आफूलाई चिन्ने कोशिस गरौं

१ असार २०७६, आईतवार मा प्रकाशित

‘स्वधर्म निधनम् श्रेय, परधर्म भयावह’ वैदिक सनातनीको यो आदर्श पटक–पटक सिद्ध भइआएको छ । यो वैदिक सनातन हिन्दू धर्मभित्रको ‘गीता’ मा उल्लेख भएको वाणी हो । यसको अर्थ सम्भवतः सबैलाई थाह छ । अर्थात् आफ्नै धर्म, परम्परा, चलन, संस्कार र संस्कृतिमै रमाउनुपर्छ र त्यसमै समाहित हुनुपर्ने आदर्श सिकाएको छ यो भनाइले । अरुको सिको गर्ने, नक्कल र अनुशरण गर्ने व्यवहारले हामीलाई ‘गर्त’मा पु¥याउन सक्छ, पु¥याउँछ र पहिचान बिनाको बनाउँछ ।

पछिल्लो पटक झापाको बुद्धशान्ति गाउँपालिकामा ‘परधर्म भयावह’ प्रमाणित हुन पुग्यो । त्यहाँका हेमबहादुर विक र उनकी पत्नी लीलामाया इसाई धर्म अर्थात् परधर्ममा दिक्षीत भएका थिए । अर्थात् वैदिक सनातन हिन्दू धर्मका अनुयायी छोरा देवेन्द्र लोहार विकले आत्महत्या गरे । उनका सन्तान सानै थिए छोरा थिएनन् त्यसैकारण वैदिक परम्परा अनुसार किरियापुत्री बस्ने कोही भएन । सामान्यतः यस्तो परिस्थितिमा हजुरबा र हजुरआमाले किरिया गर्नुपर्छ । तर, हजुरबा स्वयम् इसाई धर्मावलम्वी भएका कारण देवेन्द्रको काजकिरिया गर्ने कोही भएन ।

हामीकहाँ धर्मान्तरण सामान्य जस्तै हुन थालेको छ । कपडा बदले जस्तो बदल्ने हाम्रो व्यवहारका कारण सामाजिक सद्भाव, प्रेम, सहिष्ण्ुाता र सहयोग हराउँदै जाँदैछ । यही उपक्रममा बुद्धशान्तिका शान्ति, सु–स्वास्थ्य, आनन्द र सुखभोगका लागि धर्मान्तरण गराइएका उनीहरु कान्छा छोराको अस्वभाविक मृत्युपछि ‘भयावह’ को सागरमा डुबे मात्र होइन आवेग, आवेश र हतारमा गरेको निर्णयबाट पश्चाताप गर्न पुगे । हाल उनीहरु पुनः वैदिक सनातन धर्ममै फर्किएर छोराको काजकिरियामा बसेका छन् । यसले हाम्रो समाजमा रहेको अज्ञानता, अशिक्षा र गरिबीको चित्रण मात्र गरेको छैन धर्म निेरपेक्षताका नाममा धर्मान्तरणको विष वृक्ष कसरी फैलिँदैछ भन्ने पनि देखाइरहेको छ । विश्वमा अनेक देशहरु छन् जो इसाई, इस्लाम, बौद्ध धर्मका नामबाट परिचित छन् ।

एउटै देश थियो, जो स्वर्ग जस्तै भनिन्थ्यो, शान्त–सुन्दर र विशाल भनेर चिनिन्थ्यो र हिन्दू राष्ट्रका रुपमा स्थापित थियो । तर, आज राष्ट्रको धर्म हुँदैन’ भन्नेहरुको चक्रब्यूहमा फसेर, अस्तित्व गुमाएर विधर्मीहको खेलोफड्को गर्ने देश बनिएको छ । यसका कारण पारिवारिक, सामाजिक कलह बढेर गएको छ । प्रेम, सद्भाव, भाइचारा र सहिष्णुताको बदला अपराध, हिंसा, हत्या, अराजकता र दुर्भावना झाङ्गिदैछ । यही परिस्थितिको परिणामले हेमबहादुर जस्ता खण्डित हुँदै गएको परिवारलाई फेरि सद्भाव र हार्दिकताको बलियो डोरीले बाँध्ने बेला आएको छ । अरुका चिल्ला र मीठा कुरामा अलमलिएर होइन, आफूलाई नै सोधेर, सय पटक सोचेर परम्परालाई अक्षुण्ण राख्ने दिशातर्फ गम्भीर हुन आवश्यक छ । होइन त्यसो गरिएन भने हाम्रो विशिष्टता ‘पानीको फोका’सरह हुनसक्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here