बहुभाषा, अन्तर्राष्ट्रिय भाषा र नेपाली भाषा


१६ असार २०७६, सोमबार ०६:०३ मा प्रकासित
  • 22
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares

तीर्थराज खरेल,

Advertisement

मानव मानवबीच भावना वा विचार संवेदना गर्ने माध्यम भाषा हो । भाषा यस्तो साधन हो जसको माध्यमले हामी आफ्नो विचारहरूलाई व्यक्त गर्छौं र विचार ब्यक्त गर्नलाई जुन पारिभाषित ध्वनिहरूको उपयोग गर्छौं ती सबै मिलेर एउटा सम्पूर्ण भाषाको उत्पत्ति गर्छन् । भाषा बिना मनुष्य सर्वथा अपूर्ण छ र आफ्नो इतिहास तथा परम्परादेखि विच्छिन्न छ । सामान्यतः भाषालाई वैचारिक आदानप्रदानको माध्यम भन्न सकिन्छ । भाषा वैज्ञानिकहरूका अनुसार भाषा वा दृच्छिक वाचिक ध्वनि संकेतहरूको यस्तो पद्धति हो, जसद्वारा मानव परम्परा विचारहरूलाई आदानप्रदान गर्छ । भाषा बिना मनुष्य सर्वथा अपूर्ण छ र आफ्नो इतिहास तथा परम्परादेखि विच्छिन्न छ । सामान्यतया भाषालाई वैचारिक आदानप्रदानको माध्यम भन्न सकिन्छ । भाषा वैज्ञानिकहरूका अनुसार भाषा वा दृच्छिक वाचिक ध्वनि संकेतहरूको यस्तो पद्धति हो, जसद्वारा मानव परम्परा विचारहरूलाई आदान प्रदान गर्छ ।

नेपाल सरकारले विद्यालय तहको शिक्षामा चिनियाँ भाषा समावेश गर्ने निर्णय गरेको छ । काठमाडौं उपत्यकाभित्रका केही विद्यालयले ऐच्छिक विषयका रुपमा चिनियाँ भाषाको पठनपाठन शुरु गरेका छन् । नेपालको समृद्धिमा चिनियाँ सहयोग वृद्धि गर्न र चीनमा उच्च शिक्षा हासिल गरेका नेपाली विद्यार्थीहरुलाई आफूले लिएका ज्ञानको सदुपयोग गरेर मुलुकको समृद्धिको अभियानमा योगदान दिन यसले सहयोग पु¥याउने निश्चित छ । राष्ट्रको आवश्यक्तालाई धान्ने गरी शैक्षिक जनशक्ति निर्माण गर्न सकेमा मात्र शिक्षा क्षेत्रको उपादेयता स्पष्ट हुन्छ ।

तसर्थ, विश्वभाषाको रुपमा विकास हुँदै गएका र व्यापारिक तथा कूटनीतिक महत्वका भाषाको विस्तार र विकासका लागि राज्यस्तरबाटै सोचिनु र सो अनुरुप रणनीति तथा कार्यनीति बन्न आवश्यक छ । आजको युग भूमण्डलीकरणको युग हो । संसार एउटा विश्वग्राम भएको छ आज । यातायात र सञ्चारको अभूतपूर्व विकासले सम्पूर्ण विश्व एक गाउँ झैं बन्न सम्भव भएको हो । मानिसहरुको वीचमा विचार आदानप्रदान गर्न र संवादका लागि अन्तर्राष्ट्रिय भाषाको सहयोग जरुरी छ । संसारमा धेरै बोलिने भाषाहरुमा मण्डारिन चाइनिज, अंग्रेजी, फ्रेञ्च, स्पेनिस, पोर्चुगिज, एस्पेरान्तो, हिन्दी, अरबी आदि भाषा पर्दछन् भने व्यापारिक तथा कूटनीतिक हिसाबले जापानी भाषाको पनि त्यत्तिकै महत्व रहेको छ । एकातिर भाषाले पहिचान र स्वअस्तित्वको बोध गराउँछ भने अर्कोतिर मातृभाषामा मात्र आशक्ति देखाउँदा विश्वको विकास र प्रगतिदेखि अलगथलग हुनुपर्ने अवस्था पनि सृजना हुन्छ । आफ्नो मातृभाषा र राष्ट्रभाषाप्रतिको लगावलाई कायम राख्दै बहुभाषिक ज्ञान हुनु आजको आवश्यकता भएको छ । एकल भाषाको ज्ञान हुनेभन्दा बहुभाषाको ज्ञान भएका विद्यार्थी बढी सक्षम, प्रतिभाशाली र सामाजिक घुलनशीलता भएका पाइएका छन् भने वास्तवमा उनीहरुले नै समाजमा बढी योगदान गर्न सक्छन् भन्ने विभिन्न अनुसन्धानले देखाएका छन् ।

चिनियाँ प्रधानमन्त्री चाउएनलाईदेखि बेनजिया वाओसम्मले गरेको नेपाल भ्रमणले नेपाल–चीन सम्बन्धलाई प्रगाढ बनाएको छ । नेपाली कांग्रेसका नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला र राजा महेन्द्रको पनि दुईपक्षीय सम्बन्ध बिस्तारमा ठूलो योगदान रहेको छ । हाम्रो द्विपक्षीय सम्बन्ध विस्तारमा चिनियाँ प्रधानमन्त्री चाउएनलाईको नेपाल भ्रमणले तत्कालीन चीन–नेपाल मैत्री सम्बन्धको स्तरलाई मजबुत पारेको थियो । हुन त टंकप्रसाद आचार्यको प्रधानमन्त्री कालमा नेपाल–चीन दौत्य सम्बन्ध औपचारिक रूपमा सुरू भएको हो । अहिले चिनियाँ आर्थिक, सैनिक, सामरिक, कूटनीतिक हैसियत विश्वमा इष्र्यालाग्दो हुनपुगेको छ । माओको बेलाको विकासको चुनौती, बाह्य मुलुकबाट सतर्क हुने अवस्था अथवा सांस्कृतिक क्रान्तिको जमानामा आजको चीन छैन ।

सन् १९९० मा बेलायती उपनिवेशबाट फिर्ता लिई चीनको अभिन्न अंगका रूपमा हङकङ समाहित भइसकेपछि ‘एक देश, दुई व्यवस्था’ लाई चीनले व्यवहारमा उतारेको छ । चीनसँग दौत्य तथा कूटनीतिक सम्बन्ध स्थापित गर्ने सबैजसो मुलुकले ‘एक चीन’ नीति अवलम्बन गरेका छन् । चीन अहिले एसिया, अफ्रिकाको कतिपय देशमा आर्थिक सहायता प्रदान गर्ने, उद्योगमा लगानी गर्ने, हातहतियार निर्यात गर्ने शक्तिराष्ट्रका रूपमा स्थापित छ । सबभन्दा ठूलो त उपभोक्ता सामग्री विश्वभरि सस्तो मूल्यमा निर्यात गरेर युरो र अमेरिकन डलर आर्जन गरी चीन विश्वको सशक्त आर्थिक शक्ति बनेको छ । चीन–नेपाल औपचारिक सम्बन्ध २०१२ सालमा तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यको समयमा स्थापित भयो । साँच्चै भन्ने हो भने भृकुटी र स्रङचङ गम्पोको वैवाहिक सम्बन्धदेखि अरनिकोले बेइजिङको मध्यभागमा चीनका राजा, महाराजा, बादशाहले पाँच सय वर्षभन्दा बढी राज गरेको बेलाको दरबार नजिकै सेतो प्यागोडा निर्माण गरेको समयदेखि घनिष्ट रहेको देखिन्छ । नेपाल–चीनबीच यति पुरानो र घनिष्ठ सम्बन्ध भए पनि न चिनियाँहरुले नेपाली भाषा सिक्न चाहेका छन् न नेपालीहरुले नै चिनियाँ भाषाप्रति दिलचस्पी देखाएका छन् । तर, अब नेपालीका लागि चिनियाँ भाषाको ज्ञान हुनु व्यावहारिक रुपमा महत्वपूर्ण हुँदै गएको छ ।

डाक्टर, इञ्जिनियर वा अन्य विधामा पढ्न जाने नेपालीले चीनमा पहिलो वर्ष चिनियाँ भाषा अध्ययन गर्नुपर्छ । विश्वभाषा क्याम्पसमा प्रत्येक वर्ष १ देखि ६ सेमेस्टरसम्म करिब पाँच सयजना नेपालीले चिनियाँ भाषा सिक्ने गरेका छन् । यो संख्या बढ्नुको कारण नेपालमा चिनियाँ पर्यटकको संख्यात्मक वृद्धि, व्यापार, निर्माण, उद्योगमा भएको चिनियाँ लगानी आदिले भूमिका खेलेको छ । प्रत्येक वर्ष बढ्दै गएको चीन–नेपालबीचको शैक्षिक, राजनीतिक, आर्थिक, व्यापारिक सम्बन्धलाई प्रगाढ बनाउन भाषा र संस्कृति, खानपानको महत्वपूर्ण भूमिका हुन्छ । चीनमा नेपाली भाषाको न्यून प्रयोग हुन्छ । भारतका थुप्रै विश्वविद्यालयमा नेपाली भाषा अध्ययन, अध्यापन हुन्छ । दोहोरो मित्रतालाई भाषिक रूपमा घनिष्ट बनाउन त्यतिले मात्र पुग्दैन । चीनसँग साधनस्रोत छ, क्षमता छ, त्यसैले चीनमा पनि नेपाली भाषासहित केही दक्षिण एसियाली भाषा पठनपाठन केन्द्र निर्माण गर्नुपर्छ । त्यसका लागि हुने राष्ट्रको लगानीप्रति ध्यान पुग्नु जरूरी छ । श्रव्यदृश्य आदानप्रदान पनि भाषिक–सांस्कृतिक सम्बन्ध प्रगाढ बनाउन मद्दत गर्ने क्रियाकलाप अन्तर्गत पर्छ । यो खाँचो द्विपक्षीय सम्बन्ध, पर्यटन, व्यापार, शिक्षा लगायत क्षेत्रमा अझ टड्कारो देखिन्छ ।

यसैबीच सल्यानको कालीमाटी गाउँपालिकाले एक नमुना सामुदायिक स्कुललाई छानेर नयाँ शैक्षिकसत्र २०७६ देखि अंग्रेजी, चिनियाँ, जापानी र फ्रान्सेली भाषा पठनपाठन शुरु गरेको छ । यो कति टिकाउ हुन्छ, त्यो त भविष्यले देखाउँछ । हुन त सबै अन्तर्राष्ट्रिय भाषाका आफ्नै विशेषता र महत्व छ, तर चिनियाँ भाषाको महत्व बढी छ र यसको भविष्य पनि उज्ज्वल छ । भाषाले विश्वबन्धुत्व, भाइचारा र मेलमिलापमा जोड दिने भएकाले शान्ति, मित्रता, मानवतालाई केन्द्रविन्दुमा राखी अन्तर्राष्ट्रिय भाषाको पठनपाठन हुनु जरुरी छ । नेपालमा वैदेशिक रोजगारका लागि दक्षिण कोरिया जाने परम्परा लामो समयदेखि वा लगभग डेढ दशक बढीदेखि जारी छ भने जापानका लागि पनि लाखौं युवायुवती जापानी भाषा सिक्न आफ्नो समय र श्रम खर्च गरिरहेका छन् । भाषाको सान्निध्यले एकापसी सम्बन्धमा प्रगाढता ल्याउँछ भने व्यापार, व्यवसाय र वाणिज्यमा बढोत्तरीका लागि सहयोग पु¥याउँछ । यसरी अब अंग्रेजी भाषालाई मात्र बढी जोड दिनुभन्दा आवश्यक रुपमा अन्य अन्तर्राष्ट्रिय तथा नेपालका लागि महत्वपूर्ण हुने भाषाको औपचारिक पठनपाठन नेपालमा हुनु जरुरी छ ।

सरकारी कामकाजको भाषा र अन्तर्राष्ट्रिय भाषालाई मात्र जोड दिँदा मुलुकभित्र रहेका रैथाने र अल्पसंख्यकहरुले बोल्ने भाषा अझ लोप हुने सम्भावना हुन्छ । राष्ट्रिय पहिचान निर्माणका निम्ति प्राकृतिक रूपमा नेपाल विविधताले भरिपूर्ण छ अनि अति सुन्दर छ । प्राकृतिक रूपमा जति विविधता छ, सांस्कृतिक र सामाजिक परिवेश उति नै बहुरंगी छ । सांस्कृतिक र सामाजिक महत्ताको पहिचान भाषाले दिएको छ । भाषा मानव जातिको पहिचान र परिचयको पहिलो आधार हो । त्यसैले नेपालमा बेलाबेला भाषाको राजनीति चर्को रुपमा उठ्ने गरेको छ । नेपालको जनगणना २०६८ का अनुसार नेपाली समाजमा १२३ भाषा प्रयोग भइरहेका छन् । भाषिक मानवाधिकार अभियन्ता तथा अधिकारकर्मी अमृत योञ्जन तामाङका अनुसार तीमध्ये ९६ भाषा स्थानिक अर्थात् रैथाने हुन् भने बाँकी २७ भाषा गैरस्थानिक अर्थात् पछि विभिन्न चरण र समयमा नेपाल प्रवेश गरेका भाषा हुन् ।

स्थानिक भाषाहरूको चिन्हित भूगोल हुन्छ भने गैरस्थानिक भाषाको भूगोल नेपालमा छैन । राष्ट्रिय भाषाबाहेक राष्ट्र भाषाहरूको विकास, विस्तार, प्रबद्र्धन र उत्थानका लागि राज्यपक्षले त्यत्ति नै ध्यान दिन जरुरी छ । औपचारिक तथा अनौपचारिक शिक्षामा मातृभाषा प्रयोग गर्न सके यस्ता भाषाको संरक्षण र विकासमा सहयोग पुग्न जान्छ । तसर्थ, आजको युगमा हरेक राज्यको कर्तव्य मुलुकको मूल भाषाको विकास गर्नु, रैथाने भाषाको संरक्षण गर्नु र छिमेकी तथा अन्तर्राष्ट्रिय रुपमा ठूलो क्षेत्र र जनसंख्याले बोल्ने भाषाहरुको विस्तार र बढोत्तरी गर्नु हो । उचित भाषिक नीतिले आन्तरिक राष्ट्रियताको जगेर्ना हुन्छ भने बाह्य क्षेत्रमा मुलकको सम्बन्धमा बहुआयामिक विकास र सबल विस्तारमा सहयोग पुग्छ । नेपालको हकमा रैथाने तथा अन्तर्राष्ट्रिय भाषा सिक्ने र सिकाउने कुरामा नेपाली भाषाकै प्रमुख भूमिका हुनुपर्छ । सरकारी कामकाज र सम्पर्क भाषाको रुपमा रहेको नेपाली भाषाको भूमिकालाई मूल आधार मानी अन्य भाषाको संरक्षण र विस्तार हुनसक्छ ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्