सांस्कृतिक गौरवको रक्षा गरौं


३१ श्रावण २०७६, शुक्रबार ०७:३५ मा प्रकासित

वैदिक सनातन धर्म विश्वकै पहिलो सभ्यता हो । वेदको रचना गर्ने व्यासले त्यसयुगमा सृजना गरेको रचना आज पनि विश्वकै लागि उदाहरणीय र अनुकरणीय रहेको छ । वेदले अङ्गिकार गरेको आदर्श नै मानव सभ्यतालाई यो उचाइसम्म पु¥याउन सक्षम छ । त्यही भएर आधुनिक र विज्ञानको युग भनिने समयमा पनि वेदकै अनुशरण गरिँदैछ । आधुनिक वा अत्याधुनिक भन्ने आजका विकसित समाज र राष्ट्रहरुमा पनि वैदिक संस्कृतिको अनुशरण गर्न थालिएको दृष्टान्तहरु सार्वजनिक भइरहेका छन् । ‘बालीनाली अर्काको राम्रो देख्ने’ मानसिकताले तिनै सनातनी सभ्यताका सन्ततिहरु दिग्भ्रमित भइरहेका छन् आज । त्यही भएर वैदिक, पौराणिक एवम् सांस्कृतिक मूल्य र मान्यतालाई पूरातनवादी, रुढीग्रस्त र काम नलाग्ने भन्दै त्याग गर्ने मानसिकता हुर्किदैछ ।

Advertisement

परम्परागत संस्कार र संस्कृतिप्रति विरत् बन्दै नवपुस्ता नवीनता खोेज्न दौडिंँदैछ । कतिपय सांस्कृतिक पहिचानहरु विलय भइसकेका छन् । जन्मदेखि मृत्युपर्यन्त गरिने संस्कारहरुमा नवीनताको खोल लगाएर ‘रङ्गमा डुबेको श्याल’ जस्तै बनिँदैछौं । यस्तोमा केही उही नाममा नयाँ पद्धति जोडिँदैछ भने तिनको सांस्कृतिक विशिष्टता लोप हुँदैछ । यसले अमूल्य पहिचान कमजोर मात्र होइन मौलिकताविहीन जाति बनाउने खतरा बढाएको छ । जन्मपछि गरिने न्वारन, अन्नप्राशन, छेवर, उपनयन, विवाह र मृत्युपछि गरिने अन्त्येष्टि वा पितृश्रद्धाका कर्महरु आफू अनुकूल, लोकाचार अथवा प्रदर्शनका लागि मात्र हुन थालेको छ । तागाधारी जातिसँग न शिखा छ न त काँधमा जनै धारण गरिएको छ । यस्तै द्वैध चरित्र प्रदर्शनकै बीच पनि लौकिकताका लागि जनै धारण गर्नेहरुले वर्षेनि करोडौं रुपैयाँको जनै आयात गर्ने गरेको समाचार सार्वजनिक भएको छ ।

उपभोग्य वस्तुको उत्पादन आफ्नो देशमै नहुञ्जेलसम्म आर्थिक समृद्धि सम्भव छैन । जनै केवल सांस्कृतिक पहिचान मात्र हो त्यसैले यसको उत्पादन स्वदेश मै हुनुपर्छ । जनै जसलाई यज्ञोपवित भनिन्छ, त्यसको धार्मिक एवम् सांस्कृतिक परिचय बेग्लै छ जो हाम्रो आस्था र विश्वाससँग जोडिएको छ । सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ता ब्रह्मा, विष्णु र महेशको प्रतिकका रुपमा लिइएको जनै त्यही मूल्य र मान्यताका आधारमा ग्रहण र धारण गर्नुपर्छ । त्यो पनि मान्यता विपरीत उत्पादन भई विदेशबाट आयात हुनुले वैदिक संस्कृतिको अपमान समेत भएको छ । त्यसैले स्वाभिमान र जातीय गौरवका खातिर पनि खासगरी वैदिक विद्यालयहरु, पीठ तथा गुरुकुलको परम्पराबाट सञ्चालित शिक्षालयहरु त्यसप्रति गम्भीर हुनै पर्छ ।

वैदिक संस्कृतिमा ब्राह्मण, क्षत्री र वैश्य जातिले यज्ञोपवित धारण गर्नुपर्छ । यज्ञोपवित शास्त्रीय एवम् वैदिक विधिले निर्माण गर्नुपर्छ र यसरी निर्माण गरिएको यज्ञोपवित अर्थात् जनै शास्त्रोक्त विधिले नै संस्कारित हुनुपर्छ । यसको महत्व र गरिमा संरक्षण गर्न र बढाउन संस्कृति र परम्परालाई माया गर्नेहरुले नै अघि सर्नुपर्छ । त्यसो भएमात्र धारक पक्षलाई जनै औपचारिकता मात्र होइन पहिचान हो भन्ने भावना जाग्रत गराउन सकिन्छ । त्यही आवश्यकताको बोध गरेर ‘जरोकिलो प्रतिष्ठान’ले जनै बनाउने परम्परागत शैलीलाई जोगाउने अग्रसरता देखाएको छ । यो अग्रसरता स्वेदशी वस्तुको प्रयोग तथा आयात प्रतिस्थापनका लागि सहायक बन्न सक्यो र धारण गर्नेहरुलाई पनि मेरो मौलिक पहिचान हो भन्ने बुझाउन सक्यो भने ठूलो उपलब्धि सावित हुनेछ ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्