चट्याङको समयमा बाहिर निस्कनु खतरा

0
871

नरेन्द्र ढकाल / बिर्तामोड।

नेपालमा वर्षेनि चट्याङका कारण मृत्यु हुनेको संख्या बढी रहेका बेला प्रदेश–१ मा चट्याङका कारण मृत्यु हुनेको संख्यामा कमी आएको छ ।

प्रदेश–१ का १४ जिल्लामा गत आर्थिक वर्षमा ११ जनाको मृत्यु भएको जनाइएको छ । चट्याङका कारण ६१ जना ब्यक्ति घाइते भएको प्रदेश प्रहरी कार्यालय विराटनगरका वरिष्ठ प्रहरी उपरीक्षक किशोरकुमार दाहालले जानकारी दिए ।

यता झापामा दुई वर्षको अवधिमा चट्याङ लागेर आठ जनाले ज्यान गुमाएका छन् । पूर्वका चट्याङ पर्ने जिल्लामा झापा पनि अग्रस्थानमा पर्ने गरेको विज्ञहरुले जनाएका छन् । आर्थिक वर्ष ०७४÷०७५ मा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र एक बालक रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । मृत्यु भएकाहरुलाई सरकारले क्षतिपूर्र्ति दिने गरेको छ ।

गत आर्थिक वर्ष ०७५÷०७६ मा तीन जना पुरुषको मृत्यु भएको तथ्याङ्कमा उल्लेख गरिएको छ । पूर्वका झापासहित इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ, धनकुटा, मोरङ, सुनसरी, सप्तरी, सिराह, उदयपुर, सोलुखुम्बू, र ओखलढुङ्गा जिल्लामा चट्याङ लागेर सयौंले ज्यान गुमाउनु परेको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष ०७१÷०७२ मा ३६ जनाको मृत्यु भएको थियो भने ४५ जना घाइते भएका थिए । त्यस्तै आर्थिक वर्ष ०७२÷०७३ मा २९ जनाले ज्यान गुमाउनु प¥र्यो भने ६६ जना घाइते भएको प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

आर्थिक वर्षमा ०७३÷०७४ मात्रै ४० जनाले चट्याङका कारण ज्यान गुमाउनु प¥यो भने ८८ जना घाइते भएका थिए । आर्थिक वर्ष ०७४÷०७५ मा ४६ जनाले ज्यान गुमाएको प्रदेश प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । विगतका वर्षमा पूर्वका इलाम र ओखढुङ्गामा अत्याधिक रुपमा चट्याङ पर्ने गरेको र सबैभन्दा धेरै मानिसको मृत्यु पनि उक्त जिल्लामा नै हुने गरेको प्रहरीले जनाएको छ । झापामा अत्यधिक रुपमा चट्याङ् पर्ने गरेपनि मृत्युदर भने अन्य जिल्लाको भन्दा कम नै रहेको बताइएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार चट्याङका कारण वर्षेनि करोडौंको क्षति हुने गरेको छ । मुलुकमा सामान्यतः अपराह्न ४ बजेदेखि ६ बजेसम्म सबैभन्दा बढी चट्याङ पर्ने गरेको छ । चट्याङ एक किसिमको बिजुलीको धार हो । यो वायुमण्डलमा देखापर्छ । वैज्ञानिक अध्ययन अनुसार एकपटक चट्याङ पर्दा १० हजार एम्पिएर र त्योभन्दा बढी करेन्ट उत्पन्न हुन्छ ।
यो करेन्टको धार आकाशबाट पृथ्वीको सतहतिर केन्द्रित भई प्रवाहित हुन्छ । कुनै मानिस वा प्राणी यसको संसर्गमा आए तुरुन्तै मृत्यु हुने बताइएको छ । बिजुली चम्किने बेलामा वायुमण्डलको तापक्रम एक्कासी बढ्छ । ताप बढेर ३० हजार डिग्री सेल्सियस र त्योभन्दा बढी पुग्न सक्छ । ताप बढेपछि आयतन बढ्छ, जसले विष्फोटनको आवाज निस्किन्छ । यही आवाजलाई मेघ गर्जन भनिने वैज्ञानिकहरुको भनाइ छ ।

यस्तो बेला पानीमा भिज्ने व्यक्ति वा प्राणीलाई करेन्ट लाग्ने सम्भावना धेरै हुने बताइएको छ । करेन्ट लाग्यो भने मानिसको मृत्यु पनि हुन सक्छ । हुरी बताससँंगै चट्याङ परेका बेला बाहिर निस्कनु खतरनाक हुने बताइएको छ । विद्युतीय धार आकाशबाट पृथ्वीतिर केन्द्रित हुने भएकाले पहाडको उच्च भागमा चट्याङ पर्ने सम्भावना बढी हुने गर्दछ ।
उच्च स्थानमा निर्मित घर, टहरा, गोठ बढी निशानामा पर्ने विज्ञहरुको भनाइ छ । रुखमा पनि चट्याङ पर्ने सम्भावना धेरै हुन्छ । चट्याङ पर्दा रुखमुनि ओत लिनु सबैभन्दा खतरनाक हो, बिजुलीको खम्बामुनि पनि बस्न नहुने बताइएको छ ।

यस्तो बेला खेतमा काम गर्नु, पोखरीमा पौडी खेल्नु वा डुंगा चलाउनु पनि जोखिमपूर्ण हुन्छ । विद्युतीय धारको प्रवाह फलाम वा अन्य धातुमा छिटो हुने भएकाले त्यस्ता वस्तु लिएर हिँड्नु जोखिमपूर्ण हुन्छ । विज्ञहरूका अनुसार यसबाट बच्ने सबैभन्दा उत्तम उपाय घरबाट बाहिर ननिस्किनु नै हो । पक्की घर र छानामा लाइटनिङ एरेस्टर लगाएको घर निर्माण गर्नुपर्ने विज्ञहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here