सरकारले भ्रष्ट्राचारलाई बढवा दियो–पौडेल

२७ जेष्ठ २०७६, सोमबार मा प्रकाशित

बिर्तामोड ।

वर्तमान सरकारले डेढ वर्षको अवधिमा पनि प्रत्यक्ष देखिने गरी कुनै काम गर्न नसकेको नेपाली कांग्रेसका नेता नारायण शर्मा पौडेलले आरोप लगाएका छन् ।

जनताले बहुमत दिएपनि वर्तमान सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै पौडेलले भने– जनताले मत दिएका थिए, तर नेकपाले मतदातालाई उपेक्षा गरेको छ । वर्तमान सरकार आएसँंगै सरकारकै कारण भ्रष्टाचार मौलाएको नेता पौडेलले आरोप लगाए । झापाको बिर्तामोडमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्व राज्यमन्त्री पौडेलले कांग्रेसको जागरण अभियानले देशभरका कांग्रेस कार्यकर्तामा उत्साह जगाएको उल्लेख गरे ।

उनले कांग्रेसभित्र कुनै गुट–उपगुट नभएको दाबी गर्दै पार्टीमा विभिन्न वैचारिक भिन्नता हुनु स्वभाविक भएको टिप्पणी गरे । कांग्रेसले जागरण अभियानमार्फत वर्तमान सरकारको काम कारबाहीको भण्डाफोर गर्दै जागरण अभियानलाई तीब्र बनाएको उल्लेख गरे । कांग्रेसले बहुमत पाएर पाँच वर्षसम्म शासन गरेको छैन भन्दै उनले कम्युनिष्ट सरकारले ढुक्कले पाँच वर्ष शासन गर्ने अवसर पाउँदा समेत प्रभावकारी काम गर्न नसकेको बताए ।

हिजो बुलेटबाट सत्ताको सपना देख्नेहरु आज ब्यालेटबाट सत्तामा पुग्दा पनि केही गर्न नसकेको उनको भनाइ थियो । प्रजातान्त्रिक शक्ति कांग्रेसलाई सत्तामा नपुग्दा दुःख लागेको छैन भन्दै पौडेलले भने–बुलेटबाट सत्तामा पुगिन्छ भन्नेहरुलाई जनताले ब्यालेटबाट पु¥याएर प्रजातान्त्रिक धारमा ल्याएकोमा हामीलाई गर्व छ ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम नै किटेर भ्रष्टाचार ढाकछोप गर्न उद्धत रहेको आरोप लगाए । वाइडबडी काण्ड, विष्णु पौडेलको बालुवाटार जग्गा काण्डमा प्रधानमन्त्रीले अग्रसरता देखाएर अनियमिततालाई ढाकछोप गर्ने प्रयत्न गरेको उनको आरोप थियो । भ्रष्टाचारलाई वर्तमान सरकारले बढावा दिइरहेको नेता पौडेलको भनाइ छ । उनले वि.सं.२०१७ सालमा कांग्रेसले बहुमत ल्याएपनि जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले १८ महिना मात्रै सरकार सञ्चालन गर्न पाएको बताए ।

राजाले जनताको शासनमाथि घाँटी निचोरेका कारण राजतन्त्र अन्त्य गर्नु परेको उनको भनाइ थियो । नेता पौडेलले कम्युनिष्ट सरकारले निरङ्कुशता लाद्न सक्ने भएकाले जनता जागरुक हुनु पर्ने भन्दै अहिले प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउने प्रयत्न भइरहेको उल्लेख गरे ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here