बिर्तामोड।
इलाका प्रहरी कार्यालय अनारमनी परिसरमा बुधबार एक व्यक्ति हातमा सादा कागज लिएर यताउता गरिरहेका थिए । खिन्न मुद्रामा देखिएका ती व्यक्ति केही क्षणमै दाहिने हातमा सादा कागज र देब्रे हातमा चेक बोकेर डीएसपीको कार्यकक्षमा प्रवेश गरे ।
डीएसपीको कार्यकक्षमै पुगेर ती व्यक्तिले डीएसपी मोहन थापासँग आफ्नो दुखेसो पोखे । उनी भन्दै थिए– ‘डीएसपी साव एक व्यक्तिले मलाई धेरै दुःख दियो हजुर, मैले ऊ सँग रकम पाउनु थियो, उसले मलाई चेक दिएको थियो । तर, चेकमा भने अनुसारको रकम रहेनछ । धेरै पटक बैंक धाएँ चेकबाट पैसा निकाल्न नसकेपछि यहाँ आएको हुँ सहयोग गरिदिनु प¥यो ।’
‘हिजो पनि आएको थिएँ तीन पटक चेक बाउन्स गराएर ल्याउनुहोस् भन्दै मलाई हिजो प्रहरीले फर्काउनुभयो बैंक जाँदा चिठी दिएपछि पर्दैन भन्नुहुन्छ त्यही भएर हजारसँग आफ्नो गुनासो राख्न आएको हुँ’ –उनले थपे– ‘सर मेरो त व्यवहार नै बिग्रियो सहयोग गरिदिनुहोस् न है ।’
उनको गुनासो सुन्नासाथ प्रहरी नायव उपरीक्षक थापाले भने– ‘यस्तो समस्या धेरैको आएको छ निवेदन दिनुहोस् उसलाई कारवाही हुन्छ ।’ डीएसपीको भनाई सँगै खिन्न मुद्रामा देखिएका उनको अनुहारमा केही चमक आएको आभाष सहजै गर्न सकिन्थ्यो ।
डीएसपीको सल्लाह अनुसार ती व्यक्तिले इलाका प्रहरी कार्यालयमा केही समयपछि चेक बाउन्सको निवेदन दिए । बुधबार उनी इलाका प्रहरी कार्यालय परिसरमा देखिएका उनी प्रतिनिधि पात्र मात्रै हुन् । उनी जस्ता धेरैले पछिल्लो समय झापासहित देशभर यस्तो समस्या झेलिरहेका छन् ।
विशेषगरी व्यापारिक कारोबारमा सम्बन्ध राम्रो हुँदा चेकमा हस्ताक्षर गरी रकम दिने र पछि सम्बन्ध बिग्रिएपछि झुक्याउन चेक दिए पनि पैसा निकाल्न नमिल्ने गरेका धेरै उदाहरण छन् । जसमध्ये इलाका प्रहरी कार्यालयमा भेटिएका ती व्यक्तिको पनि समस्या यस्तै रहेछ । साथीसँग साझेदारीमा काम गरेका उनलाई पनि साथीले चेक दिएर पटक–पटक झुक्याएपछि आफू इलाका प्रहरी कार्यालयमा उजुरीका लागि आएको उनले बताए ।
पछिल्लो समय झापामा पनि चेक बाउन्सको समस्या देखिन थालेको छ । गत वर्ष एउटा पनि चेक बाउन्सको उजुरी नपरेको इलाका प्रहरी कार्यालय अनारमनीमा यस वर्ष चेक बाउन्सका नौ वटा उजुरी परेका छन् । अधिकांश उजुरीमा साथीले नै झक्याएको भनिएको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक थापाका अनुसार मंसीरमा १, फागुनमा २, चैतमा ३ र जेठमा तीन वटा उजुरी परेका छन् । विशेषगरी काठमाडौंमा यस्तो समस्या धेरै आउँथे थापाले भने– ‘झापामा पनि चेक बाउन्सको समस्या देखापर्न थाल्यो ।’
थपाका अनुसार काठमाडौंमा दैनिक ५०÷६० वटा यस्ता उजुरी पर्ने गरेका छन् । आर्थिक वर्ष २०७५÷०७६ मा काठमाडौंमा पाँच हजार सात सय ९५ वटा उजुरी परेकोमा नौ सय १० वटा मुद्दा फर्छाैट भएको थापाले जानकारी दिए ।
‘जनशक्ति र स्रोतसाधनको कमीका कारण चेक बाउन्सका मुद्दा हेर्न प्रहरीलाई निकै समस्या छ’ –उनले भने– ‘अन्य मुद्दाका कारण चेक बाउन्सका मुद्दा ओझेलमा पर्ने गरेका छन् । तर, झापामा म त्यस्तो हुन दिन्न ।’
पछिल्लो समय प्रहरीले चेक बाउन्सको मुद्दा हेर्न थालेपछि यसको दुरुपयोग पनि बढेको तथ्याङ्कले देखाएको छ । चेक मार्फत लेनदेन गर्दा यस्तो समस्या आएको हो प्रहरी उपरीक्षक थापाले भने– ‘चेक बाउन्स मुद्दामा अदालतले जति रकम चेकमा छ सोही बराबर धरौटी माग्ने गरेको छ ।’
चेक बाउन्स भएको प्रमाणित भएपश्चात अदालतले सजाय तोक्ने गरेको छ । चेक बाउन्स प्रमाणित भएको खण्डमा बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम प्रहरी कार्यालयमा जाहेरी दरखास्त दर्ता गरी सरकारवादी फौजदारी मुद्दाको रुपमा कारवाही हुने व्यवस्था छ ।
प्रहरी कार्यालयमा उजुरी गर्ने हदम्याद बाउन्स भएको मितिले एक वर्ष रहने व्यवस्था गरेको । विनियम अधिकार पत्र ऐन, २०३४ बमोजिम चेक बाउन्स भएको मितिले पाँच वर्षभित्र सिधै सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गर्न सकिने प्रहरी उपरीक्षक थापाले बताए ।
‘बंैकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३(ग) मा आफ्नो खातामा मौज्दात रकम नभएको जानी–जानी चेक काटी दिन नहुने । दिएमा दफा १५ मा देहाय बमोजिम सजाय हुने व्यवस्था गरेको छ’ –थापाले भने– ‘बिगो खुलेकोमा बिगो भराई बिगो बमोजिम जरिबाना र तीन महिनासम्म कैद हुन्छ ।’ चेक बाउन्स भएमा राष्ट्र बैंकमा कालो सूचीमा राख्न समेत सकिने व्यवस्था गरेको उनको भनाई छ ।