छोरो कामको खोजीमा, बुबा कामदार खोज्दै

0
882

बिर्तामोड।

पछिल्लो समय झापामा राहदानी बनाउनेको संख्या घटे पनि वैदेशिक रोजगारीमा जानेको संख्या उस्तै छ । गाउँका सबैजसो युवा बिदेश पलायन भएपछि अहिले गाउँघरमा काम गर्ने मजदुरको अभाव छ । जसका कारण खेतीयोग्य जमिन बाँझिदै छ ।

सरकारले जमिन वाँझो राखे कारवाही गर्ने तयारी गरिरहँदा ग्रामीण क्षेत्रमा मजदुरकै अभावमा खेतीयोग्य जमिन बाँझिने क्रम जारी छ । गाउँका अधिकांश युवा कामको खोजीमा विदेश गएपछि मजदुरको समस्या हुन थालेको बाह्रदशी गाउँपालिका–३का लक्ष्मीप्रसाद तिम्सिनाले बताए । उनले भने– गाउँमा काम गर्ने मान्छे त परै जाओस्, मलामी समेत नपाइने अवस्था सृजना हुन लाग्यो ।

तिम्सिनाका कान्छा छोरा होमप्रसाद अहिले हातमा राहदानी बोकेर मेनपावर धाउँदैछन् । उता बुबा लक्ष्मीप्रसाद जमिन बाँझिने चिन्ताले खेताला खोज्न व्यस्त छन् । उनी भन्छन्– ‘यस्तो समस्या मलाई मात्र होइन गाउँका सबैलाई छ ।’
लक्ष्मीप्रसाद प्रतिनिधि पात्र मात्रै हुन् । उनी जस्ता धेरैको यही समस्या छ अहिले । वैदेशिक रोजगारीमा गएर फर्किएकाहरुले व्यवसाय थाले पनि विदेश नगएका युवाहरु अहिले अरुको देखासिकीमा समेत बिदेश जाने होडमा छन् । यसका कारण समस्या उत्पन्न भएको बताइन्छ । झापाली युवा दिन प्रतिदिन कामको खोजीमा विदेशिँदा गाउँघरमा हुने विकास निर्माणका काममा अहिले अधिकांश भारतीय नागरिकले रोजगारी पाएका छन् ।

केही वर्ष अघिसम्म भुटानी शरणार्थीले कृषि कर्मको काम गर्दै आए पनि उनीहरु तेस्रो देश पुनर्वाससँगै झापामा मजदुरको अभाव शुरु भएको हो । भुटानी शरणार्थी तेस्रो देश पुनर्वास हुनु र झापाका युवापनि एक पछि अर्काे गर्दै विदेश पलायन हुँदा यस्तो समस्या आएको कचनकवल गाउँपालिकाका युवा सत्यनारायण यादव बताउँछन् । उनी भन्छन्– ‘शैक्षिक बेरोजगार भएकाले पनि यो समस्या आएको हो । पढेलेखेका युवाले कृषिको काम गर्नु हुन्न भन्ने मान्यताले पनि युवा शक्ति विदेश पलायन हुने क्रम उच्च छ ।’

अहिले झापाको बिर्तामोडमा मात्रै दैनिक एक हजार भारतीय नागरिकले काम गर्ने गरेको बताउँछन्– साना निर्माण व्यवसायी संघका अध्यक्ष सन्तोष राजवंशी । उनी भन्छन्– ‘नेपाली मजदुर नहुँदा भारतीयलाई काम लगाउनु पर्ने बाध्यता छ । उनीहरुले हजारदेखि एक हजार पाँच सय रुपैयाँसम्म दैनिक पारिश्रमिक पाउने गरेका छन् ।’

भारतीय नागरिकलाई निर्माणको क्षेत्रमा काम लगाउन कडाइ गर्नुपर्ने आफूहरुले माग गर्दै आए पनि नेपाली कामदारको अभावमा त्यसो हुन नसकेको राजवंशीको भनाइ छ । अहिले झापामा घर बनाउने काम त भारतीय कामदारले गर्छन् नै, त्यसबाहेक सडक, ढल बनाउने जस्ता बालुवा–सिमेन्टका काममा पनि भारतीय कामदारकै भर पर्नुपर्ने अवस्था छ ।
केही वर्ष यता नेपालमै बसेर मजदुरी गर्दै आएका भारतीय नागरिक गोविन राजवंशीले दैनिक एक हजारभन्दा माथि पारिश्रमिक पाउने गरेको बताए । उनले भने– आफ्नो देशमा दिनभर काम गर्दा पाँच सय भारु (आठ सय रुपैयाँ) मात्र पाइन्थ्यो । भारतीय रुपैयाँभन्दा नेपाली रुपैयाँ कमजोर त छ तर पनि आफूहरुलाई नेपालमा आएर काम गर्दा फाइदा हुने राजवंशीले बताए ।

त्यस्तै, टायल्सको काम गर्ने अर्का कामदार मोहम्मद तसिर रुद्दिनले नेपालमा काम गरेर दैनिक एक हजार पाँच सय रुपैयाँ कमाउने गरेको बताए । भारतमा उही काम गर्दा दैनिक पाँच सय भारु मात्र कमाउने हुनाले नेपालमा काम गर्न आउने गरेको उनको भनाइ छ । नेपालका अधिकांश युवा रोजगारीका लागि विदेशिने क्रम बढ्दै छ । भारतीय मजदुरहरु भने नेपालमा आएर काम गर्दा लाभ देखिरहेका छन् ।

नेपाली रुपैयाँ भन्दा भारतीय रुपैयाँ महङ्गो भए पनि नेपालमा राम्रो पारिश्रमिक पाउने र यता काम पनि पाइने हुनाले भारतीय कामदारको संख्या बढ्दै गएको हो ।

पछिल्लो समय घर निर्माणदेखि विकास निर्माणका सम्पूर्ण काममा भारतीय मजदुर नै कार्यरत छन् । नेपालीले गरेको कामभन्दा भारतीयको काम राम्रो हुने भएकोले भारतीय मजदुर रोज्ने गरेको बताउँछन्– ठेकेदार राजकिशोर गुप्ता । घर बनाउँदा फर्मा लगाउने, ढलान गर्नेजस्ता काममा भारतीयको काम राम्रो हुने भएकाले उनीहरूलाई रोजेको गुप्ताले बताए । गुप्ताले भने– ‘भारतीयलाई काम लगाएपछि उनीहरुलाई तोकिएको पारिश्रमिक मात्र दियो भने पनि राम्रोसँग काम गर्छन् तर त्यही कामका लागि नेपालीलाई लगाउँदा पारिश्रमिकसँगै मागे अनुसार रक्सी पनि खुवाउनुपर्छ । त्यसले गर्दा पनि भारतीयलाई काममा राख्न सजिलो छ ।’

भारतीय कामदारको एकजना ‘हेड’ हुन्छ । उसले नै सबैलाई काम लगाउँछ । भनेकै दिनमा काम सकेर जान्छन्– गुप्ताले भने– ‘पैसा पाएको भोलिपल्टदेखि नेपाली कामदार रक्सी खाएर काममै आउँदैनन् । भारतीयमा यस्तो समस्या हुँदैन ।’ अर्का ठेकदार मजेबुल मियाले पनि नेपालीभन्दा भारतीय कामदार नै राख्दा आफूलाई सजिलो हुने बताए । उनले अनुभव सुनाए– ‘नेपाली १० बजेदेखि काममा आउँछन् । आएपछि पनि अल्छी गर्छन् । भारतीय बिहानदेखि काममा लाग्छन्, लगातार काम गर्छन् ।’

नेपाली कामदार कामको समयमा झर्किने, लगनशील नहुने समस्या छ तर भारतीयमा त्यो समस्या नहुने उनको भनाइ छ । भारतीय कामदारले नेपाल आएर मासिक ३० देखि ३५ हजारसम्म कमाउने गरेका छन् । तर, नेपालीहरु नेपालमै रोजगार बन्न त्यति धेरै उत्सुक देखिँँदैनन् ।

विदेश गरेर कमाएको पैसा (रेमिटेन्स) ले देशको अर्थतन्त्रको मुख्य हिस्सा ओगटेको बताइरहँदा भारतीयहरुले नेपालबाट कति पैसा लैजान्छन् भन्ने तथ्यांक भने कतै उल्लेख भएको पाइँदैन । नेपाली युवा दिनप्रतिदिन विदेश पलायन हुँदा कमदार अभावले झापा मात्र होइन पहाडी जिल्लामा बसोबास गर्ने स्थानीयले समेत अझ ठूलो समस्या झेल्दै आएका छन् । कामदारकै अभावमा अहिले पहाड पनि बाँझिदै गएको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here