खुशी रहने यस्ता छन् उपाय

0
1872

खुशी रहने तरिका सबैका लागि एउटै नहुन सक्छन् । कोही शान्त वातावरणमा रमाउँदा खुशी होलान् भने कोही आफ्नो मिल्ने साथीहरुसँग समय बिताउन पाउँदा खुशी होलान् । र, कोही आफ्नो सपनालाई पछ्याउँदै स्वतन्त्र रुपमा अगाडि बढ्नुलाई खुशी मान्लान् ।

जे–जस्तो भए पनि खुशी रहनु ठूलो कुरा हो । खुसीले मानिसलाई आत्मसन्तुष्टि दिन्छ । तपाईंलाई कसरी खुशी रहने भनेर जिज्ञासा छ भने केही उपायहरु अपनाउन सक्नुहुन्छ । राम्रो बानीले खुशी रहन मद्दत गर्छ । त्यसो भए आफ्नो बानीमा परिवर्तन किन नगर्ने त ? सकारात्मक बानीलाई आफ्नो तालिकामा समावेश गर्नुस् । खुशी हुन सबैका आ–आफ्ना तरिका भए पनि उल्लेखित केही तरिकाहरु काम लाग्न सक्छन् ।
मुस्कुराउनुहोस्
हामी खुशी हुँदा हाँस्ने गर्छौं । हामी जब खुशी हुन्छौं तब हाँस्छौं । मुस्कुराउनु किन राम्रो हो भने यसले दिमागबाट डोपामिन नामक हार्मोन रिलिज गर्छ, जसले गर्दा हामी खुशी हुन्छौं । हाँसोको मतलब बनावटी हाँसो होइन । हरेक बिहान ऐना अगाडि हाँस्ने अभ्यास गर्नुहोस्, खुशी हुन सिकिन्छ ।
व्यायाम गर्नुहोस्
व्यायाम शरीरका लागि मात्र आवश्यक छैन । नियमित व्यायामले तनाव, चिन्ता अनि डिप्रेसनका लक्षणहरुलाई आत्मविश्वास र खुशीमा बदल्न मद्दत गर्छ । थोरै मात्र व्यायाम गर्दा पनि धेरै फरक पार्छ । पाँच मिनेट पनि आङ तन्काउनुभयो भने हल्का हुन्छ । त्यसैगरी हिँड्ने बानी बसाल्न सक्नुहुन्छ । रातिको खाना खाएपछि एकछिन टहल्नु राम्रो हुन्छ । त्यसैगरी योग कक्षा पनि लिन सक्नुहुन्छ । नृत्य गर्नुहोेस्, आफ्नो मनपरेको खेलकुद खेल्नुहोस् खुशी भइन्छ ।
पर्याप्त मात्रामा सुत्नुहोस्
पर्याप्त मात्रामा सुत्नाले स्वास्थ्य राम्रो बनाउनुका साथै दिमागी सञ्चालन र भावनात्मक रुपले पनि राम्रो राख्छ । वयस्क मान्छेले राति कम्तीमा ७ देखि ८ घन्टा मज्जाले सुत्नुपर्छ । यदि दिउँसो निद्रा लाग्छ या आलस्य महशुस हुन्छ भने जान्नुहोस्, तपाईंलाई आरामको जरुरत छ । सुत्ने र उठ्ने तालिका हरेक दिन एउटै बनाउनुहोस् । आफ्नो सुत्ने कोठा शान्त र सौम्य राख्नुहोस् । दिउँसो झप्को लिनुपर्दा २० मिनेटभन्दा बढी नलिनुहोस् । निद्रा नलागे चिकित्सकसँग सम्पर्क गर्नुहोस् ।
कृतज्ञ हुन सिक्नुहोस्
आफू कृतज्ञ हुनुभयो भने तपाईंको मुडलाई पनि ऊर्जा प्राप्त हुन्छ । कृतज्ञ हुँदा आशा गर्ने बानी र खुशी रहने बानीमा पनि परिवर्तन आउने एक अध्ययन बताउँछ । आफ्नो वरिपरि रहेका सकारात्मक कुरालाई नियाल्न सिक्नुहोस् । राम्रा अनि सन्तुष्टि दिने कुरामा ध्यान दिनुहोस्, चाहे तपाईंलाई कसैले माया गर्छ वा तपाईंको जागिरमा बढोत्तरी भएको छ, त्यसबाट खुसीको अंश निकाल्नुहोस् । सहपाठीले तपाईंलाई सामान्य चिया गफको लागि निम्तो दियो वा छिमेकीले हात हल्लाएर हालखबर सोधे पनि मन खुशी पार्न सक्नुहुन्छ ।
अरुको प्रशंसा गर्न सिक्नुहोस्
अध्ययनका अनुसार अरुलाई प्रशंसा गर्दा, दयाभाव देखाउँदा आफूलाई सन्तुष्टि दिन्छ । कसैैलाई राम्रो प्रतिक्रिया दिँदा उसलाई पनि राम्रो महशुस हुन्छ भने तपाईंको खुशीको सीमा पनि बढ्छ । तर, प्रशंसा गर्दा पनि सम्मानित तरिकाले गर्नुहोस् । यदि तपाईंले कसैलाई शारीरिक आवरणबाट प्रतिक्रिया जनाइराख्नुहुन्छ भने यी कुरामा ध्यान दिनुहोस् ।
लामो श्वास फेर्ने अभ्यास गर्नुहोस्
आफूलाई संयमित राख्न लामो श्वास लिनुहोस् । लामो श्वासप्रश्वासको व्यायामहरुले चिन्ताबाट मुक्त गर्ने हार्भर्ड हेल्थ बताउँछ । आँखा बन्द गर्नुहोस्, आफूले मनपरेको राम्रो ठाउँ र यादगार सम्झना कल्पिनुहोस् । त्यसैगरी विस्तारै लामो श्वास नाक र मुखबाट लिनुहोस् । यो प्रक्रिया धेरै पटक गर्नुहोस्, तपाईंलाई शान्त महशुस हुन्छ । यदि तपाईं कुनै गाह्रो अवस्थासँग गुज्रिराख्नुभएको छ भने यो प्रक्रिया अपनाउन सक्नुहुन्छ ।
बेखुशीको क्षण पनि स्वीकार्नुहोस्
सकरात्मक कुरा जहिल्यै पनि राम्रो हुन्छ, तर जहिले पनि जीवनमा त्यही भइराख्छ भने हुन्न । सकारात्मक र नकारात्मक चिज जीवनको दुईपाटा हुन् । केही अशुभ समाचार छ या तपाईंले केही गल्ती गर्नुभएको छ भने जबर्जस्ती खुशी हुने प्रयत्न नगर्नुहोस् । आफूले गरेको गल्ती या बेखुशीलाई पनि स्वीकार्नुहोस् । नराम्रो क्षण या दुःखद् क्षण कस्तो हुन्छ भनेर आत्मबोध गर्नुहोस् र यो मनन गर्नुहोस् किकिन आफू दुःखी हुन पुगेँ र फेरि त्यो नदोहो¥याउने प्रयत्न नगर्नुहोस् ।
डायरी या टिपोट गर्ने बानी बसाल्नुहोस्
लेख्नु आफ्ना विचार तथा भावना पोख्ने अनि प्लानहरु बनाउने राम्रो माध्यम हो । यसरी लेख्दा मन हल्का हुन्छ । लेख्नका लागि तपाईं विद्वान वा एकदमै लेख्न जान्ने हुनुपर्छ भन्ने छैन । हरेक रात सुत्नुभन्दा पहिले केही न केही लेख्ने बानी बसाल्नुहोस् ।
साथीभाइसग भेट्नुहोस्
मिल्ने साथी भयो भने धेरै कुरा सेयर पनि हुन्छ र खुशी रहन सकिन्छ । साथीहरुको याद आयो भने समय मिलाएर भेट्नुहोस् । प्रत्यक्ष भेटेर कुरा गर्दा र फोन तथा म्यासेजमा कुरा गर्दाको क्षण नै छुट्टै हुन्छ । जति ठूलो हुँदै गयो, साथीहरु पनि घट्दै जान्छन् । तर, धेरै साथीहरु हुनु ठूलो कुरा होइन, मिल्ने साथी हुनुपर्छ । एउटै साथी भए पनि काफी हुन्छ । नत्र तपाईंले साथीको रुपमा घरपालुवा जनावर पाल्न सक्नुहुन्छ । अहिले कुकुर पाल्ने निकै नै चलन छ । विभिन्न अध्ययनका अनुसार कुकुरले मानिसको सच्चा साथी र तनाव मुक्त गर्न सक्छ ।
हप्तामा एकदिन फोन बन्द राख्नुहोस्
हप्तामा एकदिन भए पनि फोन बन्द राख्नुहोस् । हुन त हामी अहिले फोनबिना बाँच्नै नसक्ने जस्तै भएका छौं । दिनरात फोन चलाउँदा मानिसमा सिर्जनात्मकता पनि घट्दै गएको छ । आफ्नो विद्युतीय सामान जस्तैः फोन, ल्यापटप, हप्ताको कम्तीमा एकदिन अफ गर्नुहोस् । यी कुरा त जहिल्यै आफूसँगै रहने वस्तु न हुन् । आफूसँग नहुँदाको क्षण सम्झनुहोस्, फरक पाउनुहोस् । आफ्नो दिमागलाई केही सोच्ने र गर्नको लागि खालि छोडिदिनुहोस् । पढ्नुहोस्, ध्यान गर्नुहोस् । हिँड्नुहोस्, आफ्नो वातावरणलाई पनि नियाल्नुहोस् । समाजसँग घुलमिल हुनुहोस् या एक्लै बस्नुहोस्, आफ्नो सार्थकता खोज्नुहोस् ।
प्रकृतिसग समय बिताउनुहोस्
प्रकृतिसँग कम्तीमा दिनको ३० मिनेट जति हरियालीमा समय बिताउनुभयो भने तपाईंको प्रेसर घट्नुका साथै डिप्रेसन पनि घट्ने एक अध्ययनले बताउँछ । घरछेउको पार्क होस् या घर पछाडिको सानो हरियाली ठाउँ या बगैँचा, तपाईंले प्रकृतिलाई महशुस गर्न सक्नुहुन्छ । स्वच्छ हावा पाउन सक्नुहुन्छ । यसले दिमागलाई तरोताजा राखेर मुड अन गर्छ ।
ध्यान गर्ने बानी बसाल्नुहोस्
ध्यान गर्ने पनि विभिन्न उपाय छन् । अहिले अध्यामिकतामा पनि धेरै रुची राख्ने गरिन्छ । तपाईंले सामान्य ध्यान गर्नु सक्नुहुन्छ । पाँच मिनेट शान्त भएर बस्नुहोस्, त्यो पनि ध्यान नै हो ।
घुम्न निस्किनुहोस्
घुम्ने जाने साथी पाइराख्नुभएको छैन ? त्यसो भए एक्लै गइदिनुहोस् । एक्लै घुम्न जानुहुन्न भनेर कसले नियम बनाएको छ र ? आफ्नो मनपर्ने रेस्टुरेन्ट जानुहोस्, फिल्म हेर्न गइदिनुहोस् र आफूले जान चाहिरहेकोे ठाउँमा जानुहोस् । यदि तपाईं सामाजिक हुनुहुन्न भने आफू एक्लै भए पनि यस्ता क्रियाकलाप गरेर रमाउनुहोस्, यसले खुशी मिल्छ ।
आफ्नो शरीरको ख्याल राख्नुहोस्
सबैभन्दा महत्वपूर्ण स्वास्थ्य नै हो । स्वस्थ्य भए खुशी रहन सकिन्छ । समय–समयमा चिकित्सकसँग शरीरको चेकजाँच गराउन आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here