४१ कालीगढलाई भूकम्प प्रतिरोधी तालिम

0
528

बिर्तामोड।

झापाका साना निर्माण ब्यवसायीहरुलाई सात दिने भूकम्प प्रतिरोधी तालिम प्रदान गरिएको छ । साना निर्माणकर्मी संघ झापाको आयोजनामा शुरु भएको तालिममा ४१ जनाले सहभागिता जनाएका थिए । भूकम्पका कारण जनधनको ठूलो क्षति नहोस् भन्ने उद्देश्यले कालीगढलाई तालिम प्रदान गरिएको जनाइएको छ ।

साना निर्माणकर्मी संघ झापाका अध्यक्ष राजु राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले भूकम्प प्रतिरोधात्मक तालिम प्रदान गरेर विकास र समृद्धिको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको बताए । उनले आधुनिक प्रविधि युक्त भवनहरु निर्माण गर्दा कसरी भूकम्प प्रतिरोधी बनाउन सकिन्छ भन्ने विषयमा कालीगढलाई सीप प्रदान गरेको भन्दै प्रशंसा गरे ।

कार्यक्रममा पिरामिड टेक्निकल इन्स्टिच्युट प्रालिका समिर खड्काले कालीगढलाई भूकम्प प्रतिरोधको विषयमा विभिन्न ज्ञान, सिप प्रदान गर्ने गरेको बताए । पिरामिड टेक्निकल इन्स्टिच्युट प्रालि इटहरीको प्राविधिक सहयोगमा सात दिनसम्म तालिम प्रदान गरिएको बताइएको छ ।

तालिममा इञ्जिनियर तेजबहादुर शाही लगायतले प्रशिक्षण प्रदान गरेको थिए । तालिम समापनको अवसर पारेर शुक्रबार ३५ जना कालीगढको जेनरल इन्स्योरेन्समा सामुहिक बिमा गरिएको छ । साना निर्माणकर्मी संघका सल्लाहकार कृष्ण भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव श्याम बस्नेतले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here