मेचीनगर नगरपालिकाले दियो २५२ जनालाई रोजगार

३ असार २०७६, मंगलवार मा प्रकाशित

मेचीनगर।

मेचीनगर नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दुई सय ५२ जनाले रोजगारी पाएका छन् ।

रोजगार संयोजक कृपा रेग्मीका अनुसार रोजगारीका लागि नगरभित्रबाट चार हजार एक सय ६७ वटा आवेदन परेको थियो । जसमा दुई सय ५२ जना रोजगार कार्यक्रमको मापदण्ड अनुसार छनौट भएको रोजगार संयोजक रेग्मीले जानकारी दिइन् ।

नगरपालिका प्रेस संयोजक लक्ष्मी उप्रेतीका अनुसार सबैभन्दा बढी नगरको २ नम्बर वडाबाट ४६ र कम्ति ६ नम्बर वडाबाट दुईजनाले रोजगार प्राप्त गरेका छन् । त्यसैगरी वडा नं. १ बाट १०, ३ बाट ३८, ४ बाट १९, ५ बाट ३२, ७ बाट २७, ८ बाट १३, ९ बाट १४, १० बाट ६, ११ बाट ७, १२ बाट चार, १३ बाट १०, १४ बाट १८ र १५ बाट छ जनाले रोजगारको अवसर प्राप्त गरेका छन् । उनीहरुले नगरपालिकाकातर्फबाट ३० दिनका लागि रोजगार प्राप्त गरेका हुन् ।

एक परिवारका सदस्यले सामाजिक सुरक्षा भत्ता नलिएको, वैदेशिक रोजगारीमा नगएको, कुनै व्यापार व्यवसायमा संलग्न नभएको र सरकारी जागीर नखाएको परिवारलाई पहिलो प्राथमिकता दिएर रोजगारमा सामेल गराउने सरकारी योजना अनुसार रोजगार प्रदान गरिएको हो ।

मेचीनगर नगरपालिकाको १४ नम्बर वडा कार्यालयमा आयोजित कार्यक्रममा श्रमिकलाई कामको लागि आवश्यकपर्ने सामग्री प्रदान गरिएको थियो । श्रमिकलाई ज्याकेट, हेल्मेट, फरुवा, बेल्चा, ठेला गाडी, मार्तल, आरी जस्ता सामग्री नगरप्रमुख बिमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, कार्यपालिका सदस्य कृष्ण कनाल, १४ नम्बर वडाका वडाध्यक्ष शंकरप्रसाद पोखरेल सामुदायिक विकास अधिकृत अनन्तप्रकाश वस्तीले प्रदान गरेका थिए ।

श्रमिकले नगरभित्रका सडक मर्मत, बजार क्षेत्र सरसफाई, तटबन्धन गरिएको स्थानमा बृक्षरोण गर्ने, पर्यटकीय तथा सार्वजनिक स्थलहरुका झाडी–फोहोर सरसफाई गर्ने, सार्वजनिक भवनहरुको रंगरोगन गर्ने कार्यहरु गर्ने छन् ।

श्रमिकले दैनिक पाँच सय १७ रुपैयाँ प्राप्त गर्ने नगरपालिकाले जनाएको छ । वेरोजगारको विवरण अध्यावधि गरिसकेपछि नगरपालिकाले योजना छनौट गरी काम प्रदान गरेको हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here