लन्डन।
भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले अस्ट्रेलियन ब्याट्सम्यान स्टीभ स्मिथसँग माफी मागेका छन् ।
विश्वकप क्रिकेटका क्रममा गएराति सम्पन्न म्याचपछि कोहलीले स्मिथसँग सार्वजनिक रुपमा माफी मागेका हुन् । खेल सकिएपछि आयोजित पत्रकार सम्मेलनमा उनले स्मिथसँग माफी मागेका हुन् ।
त्यसो त, खेलका क्रममा कोहली र स्मिथबीच कुनै विवाद वा माफी नै माग्नुपर्ने खालको कुनै प्रकारको घटना भएको थिएन । कोहलीले भारतीय प्रशंसकले स्मिथप्रति गरेको व्यवहारलाई लिएर माफी मागेका हुन् ।
भारतीय टिमले ब्याटिङ गरिरहेको समय स्मिथ फिल्डिङका क्रममा बाउन्ड्री छेउमा उभिएका थिए । त्यतिबेला भारतीय कप्तान कोहली क्रिजमा थिए ।
भारतीय प्रशंसकले स्मिथविरुद्ध हुटिङ गरिरहेका थिए । उनीहरुले स्मिथविरुद्ध ‘चिटर’ भन्दै नारा लगाएपछि विराटले क्रिजबाट बाहिर आएर प्रशंसकलाई त्यस्तो व्यवहार प्रदर्शन नगर्न इशारा गरेका थिए । त्यतिमात्र होइन, उनले स्मिथका लागि ताली बजाएर हौसला बढाउन भारतीय प्रशंसकलाई सुझावसमेत दिएका थिए ।
विराट कोहलीले भारतीय प्रशंसकलाई गरेको सो इशारासहितको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । धेरैले कोहलीको प्रशंसा गरेका छन् । उनले खेल भावनालाई बनाइराख्न गरेको उक्त योगदानको प्रशंसा भएको हो ।
खेल सकिएपछि पत्रकार सम्मेलनमा समेत कोहलीले यो विषयमा टिप्पणी गरे । ‘स्मिथ अहिले क्रिकेट खेलिरहेका छन्, उनीप्रति जे भयो, त्यो विगत हो,’ कोहलीले पत्रकार सम्मेलनमा भने, ‘यहाँ भारतीय टिमका समर्थक छन्, यस्तोमा म उनीहरुको कारणले कसैलाई नराम्रो लागोस् वा एउटा गलत उदाहरण पेश होस् भन्ने चाहन्नँ ।’
त्यो दृष्य देखेर आफूलाई नराम्रो लागेको उल्लेख गर्दै कोहलीले भने, ‘मैले स्मिथलाई भनेँ, भारतीय प्रशंसकका तर्फबाट म माफी माग्छु ।’-इमेजखबरबाट