नकुल काजी,
वर्तमान सरकारले केही न केही गरिरहेकै छ । तर, उसका कामहरु नागरिक जीवनको दैनिकीका आधारभूत विषयहरुभन्दा टाढा र औसत नागरिकको बोधगम्य छैनन् । अर्थात्, विगत पन्ध्र महिनायता सरकारले फर्माइरहेका योजनाहरुले आम सर्वसाधारणलाई जोड्न नसकेको अवस्था हो यो । त्यसो हुँदा आम नागरिकको मनोविज्ञानमा अविश्वास र निराशा भरिन गएको हो । सरकारले केही न केही गरिरहेको छ, तर ‘राष्ट्रका एकाइरुपी समाज’–को धरातल टेक्ने किसिमबाट ऊ प्रस्तुत छैन । यसैकारण, सरकार कम्यूनिस्टको एकमना भएर पनि उसको सिद्धान्त–निर्देशित पहिलो प्राथमिकतामा पर्न पाउनुपर्ने आधारभूत तप्काका बहुसंख्यक नागरिक मनोविज्ञानमा आफू अनुकूल परिवर्तन ल्याउन ऊ असफल छ र यो असफलताका विभिन्न आयामका चर्चाहरुलाई सरकारी पात्रहरु ‘विरोध’ ठानिरहेका छन् ।
अहिले राज्यसत्तामा रहेका उपल्ला–तल्ला नेता–नायक अगुवाहरु नागरिक तप्काको ठूलो हिस्साका यथार्थमा आधारित गुनासाहरुलाई प्रतिपक्षीद्वारा प्रेरित ठान्ने गल्ती गर्दैछन् । आधारभूत वर्गका नागरिकको संख्या अत्यधिक बढी भएको यस देशमा त्यस तप्काका गुनासालाई मलजल गर्ने रणनीति बन्नु उत्ति अस्वाभाविक ठर्हदैन र यसो गर्नुलाई अर्घेल्याइँको परिभाषा बमोजिम बुझ्नु पनि हुँदैन । अहिले मात्र होइन बहुदलीय राजनीति बहाल भएदेखि नै नेता–नायकहरुका भाषणको समग्रतामा उनीहरुले सिद्धान्ततः (!) अंगीकार गरिराखेको राजनीतिक व्यवस्थालाई समाजवादी मार्गमा हिंडाउने कुराको चुरो नै बढता पाइन्छ । राजनीतिक पुस्ताहरु कुनै पनि यो आग्रह अघि सार्नबाट विमुख छैन, बरु प्रतिस्पर्धा बढेको हुन सक्तछ । तर, देशको शासन प्राणालीलाई समाजवादको प्राण र त्राण प्रदान गर्न न सत्तापक्ष तदारुक बन्न चाहेको कतै पाइन्छ न त कुनै प्रतिपक्ष नै । त्यसैले समाजवादको धरातल टेक्न नसकेको सत्य अदम्य छ । प्रतिपक्षले सत्तापक्षका राम्रा कामको पनि विरोध गर्नैपर्ने र प्रतिपक्षले जति नै राम्रा र आवश्यक विषय उठाएर वा समाएर खबरदारी गरे पनि सत्तापक्षले त्यसलाई ‘गैंडालाई काउकुती’ सिद्ध हुनेगरी बेवास्ता गर्ने चलन समाजवादको पद्धति प्रयोग र नियमनको बाधक बन्दै आइरहेको छ । यसैले हरेक सरकारलाई च्यूत गराउने गरेको पनि छ ।
अपरिमेय र हत्तपत्त गरिभ्याउन नसकिने आश्वासन छिरोलेर हरेक क्षेत्र र तहका नागरिकका महत्वकांक्षालाई गोडमेल गरिराख्ने र त्यसैबाट आफ्नो पदीय अस्तित्व सुरक्षित गर्ने चलनलाई सबै सरकारमा पुग्ने पात्रहरुले जीवित राख्तै आएका छन् । यसो गर्दा तत्काल (ायच तजभ तष्mभ दभष्लन) त संस्थागत रुपमा सरकारलाई नागरिकसंग जोडेर देखाइन सकिन्छ । तर, यस्तो जोडाइ अन्ततः सतही र अस्थायी हुने हुनाले नागरिक जीवनलाई विपरीत हुन प्रेरित गर्ने कारण समेत बन्ने गरेका छन् । वस्तुतः वर्तमानमा देखिएका सैद्धान्तिक तथा व्यावहािरक दुबैका विसंगत दुश्यहरु जम्मैको बीजारोपण यसै वर्तमानमा भएका चाहिँ होइनन् । बेथितिका बहुआयामिक प्रकोप अहिले बढेको मात्र हो र यसको अधिक दोष विगतदेखि बिग्रिएर छिप्पिंदै आएको प्रवृत्तिलाई दिइनु उचित हुन्छ । आम प्रवृत्ति पनि सरकारी समाजमा प्रकीर्ण भ्रष्ट र दाउबाज प्रवृत्तिकै स्वभाव संक्रमणबाट बिथोलिएको हुन सक्तछ । र, यसबाट उत्पन्न अप्ठयारो, यो वर्तमानले आँकेको देशको समृद्ध भविष्य सम्बन्धी परिकल्पनाहरु इमान्दार भए, यसका निम्ति अदम्भ समस्या हो । अदम्य समस्या के मानेमा भने आम नागरिक जीवनको प्रवृत्तिगत नकारात्मकता अवरोपण (चययत यगत) गर्न साह«ै गाह«ो र अप्ठ्यारो हुन्छ । यस्ता समस्याग्रस्त धेरै देश विश्वमा नजिर बनी खडा छन् ।
नागरिक तप्काका अधिकांश त राज्यले अख्तियार गरिरहेको नीति–विधिले कता मोड लिइरहेको छ र कुन परिणाम कोरल्छ भन्ने जान्न जान्दै नजान्ने छन् । तत्कालीन कामका प्रक्रिया मात्रको चेवा गर्छन्, जुन उनीहरुको जीवन–निर्वाहका सरोकारी हुन्छन् । अहिलेको सरकार ती दुई पात्रका मातहतमा चलिरहेको छ, जुन पात्रहरुको राजनीतिक पृष्ठभूमि लगभग समान्तर छन् । दुबै रक्तपातबाट सत्ता परिवर्तन हुन्छ भन्ने अथवा झन्नै वर्तमान जनवादी चीनका सर्वमान्य नेता माओ त्से तुङको ‘हरेक नयाँ राजनीतिक विचार बन्दुकको नालबाट जन्मिन्छ’ (भ्खभचथ लभध उयष्तिष्अब ितजयगनजत नचयध ष्ल तजभ दबचचभ िया तजभ नगल।)–को सहधर्मी वैचारिक पाठशालाको मान्यताबाट उठेका हुन् । तर, नागरिक तप्काका थोरै एकांगी प्रशिक्षणले प्रतिक्षित र पोषितबाहेक बहुसंख्या हत्या–हिंसा र विध्यंशसंग डराउँछन्, शान्तिप्रिय छन् ।
अहिले केही महत्वपूर्ण विभागहरु तीसंग सम्बन्धित मन्त्रालय र तिनमा मंत्री आपूर्ति हुँदाहुँदै प्रधानमंत्री (र संगसंगै सत्तारुढ पार्टीका अध्यक्ष समेत)–मा केन्द्रीकृत गराइएको, अभिव्यक्ति स्वतन्तत्राको संवैधानिक नागरिक–हक खोस्ने ताउर–माउर हुन थालेको, मानव अधिकारको विश्वमान्य परिभाषामा अन्तर्भूत मान्यताको औचित्य समाप्त गर्ने प्रक्रिया अघि बढेको, धार्मिक–सांस्कृतिक आस्थालाई ‘पुरानो सामन्तवाद’ भनेर तातो पन्यूले डाम्दै राज्यशक्तिको मनचाहे किसिमले वैधर्मी बर्बर प्रहार हुन थालेको, आफ्नो विचारसंग विमति राख्नेहरुलाई कोपभाजनमा पार्दै लगिएको, महामारीकै रुपमा व्यापक भ्रष्टाचार–कमिशनखोरी र सेटिङबाजीका विरोधमा उभिनेलाई प्रहरी लगाएर हनुमान–धुलाइ गरी ‘छोरी कुटेर बुहारी तर्साउने’ उखान–प्रविधि ब्यूँउताउन शुरु गरिएको, घटनापरक विषयले बाध्य तुल्याएर सामुहिक रुपमा सार्वजनिक भेला आयोजित गरी असन्तुष्टि जाहेर गर्ने संवैधानिक हक शान्तिपूर्ण तरिकाले उपभोग गरिरहेको जन–भेलामा चीनको तियानमेन स्क्वायर परावृत्त गर्न खोजिए जस्तो त्रासद खडा गर्ने लक्षण देखाएको आदि–इत्यादि घटनाहरुबाट नागरिक तप्काले स्मरणलाई पूर्व–दीप्ति (ाबिकज दबअप)–तर्फ मुखर गराउँदै आङ जुर्काउन थालेको छ ।
संघीय लोकतान्त्रिक संविधान प्रदत्त नागरिकका नैसगिृक अधिकार शासकीय मार्गमा बाधक अनुभूत गरिरहेको दृश्यावली हेर्दा संविधान नै शासक तप्का अनुकूल संशोधन गरी आफूहरु र आफ्ना सहकर्मी–सहयोगीहरु बाहेक अरुलाई बैरीको पंक्तिमा राख्ने परिपाटी पो बस्तै जाने हो कि भन्ने सन्देहले सचेत वर्गका नेपाली मनमा जरा गाड्न थालेको छ । त्यसो भएमा खण्डमा अहिलेको एकाधिपत्य मोड पूर्ण–सम्पूर्ण (अयmउभिबतभ धजयभि)–रुपमा व्यवहारमा अवतरित हुनसक्ने विश्लेषहरु पनि हुन थालेका छन् । यी–इत्यादि संभावनाहरुले तुल्याएको मनोविज्ञानमा परिवर्तन गर्न नागरिक हार्दिकतालाई राज्यले आफ्ना कार्यक्रम मार्फत जोड्नु पर्दथ्यो, जसको आवश्यकतालाई राज्यले उपेक्षा गरिरहेको छ । नागरिकको आफूहरुलाई आवश्यक पर्दा भोट दिने र ‘ठूलो मान्छे’ बनाउने मात्र हो, तिनलाई भोट लिने बेलामा फुस्ल्याउन सकिहालिन्छ भन्ठान्दै ‘फुस्ल्याउने आकर्षक सम्बल’–को जोहो–चाँजो गर्न सरकारी पात्रहरु तिनका प्रिय सहयोग जनतामारा नाफाखोर, कमिशनदाता, कालाधन्धे माफिया, ठग ठेकेदार र बिचौलिया चङखे–चतुरेहरु तदारुक हुने गरेका छँदैछन् । यद्यपि यी खाले गतिविधि पनि अहिले हदै प्रकोपकारी भएमा मात्र हुन्, जगरुपी प्रवृत्ति (ष्लअष्लिबतष्यल)–को भू्रण पुरानै निरन्तरतामा जीवन्त छ ।
आफ्नो मातृभूमिको परम्परागत मौलिकता परिचायक संस्कृति र जातीय गौरवशाली संस्कारहरु अपरिवर्तनीय राष्ट्रिय उपादान हुने हुनाले तिनलाई सर्बोपर स्तुत्य मान्ने कुरा अपरिहार्य ठहर्छ । तर, नेपालमा भाषा, भूषा, जातीय कुलाचार र मौलिकताका प्रतिको अनुरागको दुःखद् पराभव हुँदै गएको छ— ‘विदेशी दलाल–मुर्दावाद !’–को लगत्तैपछि ‘माक्र्सवाद लेनिनवाद–जिन्दावाद !’ फलाक्न गौरव माने जस्तै । भन्ने सुल्टो–गर्ने उल्टो हुँदा पनि जनता भनिइने नागरिक मौन छन् । भनेर ढुक्क हुनु अर्को मूर्खता हो । जन–मौनताको बाँध टुटेका दिन नहुनपर्ने पनि हुन सक्तछ । विश्वका कैयौं देशका घटना यस्ता नजिर छन् ।
यद्यपि जनमतको सोपान टेकेर शक्ति र अधिकारमा पुगेकाहरुद्वारा उनको सम्प्रदायकमा दीक्षित र विभिन्न किसिमका भौतिक पोषणले पोषित वर्गबाहेक कहीँका जनता आफू संगठित नहुने वा वेयक्तिक व्यवहारका वैभिन्न्यमा विभक्त हुने हुन्छन् । राजनीतिलाई मूर्तिमान तुल्याउने पात्रहरुले हो । अन्यथा राजनीति अमूर्त हुन्छ । यदि तिनै पात्रहरुको जन्मागत सोच–संस्कारद्वारा निर्मित जीवन–पद्धति लोकतान्त्रिक मूल्य–मान्यता विपरीत छ भने तिनले अरुका कुरा सुन्ने र सुनेर स्थिति–परिस्थितिको वस्तुतथ्य अनुभूत गर्न संभव नै हुँदैन ।
घर–व्यवहार, रहनसहन र सामाजिक व्यवहारमा हेर्ने हो भने सिद्धान्त–निर्देशित भई आधारभूत वर्गका प्रति संवेदनशील हुनुपर्ने कम्यूनिस्ट मौलिकताको नेपाली कम्यूनिस्ट अगुवाहरुले सम्मान गरिरहेका छन् त ? विगत पन्ध्र महिनायताकै समय–सन्दर्भमा आफ्नै छरछिमेकका कम्यूनिस्ट बिल्लाधारकहरुलाई हेर्नोस्, तिनको बहुमुखी विकासले बीजगणितीय समृद्धि (बनिभदचष्अब िउचयकउभचष्तथ)–तर्फ लगिरहेको देखिनेछ र उल्लिखित प्रश्नको सही जवाफ पाउनेछ । उपल्ला पदधारी नेता–अगुवा त राजा–महाराजा (जसलाई उनीहरुले नै ‘राष्ट्र शोषक सामन्त’–को दर्जा दिएका छन्)–का विरासत सम्हाल्न थाले जस्तो राजसी ढप–ढाँचामा विलाषी जीवन–क्रीडामा छँदैछन् । स्वादिष्ट भोजन र कक्टेल जल (?)– को ओइरोले पाचन–प्रणाली गर्माएर पिसाब पहेंलियो भने पनि राज्यको खर्चमा विदेशका महंगा अस्पतालले विशिष्ट उपचार (खष्उ तचभबमmभलत) गरेको भुक्तानी कमाउने मौका मार्न पाउने गर्छन् ।
तर, यस्ता महंगा नेतालाई त्यस उच्चाइमा पुर्याउने मतदाता (जनता)–ले ज्वरो र पखालाले थलिंदा सिटामोल र जीवन–जलसम्म नपाएर ज्यान गुमाउँदैछन् भन्ने खबर अर्थहीन हुने गरेका छन् । जबसम्म प्रवृत्तिमा मानवीय संवेदना नभएका उदरम्भी, स्वार्थी र स्वार्थपरक एकांगी महत्वाकांक्षाबाट निर्मुक्त नेता–अगुवाहरुले सत्ताको चास्नीमा डुबुल्की मार्ने प्रतिस्पर्धी बरकरार रहन्छ तबसम्म यो गरिबीको सिकञ्जामा अनुबन्धित देशका बहुसंख्यक विपन्न, निर्धा–दुखिया, अशिक्षित र पछौटेपनग्रस्त भूइँनागरिकका निम्ति ‘परिवर्तन’ एउटा निराधार कल्पना (ाबलतबकष्ब) जस्तै रहन्छ ! जीवन–व्यवहारले कोल्टो फेर्ने दिन फर्किन लगभग संभव छैन । कसरी संभव हुनसक्छ त ?
अतः ती शब्दहरु यसरी लेखिनुलाई कुनै राजनीतिक पार्टी विशेषको विरोध ठहर्याइन पनि सक्तछ । बोल्ने (मुख)–ले देख्तैन, देख्ने (आँखाले)–ले बोल्दैनन् र नै सञ्चार–सूचना प्रवाहको क्रान्ति आवश्यक भएको हुँदो हो । भइरहेका र हुनसक्ने संभावनामा उदित विषयहरुको उठान शालीन खबरदारी हो, कुनै पात्र विशेष वा ऊ सम्पृक्त संस्था विशेषमाथिको नकारात्मक आग्रह होइन । यस्ता खबरदारी भीरबाट लडिरहेको गोरुलाई राम भनिएको हो, काँध हाल्ने अर्थहीन काम त हुँदैन नि !….र, आजलाई यत्ति नै । शेष फेरि—