सृष्टिको अन्तिम श्वास

0
592

तुलसीराम खरेल,

त्यस समय मानिसहरु ब्रम्हाण्डका धेरै ठूला–ठूला पिण्डहरुको यात्रा गरिरहेका थिए । दक्षिण एसीयाली मुलुकहरुको विकसित देश नेपालबाट पनि धेरै मानिसहरुले चन्द्रमामा घर बनाएर बस्न थालिसकेका थिए । पृथ्वी ग्रहबाट त्यहाँ पुगेकाहरुको लवाइखुवाइ ‘मित्री’ भन्ने सौर्यमण्डल बाहिरको ग्रहबाट आएकासँग धेरैकुराहरु मिल्दैनथे । मित्री नामको ग्रहमा धेरै आन्तरिक कलह मच्चिएपछि उनीहरु सौर्य मण्डलको पृथ्वी नामको ग्रहलाई घुम्ने उपग्रह चन्द्रमाको अनुकूल वातावरण देखेर त्यहीँ आएर बस्न थालेका थिए ।

चन्द्रमामा पृथ्वीबाट गएकालाई ‘मुमेन’ भनिन्थ्यो । यहाँका ह्युमेनहरुलाई त्यहाँ मुमेन अर्थात् चन्द्रमाका मानिस भनिन्थ्यो । मित्रीबाट आएका झण्डै पृथ्वी भन्ने ग्रहको भारतीय उपमहाद्वीपका ऐतिहासिक पात्र हनुमान जस्ता देखिन्थे । त्यसैले होला उनीहरुलाई मुमेनहरुले हनुमुमेन भन्थे । यो नाम जुराउन पनि पृथ्वीका नेपाल भारतबाट गएका हिन्दू र पश्चिमा गैर हिन्दूबीच लामै तर्क चलेछ । पछि पृथ्वी भन्ने ग्रहका अवशेष र प्राचीन भारतको इतिहास झल्कने रामायण पृथ्वीकै धार्मिक च्यानेलबाट आकासे टेलिभिजनमा हेरेपछि पृथ्वीका पश्चिमबाट आएका मुमेनहरुले विश्वास मानेका रहेछन् ।

हनुमुमेनहरुले आफ्नो प्रविधि मुमेनहरुलाई सिकाउन चाहँदैनथे । उनीहरु अशरिरीको अभ्यास गर्थे । मित्री ग्रहका आफन्तसँग कुरा गरिरहेका हुन्थे । कुनै सामग्री हातमा हुँदैनथ्यो । पृथ्वीकाहरु चाहिँ अंग्रेजी र संस्कृत बोल्थे । हनुमुमेनहरु साउती गर्दथे । उनीहरुको ठूलो आवाज सुनिदैनथ्यो । तिनको पुरै भाषा थोरै मुमेनहरुले मात्रै बुझ्दथे । पुरै चन्द्रमा दुई भागमा बिभक्त थियो मुमेन र हनुमुमेन लेण्ड । भाषा अलग, जात अलग, जमीन अलग, एक आपसमा बिहावारी हुँदा पनि सन्तान नहुने । किनकि तिनीहरु अलग्गै प्रजितका थिए । तिनीहरुको क्रोमोजोमको संख्या समेत फरक–फरक हुन्थ्यो । पृथ्वी भन्ने ग्रहमा मानव जातिको वर्चश्व थियो भने चन्द्रमामा दुई प्रजातीका प्राणीहरुको वर्चश्व ।

पियुषात्मन भारतबाट त्यहाँ बसोबास गरिरहेका एकजना ब्यक्ति थिए । हनुमुमेनहरुको संस्कार र भाषाका ज्ञाता उनी हनुमुमेनसँग उनीहरुको मित्री ग्रहमा समेत गएका थिए । त्यो ग्रह हाम्रै आकाश गंगाको सौर्य मण्डलदेखि पैतीस सय प्रकाश बर्ष टाढा थियो । हनुमुमेनका आधुनिक यानमा त्यहाँ पुग्न चार दिन लाग्थ्यो । चन्द्रमाबाट धेरै कम दुरीमा पृथ्वी पर्ने कारणले धेरै आफन्तहरुको आइजाइ हुने गर्दथ्यो । एकपटक एक हनुमुमेन मीत्रसँग पियुषात्मन दक्षिण भारतको कन्याकुमारीमा अवतरीत भए ।

यो यात्रा मात्रै एकघण्टाको हुन्थ्यो । पियुषात्मनले उनको हनुमुमेन मित्र हनुमन्तमसँग आफ्नो गाउँ र भारतका दर्जनौं स्थानका तीर्थयात्रा गरे । हनुमन्तम पियुषात्मनले राखिदिएको नाम थियो । यी दुई साथीहरुले ब्रम्हाण्डका धेरै पिण्डहरुको यात्रा गरेका थिए । पियुषात्मनका केही आफन्तहरु मंगल ग्रहमा समेत बस्दथे । चन्द्रमाबाट अर्को ग्रह मंगलमा जान पृथ्वीको कन्ट्रोल रुममा जानकारी गराउनु पर्दथ्यो । उनीहरुको यान मित्री ग्रहबाट ल्याइएको हुनाले पृथ्वीको कन्ट्रोल रुममा इन्ट्री नगराई सिधै जान मिल्थ्यो । चन्द्रमामा ट्यावलेट मील इनपुट गरेर उनीहरु मंगल ग्रहमा गए । त्यहाँ पियुषात्मनले आफ्ना ससुराली खलकका एक नातेदारको भयानक मृत्युपछिको पुनर्जन्म चन्द्रमामा हनुमुमेन कम्युनिटीमा हुने अग्रीम जानकारी र जन्म हुने घरको फोटो, स्थान र मितिबारे जानकारी गराइ चन्द्रमामा फर्केर डीनर गरे । उनले पृथ्वी लोकमा मृत्यु भएका धेरै जनाको पुनर्जन्म मित्री, चन्द्रमा र मंगल ग्रहमा भएका प्रमाणहरु फेला पारेका थिए ।

पृथ्वीका मानिसहरुले धेरै ठूला–ठूला अप्ठ्याराहरुसँग जुध्नु परिरहेको थियो । पानी पर्न छोडेको थियो, बर्षांैसम्मको खडेरी, मरुभूमिकरण, उच्च तापक्रमले मानिसहरु धेरै मर्न थालेका थिए । आणविक युद्ध, अनिकाल, हत्या हिंसाले पृथ्वी छोडेर चन्द्रलोक र मंगलग्रहमा बसाइसराइ गर्न थालिसकेका थिए धेरैले । धेरै देशहरुले यसरी पृथ्वी छोड्न प्रतिबन्ध लगाएका थिए । धेरै जना आवश्यक खर्चको जोहो गर्न नसकेर पृथ्वीमै बस्न बाध्य थिए । उता चन्द्रलोक र मंगल ग्रहका प्रशासनहरुले मानिसहरुको प्रवेसलाई प्रतिबन्ध लगाउन थालेको थियो ।

पृथ्वीका मानिसहरुको अनुशासन र मानवीयपनको क्षय तथा पर्यावरणीय असन्तुलनको कारण कुनै पनि बेला पृथ्वी भन्ने ग्रहमा मानिसहरु बाँच्नै नसक्ने भविष्यवाणी आउन थालेका थिए । पृथ्वीलोकका धेरै देशहरुको बजेट नै आकाशका अनुकूल ग्रह र उपग्रहको अन्वेषणमै सकिन्थ्यो । बंगलादेश, म्यानमार, पेरु, चिली, जापान वरपरका प्रशान्त महासागरीय टापुहरुको अस्तित्व समाप्त भइसकेको थियो । भारत पश्चिमको अरव सागरमा ठूलो नेपालभन्दा झण्डै पाँच गुणा ठूलो टापुको उत्पत्ती भएको थियो । त्यहाँ पनि अरव देशहरु र भारतका झण्डै तीस करोड मानिसहरु बसोबास गर्दथे । त्यो नयाँ हिमाली स्थान मुलुकको जन्म भएको थियो ।

चन्द्रमामा अक्सिजनको मात्रामा कुनै कमी थिएन् । गुरुत्व प्रवेग कृतिमरुपले बढाइएको थियो । हरितगृह प्रभाव आवश्यक मात्रामै थियो । रातमा थाली आकारको रातो पृथ्वी देखेर धेरैजना मानिसहरु आफ्नो मौलिक ग्रह सम्झन्थे । पृथ्वीमा बढ्दै गएको आणविक युद्धले चन्द्रमाका मुमेनहरु चिन्तित थिए । एसीयाका चीन र भारत एउटै कित्तामा उभिएका थिए । अमेरिकी मुलुकहरु र युरोपियन मुलुकहरुको साझा युद्ध संगठन बनिसकेको थियो । पियुषात्मनको परिवार चन्द्रमाको अति रमणीय शीतलाँक कुनामा बसेर पृथ्वीतिर हेरिरहेका थिए । ठूलो ज्वालाले पृथ्वीलाई घेरेको देखियो । उनीहरु चिच्याए । यो खबर चन्द्रमाका सबै मुमेन र हनुमुमेनहरुबीच क्षणभरमै फैलियो । पृथ्वी सूचना केन्द्रका सुपर कम्प्युटरहरुले कुनै पनि शन्देश लिन र दिन सकेका थिएनन् । रातको आकासमा चलायमान केही पिण्डहरु देखिन थाले ।

अन्वेषणको लागि कुनै पनि यानहरु चन्द्रमाबाट उड्न सकेनन् । प्रविधिका तरंगहरुले सबै सौर्यमण्डललाई माकुराको जालोले झैं बाँधेको थियो । पृथ्वीका कुनै ठूला अपराधी समूहहरुले पृथ्वी लगायतका धेरै ग्रहहरुलाई एकैचोटी ध्वस्त गर्न सूचना केन्द्र र प्रक्षेपण केन्द्रहरुलाई काम गर्न नसक्ने पारिदिएका थिए । पृथ्वी भन्ने ग्रह टुक्रा–टुक्रा भयो भने चन्द्रमाको गतिमा समेत असन्तुलन आउन सक्छ त्यसपछि यो मंगल ग्रहमा ठोक्किएर चकनाचुर हुने कुरा पहिले नै अनुमानहरु गरिएको थियो ।

एउटा ठूलो बिष्फोटनले पृथ्वी टुक्रा–टुक्रा भएको देखियो चन्द्रमाको आकासबाट । ठूला–ठूला आगोका लप्का जस्ता पदार्थको लुकामारीसँगै तीव्रगतिमा चन्द्रमा समेत हल्लिन थाल्यो । त्यही क्षण पियुषात्मनले सम्झे सौर्य मण्डलमा मानिसको अस्तित्व समाप्त भइरहेको छ । केवल पृथ्वीका निर्दयी मनुष्यको कारण । अन्य पिण्डहरुमा बसाइसराइ गराइएका मानिसहरु समेत सृष्टीको अन्तिम श्वास फेर्दै थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here