कांग्रेस सांसदको चेतावनी : नेवार समुदायलाई चलाए काठमाडौंमा घेराबन्दी

२८ जेष्ठ २०७६, मंगलवार मा प्रकाशित

काठमाण्डौं ।

नेपाली कांग्रेसका सांसद राजेन्द्र कुमार केसी धर्म-संस्कृतिलाई चलाउने प्रयास नगर्न सरकारलाई चेतावनी दिएका छन्। प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद केसीले सरकारले ल्याउन लागेको गुठी विधेयकको विरोध गर्दै काठमाडौं उपत्यकाका नेवार समुदायको धर्म र संस्कृतिमाथि प्रहार गरे उपत्यका घेराबन्दी हुने चेतावनी दिए।

सरकारले ल्याएको विधेयकबाट गुठीयारहरु आतंकित भएको भन्दै उनले विधेयक उपत्यकाबासीलाई कुनै पनि अवस्थामा स्वीकार्य नहुने चेतावनी दिए। धर्म संस्कृतिको संरक्षणको लागि मण्डलामा आएका सर्वसाधरणलाई सरकारले निर्मम ढंगले लाठी प्रहार गर्ने काम भएको भन्दै उनले घटनाको भर्त्सना गरे।

‘यदि धर्मलाई र यहाँको परम्परालाई विशेष गरेर नेवार जातिको संस्कृति र संस्कारलाई चलाइयो भने १० औँ लाख मान्छे काठमाडौंमा उत्रनेछ’, उनले भने, ‘सरकारले राजधानीबासीलाई नाङ्लो ठटााएर हात्ती तर्साउने काम नगरोस्।’ केसी विधेयक फिर्ता नलिएर त्यसको विरोधमा काठमाण्डौ घेराबन्दी हुने र भयाभह स्थित श्रृजना हुने चेतावनी दिए।

प्रधानमन्त्रीले विदेशीको धर्म प्रचार प्रशार गरेर हिन्दु धर्म समाप्त पार्ने खेलमा लागेको आरोप उनले लगाए। हिन्दु धर्म मात्रै नभई बौद्ध लगायतका धर्मका पनि गुठीहरु रहेको भन्दै धर्म संस्कृति ध्वस्त पार्ने गुठी विधेयक तत्काल फिर्ता गर्न उनले माग गरे।

‘आफुहरुको धर्म र संस्कृति हनन गर्न लागेको भन्दै गुठीयारहरु निकै आक्रोशित छन्’, उनले भने, ‘काठमाडौंबासीको संस्कार र भावनासँग खेलबाड नगर्नु होला।’ ‘सभामुख महोदय, मैले बच्चामा स्कुल जाँदा सुनेको थिएँ। कम्युनिष्टहरु धर्म मान्दैनन। कम्युनिष्टहरु संस्कृति र सम्पदामा विश्वास गर्दैनन्’, उनले भने, ‘कम्युनिष्टहरु चाडपर्व, परम्परा र संस्कार मान्दैनन्। यो कम्युनिष्टको दर्शन हो। यो कम्युनिष्ट को स्कुलिङ हो। आज यो चरितार्थ भएको छ।’

उनले भूमिसुधारमन्त्री पद्मा अर्यालले संविधानको गलत व्याख्या गरेको भन्दै संविधानलाई अक्षरस अध्ययन गर्न आग्रह गरे। सोमबारको बैठकमा मन्त्री अर्यालले संविधान अनुसारनै गुठीसम्बन्धी विधेयक आएको दाबी गरेकी थिइन्। संविधानको धारा २६ मा धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आस्था अनुसारको धर्मको अवलम्बन र संरक्षणको स्वतन्त्रताको प्रत्याभूति गरिएको, धारा २ सय ९० मा गुठीको मुलुभुत मान्यतामा प्रतिकुल असर नपर्ने गरि व्यवस्थापन गर्न भनिएको भन्दै उनले धार्मिक स्थल तथा धार्मिक गुठी संरक्षण गर्ने हक संविधानले दिएको दाबी गरे।

आइतबार माइतीघर मण्डलामा गुठी व्यवस्थापन सम्बन्धी विधेको विरोधमा निस्किएको जुलुसमा प्रहरी दमन भएको भन्दै उनले तत्काल छानबिन समिति बनाउ आग्रह गरे।-थाहाखबरबाट

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here