काठमाडौं ।
नेपाली कांग्रेसले आफ्ना तल्ला तहको संरचनाको गठन निर्वाचनबाटै गर्ने भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच पार्टीका तल्ला तहको संरचना गठन निर्वाचनबाटै गर्ने सहमति भएको हो । शीर्ष नेताहरुबीच भएको सहमति अनुमोदन गर्न कांग्रेसले भोलि केन्द्रीय समितिको बैठक बोलाएको छ ।
बैठकले नेताहरुबीच भएको अनौपचारिक सहमति पारित गरी निर्वाचन कहिले गर्ने भन्ने निर्णयसमेत गर्ने बताइएको छ ।मुलुक संघीय संरचनामा गइसके पनि कांग्रेसले आफ्ना संरचना सोअनुरुप बनाउन सकेको छैन ।
अन्तरिम अवधिका लागि सहमतिबाट तदर्थ समिति गठन गरी संरचना निर्माण गर्ने सभापति देउवाले तयारी गरिरहेका बेला वरिष्ठ नेता पौडेलले असहमति जनाएपछि अब विधानअनुसार निर्वाचनबाटै गठन गर्ने सहमति बनेको हो ।
कांग्रेसको विधानमा पनि संघीय संरचनाअनुसार कमिटी गठन गर्दा निर्वाचनबाटै गर्नुपर्ने व्यवस्था छ । केन्द्रीय कार्यसमितिबाहेक कांग्रेसमा अहिलेसम्म तल्ला तहका कमिटी पुरानै संरचनाअनुसार गठन भएका छन् ।
नयाँ संरचनाअनुसार प्रदेश, क्षेत्र, गाउँ, नगर, वडा र बुथ कार्यसमिति गठन गर्नुपर्नेछ । नियमित महाधिवेशन नहुँदासम्मको अन्तरिम अवधिका लागि गठन हुने सबै कार्यसमिति अब निर्वाचनबाटै चयन गरिने छन् ।
भोलि बस्ने बैठकले नियमावलीसमेत पारित गर्ने बताइएको छ । नियमावली तयार पार्न केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा समिति गठन गरिएको थियो ।
समितिले सहमतिबाट नियमावलीको मस्यौदा पारित गरिसकेको छ । बैठकमा विभाग, भ्रातृसंस्थाका अधिवेशन, नेविसंघको गठनलगायत विषयमा छलफल हुनेछ । नेविसंघ विघटन भएको चार महिना बित्दासमेत नयाँ कार्यसमिति बन्न सकेको छैन ।