भान्छा खोला र नेपालीको पीडा

0
593

दुईटा नाउमा खुट्टा राखेर लडिन्छ भन्छन् । तर, नेपालीको नियति त्यस्तै छ । एउटै नाउ अर्थात् एउटै देशमा दुइटै खुट्टा टेक्छुभन्दा कि बाँच्नै सकिँन्न कि त उभिनै सकिँन्न ।

यस्तै नियति भोग्दैछन् पूर्वीनाका मेचीनगर नगरपालिका वडा नं. ६ का बासिन्दाले । कुनै दिन थियो उनीहरुको थातथलोसँगै बाँच्ने आधार अर्थात् गरिखाने भाँडो जग्गा । अहिले एकातिर नदीले धार परिवर्तन गर्दा नेपाल–भारत हुन पुगेको छ भने अर्कातिर दुई देशको सीमा निर्धारण गर्ने स्तम्भ एकाएक सर्ने र हराउने गरेको छ।

मेचीनगर–६ भान्छा खोला भनिने ठाउँका बासिन्दा यतिबेला नेपालको हुँइन्न कि चिन्ताले पिरोलिएका छन् । पुख्र्यौली बासस्थानका आधारमा उनीहरु नेपाली हुन्, तर उनीहरुले खेती गर्दै आएको ठाउँ भारत भएको छ अहिले । सीमा क्षेत्र यसै पनि असुरक्षित मानिन्छ । जीवन सुरक्षित राख्ने क्रममा सीमावर्ती क्षेत्रमा बस्नेहरुले जहिल्यै चुनौति व्यहोर्नुपर्छ, संघर्ष गर्नुपर्छ समाजविरोधी गतिविधिसँग । चोरी–चकारी, डकैती–लुटपाटका घटना सीमाका बासिन्दाको दीर्घ पीडा हो । त्यसका लागि कठिन संघर्ष गर्दै आएका भान्छा खोलाका बासिन्दा अहिले राष्ट्रियता गुम्ने चिन्ताले पिरोलिएका हुन् । यसो हुनुको कारण हो कि उनीहरुको पुख्र्यौली खेती गर्दै आएको जमिन अहिले भारतमा पारिएको छ ।

भान्छा खोलाका एघार घर परिवारको यो समस्या सबै सीमान्त क्षेत्रमा बस्नेहरुको छ । यसको समाधान कुटनीतिबाट खोजिनु पर्छ । तर, हाम्रा नेता, प्रशासक र सरकारको अदक्षता, अक्षमता र अदूरदर्शिताको कारण नेपालीले सधैँ हैरानी, अपमान र असुरक्षा व्यहोर्नुपर्छ । राष्ट्र प्रत्येक नागरिकको पहिलो अनिवार्य शर्त हो, राष्ट्र नै नरहे आफ्नो केही बाँकी रहन्न । त्यसैले पनि इतिहासदेखि नै सीमाक्षेत्रमा बस्ने नेपालीहरुले कठिन संघर्ष गर्दै आएका छन् । तर, सरकारमा बस्नेहरु मुखले ठूला कुरा गरे पनि भारतीय पक्षसँग आधार, तथ्य र कारणसहित साक्षात्कार हुन नसकेकै कारण यस्तो पीडा भोग्नु बाध्य छन् ।

त्यस्तो त वर्णमाला अनुसार ‘ज’ पछि ‘झ’ आउँछ । बूढापाकाले भन्ने गरेका थिए ज अर्थात् जग्गाले झ अर्थात् झगडा गराउँछ । फेरि ठूलाले सानालाई हेप्ने सनातनी चलन नै भयो । हामीभन्दा कैयौं गुना ठूलो भारतले सधैँ हेपिइरहेको छ । हाम्रा संरक्षक, अभिभावक भनिने सरकार जहिल्यै ‘निगुरमुन्टी न’ हुने कारणले जसरी भए पनि बाँच्ने उपक्रममा रहनु हाम्रो बाध्यता रहेको छ ।

सीमावर्ती जिल्लाका अधिकारीहरुबीच समय–समयमा वार्ता हुन्छ तर, प्रयोजनविहीन । त्यसैले भान्छा खोला र सँगै मानेमञ्ज्याङदेखि सुस्तासम्मका नेपाली भू–भाग आफ्नो जिम्मामा ल्याउन सरकारले विज्ञहरुसँग परामर्श लिएर कुटनीतिको माध्यमबाट पहल गर्नुपर्छ । होइन भने नागरिकता बोकेर सुतेका हामी ब्युँझ्दा भारतमा परिसकेका हुन सक्छौं यसतर्फ सबैमा चेतना होस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here