व्यंग्यनारान पाँडे,
लगभग डेढ कुरेत लामो र ठूलो मुठ्ठो तील–चामले टुप्पीबाहेक टाउकोमा येनकेन बाँकी, देहाती सामुदायिक विद्यालय–हाताको कुल्चीकाल्ची आँगनमा बलैले अस्तित्वमा रहेको दुबोको हविगतमा पुगेका, कपाल र सेतै फुलिसकेका आँखीभौँका रौँ समेत सफाचट खोरिएर मुडुले–ठुट्टे भई आएका थिए आज गौंथलीको बाऊ । उनले सदा झैं टोपी पनि लाएका थिएनन् । उनले सेतो सुरुवाल र कमिज लगाएका थिए, जो सिलाएर लगाउन थालेदेखि कहिल्यै धोएको जस्तो लाग्दैनथ्यो— जताततै पसिनामा टाँसिएका धूलो–ध्वाँसोको टाटैटाटा ! उनका गोडा पनि खाली थिए ।…
उनको स्वरुप हेर्दा उनी झन्नै किरियापुत्री जस्ता देखिन्थे ।
उनी आउँदाआउँदै मैले सोधें— “हन को के भयो र दाइ ?”
उनी बरण्डाको चिसो सिमेन्टमा थ्याच्च बसे, सदा झैं कुर्सीमा बसेनन् । र, निकै लामो खुइ काडेपछि भने— “आज बल्ल दुई दिन भो ! अजै एकदिन बाँकी छ । एस्ता ट्याममा दिन बिताउन पनि सारै पर्दो रछ साला ! यो नून भन्ने जिनिस मान्छे–मानवउका लागि कत्रो नेस्सरी जिनिस रछ तेस्सिमालाने । दुई दिन नून–तेल बार्नुपर्दा इ हेर न म दुब्ला’र टाट भइसकें ।”
मैले फेरि सोधें— “दाइलाई शोक परे जस्तो छ नि ? को नजिक आफन्त कहिले बिते ? मैले त थाहा पनि पाइन ।”
उनले सुख्खा नाक उँभो तानेपछि भने— “हिज्जअस्ति तपइँ जन्मेका दिनदेखुन् एता भख्खर सोर्गे भाको भा पो था पाउँथेउ त ! उनले आजभन्दा चार सहे बर्ख दुई मैना सत्र दिन पैल्यै अथ्वा अङरेजी वि.सम्. सोर सहे सोरै साल अप्रिल मैनाको त्याइस गते दशमी तिथिको झुल्के घामभन्दा दश मिलिटमा यो सन्सार छोडेर सोर्गको मेन रोड समातेका हुन् । आज अङ्रेजी वि.सम्.दुई हज्जार उन्नाइस साल जुलाई मैनाको छ गते दुहादशी तिथिमा ठ्याक्क तेति बर्ख, तेति मैना, तेति दिन भो–भ’न त अन्तखेरि ?”
म फुल भोल्यूममा एक च्याप्टर सिङ्गै हाँसें र, सोधें— “तपाईंका जिजु–च्याब्जुका पनि जिजु–च्याब्जु उतिखेर मर्या रहेछन् अहिले किरिया बारेको त अन्तखेरि ?”
उनले भने— “लअअअ….गिल्ला र रेला गरेर किन हाँस्या तपइँ ? हामी ताघाधारीको समस्कीर्ति र प्रम्प्रा कउमोधी व्याकर्णको अल्जेभ्रा, जमेटिरी, जोराफी जस्ता साश्र–कोकसाश्र तिटिस्सै नपढ्या तपइँ जस्ता डुकुरहर्दलाई के था छ र डिस्केस नार्न खोज्छौ ? आफूलाई दुई दिनदेखुन् नून खान नपा’र हइर्यान भइराख्या बेला, छ्या ।”
मैले उनलाई अझ उकासेर—अझ चिढ्याएर मनोरञ्जन लिने सोच्तै दाहिने हातको बूढी औंलो मुखतिर बाङ्गो पार्दै प्रश्न गरें— “यस्तो तान्न पनि बार्नु भा छ कि नून–तेल मात्रै ?”
उनले अलिक अल्मलिए जस्तो गरी मेरा आँखामा आँखा जुदाएपछि भने— “तो जिनिस खानु हुँदैन भन्ने साश्रमा कइँ लेख्या छैन । कोदो, मकै धानको चामल, खुदी जस्ता अन्नको पासलाई भाँडामा बेस्सरी उसिनेर तेसको बाफबड चुहेको शुद्द पानी खानु हुन्छ होला एस्ता ट्याममा र त साश्रमा केइ पनि नलेखिया हुनाले तो चइँ जिनिस त बार्नै परेन नि ।”
मैले फेरि सोधें— “अनि त्यो जिनिससंग खाने माछा–मासु नि ?”
उनले आप्mना अररा औंलाले नाक कोट्याएर एकपल्ट थुक उद्दिट्टिने गरी हाच्छिउँ गरेपछि भने— “हत्तेरिका, माछो र बोइलार कुख्राको मासु बाएक अरु–अन्ने जीब–जन्तुको मासु त काँ खानु हुन्छ त अनि यस्ता ट्याममा, बार्नै पर्छ नि !”
मैले फलोअप गरें— “ब्रोएलर कुखुराको मासु चइँ कसरी खानुहुन्छ त ?” उनले अलिक कडा स्वरमा भने— “अनि भग्वानहर्ले साश्र लेखेका ट्याममा बोइलार कुख्राको चलनै थेन भने तेस्तो कुख्राको मासु नूनतेल बारेका बेला खानुहुन्छ–हुँदैन भन्ने साश्रमा लेखिया भा पो ! सो–उक्त कुरो सन्बन्दी बिबर्ण साश्रमा छँइछैन भने बोइलारको मासु चइँ नून–तेल हेरुको लसपस नगरी पोलेर खाँदैछु । अबुई, कोदाको र खुदीको तेस्तो आग्गो बल्ने झोल तेसै त कसरी निल्नु त हओ अन्त ? कसरी निल्नु ? तेसो त पैलीदेखुन् नै बोइलारको मासु पनि उत्ति काँ खान्थेँ र ! म कैलुको भट्टी हुटेलमा डेल्ली नै भन्या जस्तो बोइलारको चाडा खुट्टा पोलेर खाने गर्थेँ क्या । चाडा खुट्टा र पोलेको समेत दुई रुप्पेमा होल्सेल दाम फिस गरिराख्या छइँछ । तेसैसित तो पढ्के क्याति झोल तान्दैछु ।”
मैले कुरोलाई अघिकै प्रसंगमा लैजाँदै भनें— “तपाईं अहिले जसको जुठो बारिरहनु भएको छ उसको नाम चाहिँ के थियो ?”
उनले उनका कोत्रिएका झिरिप भइसकेका दाँत देखाउँदै भने— “ती क्या त, हाम्रा कम्रेट नेताहर्लाई मात्तै होइन काङरेस, राप्पपा, मदिसे पाटी सप्पैका आजका नेताहर्लाई नाटकार गर्न लङ्कै पछि पार्ने कुइरेका देशका नाटककार गर्ने हुइलेम सेस्पियार त हुन् नि, अरु को हुन्थ्यो ।”
मैले सोधें— “उनको जुठो किन बारेको त ?”
उनले भने— “ती सेसपियार पनि मेरी बइजन्तीमाला जस्तै साउँअछेर पनि नपढेका कालो अछेर भुइँसी ब्राबर रछन् नि । उन्को तेस्तो एउडा रहस्से कुरो था पाएसि मैले उन्लाई साख्खै आफ्नो मानेर आफ्ना बा–आमैका ठाममा बर्खमा तीन दिन जुठो बार्न थाल्या । म सोएम् एत्रो पढेको बेक्तित्तोकी वाइप बइजन्ती चइँ साउँअच्छेरै नचिन्ने परेकीमा मेरा पेटभित्र हेडेक भइराख्या थ्यो । एक साँज बइजन्तीलाई पनि कैलुकाँ लेर जाँदा पअअअर गाम्को कोनि कुन बोडिँङे सर पनि धमाधममा रछन् । उनले बइजन्तीलाई देखेसि कति खाइलाग्दी राम्री भन्र मख्खै पर्दै आकर्सित भ’र केकति पढ्या छ भन्र सोदीखोजी इन्टेस राखे र मैले मुनलाई गाँठो पारेर नालीबेली लाइदेँ । तेससि उनले बइजन्तीको चित्त बुझाउन होला ती सेस्पियारको एक दिनको घटनाको कथा भने ।”
मैले प्रश्न राखें— “के कथा ?”
उनले भने— एक दिन बेलाइती लन्डनको आफ्नो अपिसबड सेस्पियार खाजा खान एउडा रेसुरेनमा पसेछन् । बेराले खाने जिनिसका नाम र दाम छापिया एउडा पोस्तक लेरा’र सेस्पियारलाई देछ । सेस्पियारले तो बेरालाई सो–उक्त पोस्तक घुराउँदै ‘तिमी नै पढेर सुनाऊ–सुनाऊ हओ एस रेसुरेनमा के–के कति–कति दाममा खान पाइँछ’ भनेछन् र बेराले पनि — ‘साहेप म पनि तपइँ जस्तै निरछेर हूँ, पढ्न आउँदैन’ भनेछ । एसो भन्दै ती बोडिँगे सर ख्याल मज्जासंग हाँस्या थेनन् ।”
मैले भने— “विलियम सेक्सपियर जस्ता विद्वान पनि निरक्षर हुन्छन् के त ? उनले चश्मा अफिसमै बिर्सेका थिए होलान् नि ।”
उनले भने— “पढ्न जान्नेलाई चेश्मा किन चाइँथ्यो बित्थामा । इ मलाई–तपाइँलाई चाइया छ ? ढाकछोप किन गर्या तपइँले ? उनी जस्ता साउँअछेरै नचिन्या मान्छे पनि हाम्रा भानुभक्त अचार्ज, लछिमी पर्सात देउकोटा, बालकिस्न सम्महेरु जस्तै पर्सिद्ध माहान खेतीप्राप्त हुन्छन् भने मेरी चिरच्छेरी बइजन्ती पनि पछि भबिसेकमा माहान्नी हुनसक्छे भन्ने सोँच–अब्धार्नाले मैले खुशी हुन नपाउनु ?”
उनी भन्दै गए— “ती बोडिँङे सरले तेति भनिरँदा र बइजन्तीसित अलग्गै मस्कामस्की गर्दागर्दै म झिएपी–झ्याप भइसक्या थेँ र मैले ती सरलाई भन्दियाथेँ— ‘ती सेस्पियार पनि हाम्रै थर–गोत्रका एतैबड गका ज्यान हुन् । म उन्को नजिकै नातोको हूँ । अज मैले त पढ्या छु । पढ्या मान्छेले कुलधरम् छोड्नु हुँदैन । तेसकारन बा–आमैको तिथि–उथि जस्ता उपलच्छेमा सराद्धे गर्ने पुरानो रुढीबूढी मारो गोली भन्दै हामी हाम्रा काल मास साहेप–ल्यालिन साहेप–माउतेसुङज्यूहर्का तिथि मान्ने गर्छौं । म चइँ अज बढ्ता सेस्पियारको, कपालै खोरेर र नून–तेलै बारेर, बर्खैबर्ख सराद्धे नै गर्छु । …ती सर तेस्का केइ दिनपछि मेरै घरको माथ्लो तलामा डेरा सरे ।
मेरी बइजन्ती उनी स्कूल जानअघि र उनी स्कूलबड घुरेसि उनैसित हुन्छे । तेसो भएसि मेरो कुइँके हड्डी दुख्न केइ कम पनि भइरछ । कोठाभाडा पनि मनग्गे दिन्छन् र बेल्का–बेल्का डेल्लीका डेल्ली टन्न भउन्जेल पिलाउँछन् पनि । मलाई तेससि होश आओस् त थुक्क ! एस्तो सम्र्विद छ मेरो घरको नेपाल र तेसमा बस्ने हामी टोट्टल तीन थान नेपाली आ–आफ्नै पाराले खुशी पनि छौं । धन्न छ हाम्रो बौमतको सर्खार क्या पाँडे भाइ, धन्न छ ।” उनी बल्ल बोल्न छोडे । त्यसपछि पो थाहा पाएँ– मेरो गिदीभरि सेक्सपियर, बोडिँङे सर, गौंथलीको बाऊ र बैजन्तीमालाको गिजिङ–गिजिङ रहेछ !….