कारागारमा समस्यैसमस्या,क्षमताभन्दा दोब्बर कैदी

0
622

नरेन्द्र ढकाल / झापा।

झापा कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी राखिएपछि समस्या भएको छ । साँघुरो ठाउँमा धेरैजना कोचाकोच गरेर बस्नुपर्दा समस्या भइरहे पनि सम्बन्धित निकायले यस विषयमा बेवास्ता गरेको कैदीबन्दीको गुनासो छ ।

जीर्ण भवन, त्यसमा पनि खचाखच कैदीबन्दी राखिँदा खान, बस्न र सुत्नका लागि असहज भइरहेको छ । पाँच सय जना पुरुष र ५० जना महिला गरी पाँच सय ५० जनाको क्षमताको कारागारमा अहिले कैदी, बन्दी र थुनुवा गरी करिब एक हजार एक सयजना राखिएका छन् । जसमा ५ बालबालिकासहित एकसय जना महिलाकैदीबन्दी रहेका छन् । धेरैजना साँघुरो ठाउँमा कोचाकोच गरी बस्दा पानी, शौचालय र सुत्नकालागि समस्या हुने गरेको कैदीबन्दीको गुनासो छ ।

साँघुरो भवनमा धेरै कैदीबन्दी राख्दा प्रशासनलाई पनि व्यवस्थापन गर्न हम्मेहम्मे परेको कारागारका जेलर राजेन्द्र निरौलाले बताए । कारागार प्रशासनले जिल्ला प्रशासन कार्यालय र कारागार विभागलाई झापा कारागारको समस्याबारे जानकारी गराएको बताइएको छ । वर्षा याम सुरु भएसंगै जेलर निरौलालाई एउटै समस्यालाई सताई रहेको छ । उनले भने–बर्खा लाग्यो ढल निकास छैन, क्षमताभन्दा धेरै कैदीबन्दी कसरी ब्यवस्थापन गर्ने ? दिनरात लागि परेको छु ।

भर्खरै मात्र कारागार शाखाको जिम्मेवारी सम्हालेका निरौलाले कैदीबन्दीको समस्यालाई मध्यनजर गरेर विभिन्न योजना बनाउने काम गरेको बताए । उनले कारागारको क्षेत्रफल संघुरोभएकाले यसलाई अझ ब्यवस्थित गर्ने विषयमा छलफल भइरहेको जानकारी समेत दिए । मर्मतसम्भारको अभावमा साँघुरो र अव्यवस्थित बनेको जिल्ला कारागार झापाका कैदीबन्दीको बसाइ कष्टकर बनेकाले यसलाई कसरी समाधान गर्ने भनेर योजनाबद्ध ढङ्गबाट अघि बढ्ने जेलर निरौलाको भनाई छ ।

कारागार भवन जीर्ण भएको एक दशक बित्दा पनि पूर्ण मर्मतसम्भार हुन सकेको छैन । एक दशकअघि नै सहरी विकास तथा भवन निर्माण विभागले झापा कारागार कैदीबन्दी बस्न अयोग्य भएको प्रतिवेदन बुझाएको थियो तर हालसम्म पनि कारागारमा कैदीबन्दी राख्न छाडिएको छैन । राज्यले कारागारलाई सुधार गृहका रूपमा विकास गर्ने भने पनि त्यो यातनागृह मात्र भएको कैदीबन्दीको गुनासो छ । ढल निकासको उचित प्रबन्ध नहुँदा कारागारआसपासको क्षेत्रमा दुर्गन्ध फैलिएको छ ।

स्वास्थ्यको समस्या

क्षमताभन्दा तेब्बर कैदीबन्दी हुदाँ विभिन्न रोगको संक्रमणको जोखिम रहेको पाइएको छ । एकै स्थानमा धेरैजना कोचिएर बस्नुपर्ने बाध्यात्मक अवस्थाका कारण रोगको जोखिम बढी हुने चिकित्सकहरुले बताएका छन् ।

कारागारमा स्वास्थ्यको विषयलाई ध्यानमा राखेर भद्रपुर नगरपालिकाले छिट्टै स्वास्थ्य शिविरको आयोजना गर्ने नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले बताए । उनले स्वास्थ्य जस्तो संवेदनशिल विषयमा नगरपालिका गम्भिर रहेको उल्लेख गरे ।

पानी चुहिँदा झन् समस्या

भवनको जस्तापाता फाटेर जताततैबाट पानी चुहिन्छ । बर्खाका तीन महिना बाल्टी थापेर सुत्ने गरेको कैदीले बताए । अहिले पनि पानी पर्दा पानी चुहिएर बन्दीलाई सुत्न समस्या हुन्छ ।

सानो ठाउँमा पुराना भवन र पर्खालका कारण कैदीबन्दीलाई सुरक्षित राख्नसमेत प्रशासनलाई चुनौती छ । कारागार भवन र कैदीबन्दीका विषयमा सम्बन्धित निकायमा जानकारी गराइएको बताइएको छ ।

ब्यवसायीको चासो

बिर्तामोडका ब्यवसायीहरुले कारागारमा भएको समस्याको विषयमा जानकारी लिदैं कारागार प्रशासनसंग समन्व्य गरेर सहयोग गर्ने प्रतिबद्धतना जनाएका छन् । उद्योग वाणिज्यसंघका अध्यक्ष कुमार भट्टराई,पूर्व अध्यक्ष बलराम कार्की, महसचिव प्रशान्त भण्डारी, नेपाल अलैंची ब्यवसायी महासंघका निर्वमान अध्यक्ष निर्मल भट्टराई, नेपाल रेडक्रस सोसाईटी उपशाखा बिर्तामोडका सभापति सजेश शिवाकोटी लगायतको टोलीले सोमबार कारागारको अनुगमन गर्दै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले जस्तापाताको ब्यवस्थाका लागि ब्यवसायीसंग छलफल गरेर सहयोग गर्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here