अर्जुनधारामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी

0
831

अमित खम्बू / अर्जुनधारा।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्र्तगत झापाको अर्जुनधारामा गत असार १देखि २२ गते सम्म सञ्चालन भएको प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी भएको निष्कर्श आएको छ ।

न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणका काम गर्ने इच्छुक बेरोजगारहरुलाई लक्षित गरि सञ्चालन गरिएको उक्त कार्यक्रमको मंगलबार जनप्रतिनिधि, कर्मचारी र सञ्चारकर्मीहरुको अनुगमन पश्चात् उक्त निष्कर्श आएको हो ।
नगर प्रमुख एवम् स्थानीय तह निर्देशक समितिका अध्यक्ष हरिकुमार रानाले छोटो समयमा गरिएको समग्र कार्यहरु प्रभावकारी भएको प्रतिक्रिया दिए । उनले समयमै कार्यक्रमको व्यवस्थापन गर्न सकिएको खण्डमा नगरपालिकाभित्र रहेका धेरै पूर्वाधारहरुको समस्यालाई समाधान गर्न सकिने बताए ।

त्यसैगरी अर्का सहभागी नगर उपप्रमुख कमला खतिवडा आचार्यले छोटो समयमा धेरै कार्य सम्पन्न भएकोमा कार्यक्रमको प्रशंसा गरेकी थिइन् । समय अभावका कारण तयारी नपुग्दा धेरै टुक्रे कार्यक्रम गर्नुपर्ने भए पनि गरेको कार्य सन्तोषजनक भएको उनले बताइन् । “आगामी दिनमा टुक्रे भन्दा एकीकृत गरी कार्य गर्न सक्दा थप प्रभावकारी हुनेछ ।”–उनले भनिन् ।

श्रमिकहरुको लागि पर्याप्तरुपमा सेफ्टी सामग्रीको अभाव भए पनि कार्य गर्ने कुरामा प्राविद्यिकको स्टीमेट भन्दा बढी कार्य सम्पन्न भएको नगर रोजगार संयोजक केशवराज ढुंगेलले बताए । कामको लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना(सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०७६मा उल्लेख भए अनुसार कार्यक्रम अन्र्तगत सडक निर्माण तथा मर्मत, कृषि तथा सिंचाई, ग्रामीण खानेपानी, स्वास्थ्य तथा सरसफाई, शिक्षा, वन तथा जलाधार, पर्यटन र स्थानीय आवश्यकता अनुसारका अन्य श्रम प्रधान आयोजनाहरु सञ्चालन गर्नुपर्ने हुँदा ठूलो पूर्वाधारहरुको कार्य गर्न नमिल्ने संयोजक ढुंगेलले जानकारी दिए ।


उनको अनुसार योजना सञ्चालनको लागि छनौट भएको २७० जनामध्ये १९३ जनाले जम्मा तीन हजार आठ सय ९२ दिन काम गरेको थियो । सुरुमा १५ दिनको रोजगारी दिने व्यवस्था गरिएकोमा ७७ जना अनुपस्थित भएपछी थप सात दिन वृद्धी गरिएको हो ।

अनुगमनमा बोर्डकी प्रवक्ता सकुन्तला बराल, बोर्ड सदस्य शारदादेवी भट्टराई, अर्जुनधारा–७का वडाध्यक्ष नवराम ढुंगाना “नविन”, ९का वडाध्यक्ष पूष्पकुमार प्रसाईं र १०का निमित्त वडाध्यक्ष भोला गौतम, अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शीलगायतको सहभागीता रहेको थियो ।

कार्यक्रम अन्र्तगत सम्पन्न भएको आयोजनाहरुः

सो कार्यक्रम अन्र्तगत अर्जुनधारा नगरपालिका परिसरमा बगैंचा निर्माण तथा वृक्षारोपण, वडा नम्बर ३ सुखनाी तटबन्धनमा वृक्षरोपण, वडा नम्बर ५ फूलमती नदी तटबन्धनमा बाँस रोपण, वडा नम्बर ६ पुष्पलाल चोकमा वृक्षारोपण तथा पार्क सौन्दर्यकरण, वडा नम्बर ७ कार्यालय परिसरमा पक्की चौतारा निर्माण, अर्जुनधारा जलेश्वर धाम परिसरमा रहेको पार्कभित्र बगैंचा निर्माण तथा वृक्षारोपण, खेलमैदानमा वृक्षारोपण, वडा कार्यालय परिसरमा बगैंचा निर्माण तथा वृक्षारोपण, अर्जुनधारा जलेश्वर धाम हुँदै नारायणचोक जाने नाली सरसफाई गरिएको छ ।

त्यसैगरी वडा नम्बर ९को पशुसेवा कार्यालय परिसरमा बगैंचा निर्माण, वृक्षारोपण तथा नमूना खोर निर्माण, कृष्ण प्रणामी मन्दिरमा बगैंचा निर्माण तथा वृक्षारोपण, बौद्ध गुम्बा परिसर घेराबारा, बगैंचा निर्माण तथा वृक्षारोपण, वडा नम्बर १०को पञ्चकन्या मन्दिर जाने बाटोको गेटदेखि मन्दिरसम्म दुवैतर्फ नाली निर्माण, भद्रकाली मन्दिर परिसरभित्र बगैंचा निर्माण गरिएको छ ।

त्यस्तै आयोजना अन्र्तगत विभिन्न प्रजातीको रुखको विरुवा, फूलको विरुवा र बाँस गरेर तीन हजार आठ सय ४२ वटा रोपीएको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ । जसअनुसार असोक २५ वटा, आँप ९० वटा, कटहर १२ वटा, गुलमोहर २५ वटा, गुलावी २५ वटा, धुपी ६० वटा, रुद्राक्ष ४५ वटा, लिचि ७५ वटा, वेल २० वटा, बाँस २६ सय र फूल नौ सय १५ वटा उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here