्तो हुने गरेको बताइन्छ । मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउनु, अत्यधिक गति, ओभर टेक, पछाडि सवारले हेल्मेट नलगाउनु जस्ता कारणले दुर्घटना निम्तिने र मृत्यु हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ ।
सरकारको प्राकृतिक बिपद् जोखिम व्यवस्थापनको काम प्राथमिकतामा नपर्दा सडक दुर्घटना न्यूनीकरण अभियान ओझेलमा परेको विज्ञहरुले बताइरहेका बेला सडक दुर्घटना न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको प्रदेश–१ ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिए ।
पछिल्ला वर्षमा प्राकृतिक विपद्बाट भन्दा सडक दुर्घटनाबाट बढी जनधनको क्षति भएको सरकारी तथ्याङ्कमा उल्लेख छ । त्यसमध्ये पनि दुई पाङ्ग्रे सवारी सबैभन्दा धेरै दुर्घटनामा पर्ने गरेको बताइएको छ । बर्षेनि सडक दुर्घटनाबाट एक हजार आठ सय जना मानिसको मृत्यु हुने गरेको ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ । चालकको लापर्बाही, मादक पदार्थ सेवन र यात्रुको हेलचेक्र्र्याइँ जस्ता कारण सडक दुर्घटना हुने गरेको प्रदेश–१ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक राईले बताए ।
यसैबीच झापामा हुने अधिकांश सवारी दुर्घटनामा दुई पाङ्ग्रे सवारी पर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । आर्थिक वर्ष २०७४ को साउनदेखि चालूआर्थिक वर्षको २०७५ वैशाख मसान्तसम्ममा दुई पाङ्ग्रे सवारी दुर्घटना हँुदा ९१ जनाले ज्यान गुमाइसकेका छन् । २२ महिनाको अवधिमा ६० जना चालक र ३१ जना पछाडि सवार यात्रुको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ ।
अधिकांश दुर्घटनामा पछाडि सवार घाइते हुने र उछिट्टिएर उनीहरुकै मृत्यु हुने सम्भावना धेरै हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले बताए । ट्राफिक प्रहरीले बिभिन्न सचेतना कार्यक्रम सञ्चालन गरेर मोटरसाइकलको पछाडि सवार यात्रुलाई पनि हेल्मेट लगाउन अनुरोध गर्ने गरेको बताइएको छ ।
झापामा आर्थिक वर्ष २०७२÷०७३ मा ७९ जनाले ज्यान गुमाएका थिए भने आर्थिक वर्ष २०७३÷०७४मा ८६ जना, २०७४÷०७५मा १ सय ५ र चालू आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ७१ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
त्यस्तै झापासहित प्रदेश–१लाई हर्न निषेधित क्षेत्र घोषणा गरे पनि ट्राफिक प्रहरीले लागू गर्न सकेको छैन् । ध्वनि प्रदुषण बढेको भन्दै ट्राफिक प्रहरीले हर्न निषेध घोषणा गरे पनि कार्यान्वयनमा भने असफल भएको छ । ट्राफिक प्रहरीले पूर्वमा टिपरका लागि टाइम कार्ड समेत लागू गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here