स्वयम्को चेतना र डेंगुको जोखिम

१३ असार २०७६, शुक्रबार मा प्रकाशित

लामखुट्टेले टोकेर सर्ने डेंगु रोगले भयावह रुप लिँदैछ । पूर्वी नेपालको धरानमा पहिलोपटक डेंगुको संक्रमण फेला परेपछि यसको संक्रमण पूर्वी शहरहरुमा पनि देखिन थाल्यो । एडिस एगेप्टी नामको पोथी लामखुट्टेले टोकेपछि हुने डेंगुलाई ‘भीआइपी’ भन्न थालिएको छ । यसो भन्नुको कारण यसको बाहक भनिने लामखुट्टे ‘हुनेखाने’हरुकै घरतिर भेटिने गरेकाले हुनसक्छ । अर्थात् एसी, फ्रिज जस्ता विद्युतीय उपकरणका माध्यमबाट लार्भा उत्पादन भई त्यसैले ‘एडिस एगेप्टी’ नामक पोथी लामखुट्टे बनाउने भएकाले शहर क्षेत्रका बासिन्दा डेंगुको जोखिममा रहने चिकित्सकहरु बताउँछन् ।

झापाको बिर्तामोड, अर्जुनधारा, मेचीनगर, दमक, कन्काई, सतासीधाम लगायतका शहरउन्मुख बजारहरुमा जनघनत्व बढी छ । जनघनत्व र संख्या दुबै बढी भएका कारण यहाँका बजार क्षेत्रहरुमा प्रकृति नष्ट गरिएको छ । प्रकृति नष्ट हुँदा वातावरण प्रदुषित छ, नदीनालाहरु प्रदुषित छन् । धुलो, धुँवा र ठोस फोहोरका कारण रोगको संक्रमण बढी छ । यस्तोमा डेंगुले धनीलाई उनीहरुको जीवन पद्दतिका कारण असर गर्नु स्वभाविक हो ।

डेंगु विषादिको प्रयोग गरेर नियन्त्रण नहुने विज्ञहरुले बताएका छन् । यसले पनि स्वचेतनामा जोड दिनुपर्ने संकेत गरेको छ । डेंगुको लार्भा नियन्त्रण गर्न छर्किने गरेको विषादिले मानव स्वास्थ्यमा असर गर्ने, वातावरणीय हानी हुने भन्दै विज्ञहरुले डेंगुको प्रतिरोध गर्न खाल्डाखुल्डी पुर्न, पानी जम्न नदिन, फ्रिज तथा एसीको पानी सफा गर्न र सुत्दा सँधै झुल प्रयोग गर्न सुझाव दिएका छन् । यसको लक्षण देखिनासाथ अस्पतालमा पुगेर स्वास्थ्यसेवा नलिने हो भने डेंगुले महामारीको रुप लिन्छ । त्यसैले बजार र शहरोन्मुख क्षेत्रका बासिन्दाले बढी सचेतना अपनाउनुपर्छ ।

झापा गत वर्षदेखि नै डेंगुको जोखिममा छ । अहिलेसम्म तीन जनाले जीवन गुमाइसकेको सन्दर्भ एकातिर छ भने अर्कातिर जनसंख्या वृद्धि भएसँगै जलवायु परिवर्तन भई पृथ्वीको तापक्रम बढ्दैछ । यसको असरका रुपमा सरुवा रोगका प्रकोप वर्षेनि बढ्दै गएको छ । यस्तो अवस्थामा एउटा अंग्रेजी उखानले भने जस्तै ‘उपचार गरेर जाती हुनुभन्दा रोग लाग्न नदिनु उत्तम हो’ भन्ने भनाइलाई आत्मसात गर्नु बुद्धिमानी हुन्छ ।

बिर्तामोड झापाकै उच्च जोखिममा रहेकोले बिर्तामोडबासीले बढी सजग हुन जरुरी छ । अव्यवस्थित बसोबास, जनघनत्व, भौतिक विकासका नाममा निमार्णाधीन संरचना, सडकको दुरावस्था, प्रदुषण, प्रकृतिको विनाश लगायतले अत्यन्त जोखिममा रहेको बिर्तामोडप्रति स्थानीय सरकार पनि गम्भीर छैन । त्यसैले पनि प्रत्येकले सचेतता अपनाउनु डेंगु नियन्त्रणको सर्वोत्तम उपाय हुनसक्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here