गुठी विधेयकले निजी गुठीलाई समाप्त पार्ने

३० जेष्ठ २०७६, बिहीबार मा प्रकाशित

काठमाडौँ ।

गुठीसम्बन्धी कानूनलाई एकीकरण तथा संशोधन गर्न बनेको विधेयक–२०७५ ले निजी गुठीलाई समाप्त पार्ने आज यहाँ आयोजित एक कार्यक्रमका वक्ताहरुले विचार व्यक्त गरेका छन् ।

स्वर्गद्वारी आश्रम, नेपाल विद्वत परिषद्, हिन्दू जागरण अभियानलगायतका संस्थाले आज यहाँ पत्रकार सम्मेलन गरी संसद्मा पेश भएको गुठीसम्बन्धी विधेयकले गुठीहरूको समस्या समाधान गर्ने नाममा गुठी सम्पदा र सनातन संस्कृतिलाई नियन्त्रण गरी प्राचीन र जीवन्त सांस्कृतिक परम्परालाई समाप्त पार्न खेल भएको बताएका हुन् ।

पत्रकार सम्मेलनमा स्वर्गद्वारी आश्रमका सदस्य डा धुव्र श्रीले मूर्त, अमूर्त संस्कृति र परम्पराका रूपमा रहेको गुठी सम्पदाको वास्तविक मर्मलाई विचारै नगरी गुठी विधेयक संसद्मा पेश भएको बताउनुभयो । उक्त विधेयक पारित भई लागू भएमा नेपालमा सदियौँदेखि चलिआएका मौलिक संस्कृति, परम्परा, जात्रा, पर्व र सनातन वैदिक यज्ञ परम्परा नाशिँदै जाने उहाँको भनाइ छ ।

हिन्दू जागरण अभियानका अध्यक्ष रामकृष्ण उपाध्यायले प्रस्तुत विधेयकमा गुठी भनेर केवल गुठीको सम्पत्तिलाई आँखा लगाई गुठीको सम्पत्ति हत्याउन खोज्ने प्रवृत्ति हाबी भएको बताउनुभयो । “प्रस्तुत विधेयक संविधानको धारा, २६ को उपधारा, १ मा प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिकस्थल तथा धार्मिक गुठी सञ्चालन र संरक्षण गर्ने हक हुनेछ भन्ने धार्मिक स्वतन्त्रताको हकको विरुद्धमा छ”, उहाँले भन्नुभयो ।

नेपाल विद्वत परिषद्का सदस्य उमेश घिमिरेले विधेयकमा उल्लिखित नयाँ मठमन्दिर बनाउँदा सरकारको स्वीकृत लिनुपर्ने प्रावधानले नेपालको मौलिक परम्परा मासिने डर बढ्दै गएको बताउनुभयो ।

विधेयकले देशमा सार्वजनिक जग्गा सकिँदै जाने र देशको सम्पूर्ण भूमि माफियाको कब्जामा जाने अवस्था सिर्जना हुने देखिएकाले देशको सार्वजनिक सम्पत्तिको संरक्षणका निम्ति उक्त विधेयक फिर्ता हुनु आवश्यक रहेको उहाँको भनाइ छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here