धर्म फेरेर छोराको किरिया

३२ जेष्ठ २०७६, शनिबार मा प्रकाशित

दिपेन लावती/शान्तिनगर।

झापाको बुद्धशान्ति गाउँपालिकामा एक ब्यक्तिको मृत्यु भएपछि, अन्तिम संस्कार कसले गर्ने भन्नेमा केही समय अन्योल भयो ।

बाबु–आमा इसाई धर्मावलम्बी, जेठा र कान्छा छोराका परिवार हिन्दू । भारतको सिक्किममा रहेका जेठा छोरा भाइको निधनमा आउन सकेनन् । मृतकका छोरा नरहेको र दुई छोरीहरु नावालक भएकाले काजकिरिया गर्ने कुरै भएन ।

इसाई धर्म लिएकाले हिन्दू मृतक छोराको काजकिरिया गर्न मिलेन । छोराको काजकिरिया कसले गर्ने भनेर अन्योल भएको बेला मृतकका बुबा हेमबहादुर लोहार (विक) र आमा लीलामायाले सोही दिन इसाई धर्म परित्याग गरेको घोषणा गरे र हिन्दू परम्परा अनुसार छोराको दशगात्र काजकिरिया गर्न बसे ।

गाउँलेको सुझाव र बुबा हुनुको कारण छोराको किरिया गर्नु उनले आफ्नो जिम्मेवारी ठाने । बुद्धशान्ति गाउँपालिका–७ तिल्केनी डाँडाका हेमबहादुरका कान्छा छोरा देवेन्द्र लोहारले गत शनिवार विहान ८ बजेतिर घरमै झुण्डिएर आत्महत्या गरेका थिए ।

बुबा हेमबहादुरले भने–‘अरुको लहैलहैमा लागियो । शान्ति, सुस्वास्थ्य र अमन–चयन हुन्छ भनेर इसाई धर्ममा लगाइयो तर अहिले कान्छा छोरा गुमाउनु प¥यो । अव पुनः इसाई धर्ममा प्रवेश नगर्ने प्रण गरी हिन्दू धर्ममा फर्किएर छोराको किरियापुत्रीको रुपमा बसेको उनले सुनाए ।

उनले ६ बर्ष अगाडि हिन्दू धर्म परित्याग गरी इसाई धर्म अङ्गालेका थिए । परिवारका सवै सदस्य हिन्दू धर्ममै फर्किएका छन् । मृतककी जेठी छोरी पनि इसाई धर्म मान्दै आएकी थिइन् । उनले पनि बुबा देवेन्द्रको निधनसंँगै हिन्दू धर्म अंगालेकी छिन् । मृतककी श्रीमती मनिता ३ बर्ष अघिबाट बैदेशिक रोजगारका क्रममा साउदी अरवमा छिन् ।

उनी नेपाल फर्किने तयारीमा रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ । मृतक देवेन्द्रले घरमा २ जना छोरीहरुको लालन–पालन गरी सामान्य मजदुरी काम गर्दै जीवन चलाउँदै आएका थिए । उनले किन आत्महत्या गरे भन्ने हालसम्म कुनै कारण खुल्न सकेको छैन् ।

यसैबीच पछिल्लो समय धर्म परिवर्तनका कारण धेरैको परिवारमा कलह निम्तिएको छ । कतिपय हिन्दू परित्याग गरेकाहरु सामाजिक परम्परा र परिस्थितिका कारण परम्परागत वैदिक सनातन धर्ममा फर्किने क्रम पनि अहिले बढ्दै गएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here