तनहुँमा ‘जोशी’ का‌ंग्रेसले कारबाही गर्‍यो रामचन्द्र पौडेललाई


२१ असार २०७६, शनिबार ०७:०६ मा प्रकासित

तनहुँ,

Advertisement

देशमा नेपाली कांग्रेस नामको एक मात्र पार्टी छ तर तनहुँमा दुईवटा नेपाली कांग्रेस छन्। पूर्व गृहमन्त्री समेत रहेका गोविन्दराज जोशी पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष। कार्यालय पनि दुई र जिल्ला कार्य समितिहरू पनि दुईवटा नै।  दुई पक्षलाई मिलाउन सभापतिलाई हम्मे हम्मे भइरहेका वेला विवाद झन् चुलिएको छ।

शुक्रबार मात्रै जोशी कांग्रेसले नेपाली कांग्रेस जिल्ला कार्यसमिति तनहुँको ‘लेटर हेड’मै विज्ञप्ति जारी गरी २०७५ माघ ८ गते संस्थापन कांग्रेस विघटन गरी स्थापना गरेको नेपाली कांग्रेस तनहुँले रामचन्द्र पौडेल लगायतका नेतालाई कारबाही गरेको छ।

विज्ञप्तिमा जोशी कांग्रेसलाई सहयोग नगरेकोेले पार्टीको जिल्ला अनुशासन समितिले केन्द्रीय सदस्य नेता पौडेल, शंकर भण्डारी, महासमिति सदस्यहरू ध्रुव वाग्ले, रघुनाथ पौडेल, बैकुण्ठनाथ न्यौपाने, जीतप्रकाश आले, क्षेत्रीय प्रतिनीधि विश्व बास्तोलालाई पार्टीको विधान अनुसार कारबाही गर्न लागिएको उल्लेख छ।

जोशी कांग्रेसका प्रवक्ता हरिशरण पण्डितले जारी गरेको विज्ञप्तिमा २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा कांग्रेस तनहुँले तत्कालीन नेतृत्वका कमजोरीको कारण लज्जास्पद हार बेहोर्नुपरेको भन्दै पौडेल सहितका सात नेतालाई कारबाही गरिएको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ,‘तनहुँको विशेष अधिवेशनबाट नयाँ जिल्ला कार्यसमिति गठन भई सहज रूपमा काम गर्दै आइरहेको अवस्थामा पार्टीका निष्ठावान, कर्तव्यनिष्ठ, इमान्दार कार्यकर्ताविरुद्ध वक्तव्यबाजी गर्दै केन्द्रीय कार्यालय सानेपामा पार्टीभापति समक्ष अनाश्यक भ्रम र अफवाह फैलाई पार्टी हितविपरीत काम गरेकोले कारबाही गर्ने निर्णय गरियो।’ -थाहाखबरबाट

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्