लोकतन्त्र :आचरण र व्यवहार कि भ्रम र प्रपोगाण्डा ?

३१ श्रावण २०७६, शुक्रबार मा प्रकाशित

विष्णुप्रसाद खरेल,

नेपालमा पूँजीवादको संस्कृति, वामपन्थी राजनीति र प्रजातन्त्रबारे अनुसन्धानमा संलग्न डा. स्टेफनका माइकसेल अनुसार– ‘प्रजातन्त्रलाई देशबाहिर र भित्र दुबैतिरबाट खतरा भएकाले संघर्षद्वारा नै यसको उदय हुन्छ र संघर्षद्वारा नै यसलाई बचाइ राख्न सकिन्छ ।

देशभित्र प्राचिन विश्वका कुलीनवर्गहरु वा निरंकुशहरु वा आजको विश्वका सैनिक, औद्योगिक र विकासे ठेकेदारहरु तथा व्यापारी र सुरक्षा सम्बन्धी निकाय र राज्यबीचका गठबन्धनहरु जस्ता राज्यमाथि नियन्त्रण कायम गर्न चाहने समूह वा व्यक्तिहरु रहेका हुन्छन् । प्रायः यी समूहहरु आफूलाई प्रजातन्त्रका सबैभन्दा ठूला समर्थकका रुपमा प्रस्तुत गर्दछन् र प्रजातन्त्रका निम्ति लडिरहेकाहरुलाई चाहिँ प्रजातन्त्रका शत्रुहरु र राज्यका शत्रुहरुका रुपमा चित्रित गर्दछन् ।’ डा. स्टेफनले भने जस्तै अवस्था नेपालको राजनीतिमा देखिन थालेको छ । यो स्तम्भकार यसैको विश्लेषणमा केन्द्रित छ ।

नेपालको राजनीतिमा राजनीतिक शक्तिहहरुको चरित्रमा अचम्मको परिवर्तन देखएकै हो । एकात्मक राजतन्त्रात्मक व्यवस्था संवैधानिक राजतन्त्रमा बदलिनु, सर्वहारा वर्गको अधिनायकत्वमा विश्वास गर्ने र त्यसैका लागि अहोरात्र संघर्ष गर्ने कम्युनिष्टहरु बहुलवादमा रुपान्तरित हुनुले नेपालको राजनीति सुधारोन्मुख भएको धेरैले विश्वास गरेका छन् । तर, सुधारोन्मुख भएकाहरु प्रजातान्त्रिक चरित्रका छन् या अनुसन्धानकर्ता डा. स्टेफनले भने जस्तै आफूलाई घोर प्रजातान्त्रिक देखाउन देश र प्रजातन्त्रका लागि (अहिले राष्ट्रवादी र लोकतन्त्रवादी भन्ने गरिन्छ) निरन्तर लडिरहेकाहरुलाई राष्ट्र र प्रजातन्त्रका शत्रुका रुपमा व्याख्या गरेर आफूलाई घोर राष्ट्रवादी र लोकतन्त्रवादीका रुपमा देखाउन भ्रम र प्रपोगाण्डाको राजनीति गरिरहेका छन् ? यो बहस अहिले कमजोर बनेको छ ।

राजनीति सदैव वैचारिक बहसमा केन्द्रित हुनुपर्दछ । यो मेरो मान्यता हो । वैचारिक बहसले मात्र राजनीतिक शक्तिहरुको सही र वास्तविक विश्लेषण गर्न सक्दछ । विगतको स्तम्भ लेखमा नेकपाका राजनीतिज्ञ युवराज ज्ञवालीले प्रस्तुत गरेको विचारलाई उल्लेख गरेको थिएँ । उनले भनेका छन्– ‘पहिला गिटी कुट्ने कम्युनिष्ट हुन्थे, अहिले बालुवा र गिटीका ठेकेदारहरु कम्युनिष्ट भएका छन ।’ हेर्दा यो सामान्य लाग्न सक्दछ । तर, यसभित्र कम्युनिष्टहरुमा आएको सैद्धान्तिक विचलनको बलियो तर्क भेटिन्छ । यही सैद्धान्तिक विचलनमा देखिने राजनीतिक आचरण र व्यवहारका बारेमा केही लेख्ने प्रयास गरेको छु । यो लेखन श्रृंखलाका आधारहरुमा नेपालको राजनीतिक शक्तिका स्थापित समर्थक र अभियानकर्ताहरुसँगको भेटघाट र कुराकानीलाई मुख्य आधार बनाएको छु ।

नेपालका राजनीतिक शक्तिका रुपमा रहेका राजततन्त्र समर्थकहरु, कांग्रेस समर्थकहरु र वामपन्थी समर्थकको आचरण, व्यवहार र वर्तमान विश्लेषणलाई प्रतक्ष्य भेटघाट र कुराकानीका आधारमा तयार पारेको छु । लेखनको यो श्रृंखलामा चयन गरिएका पात्रहरु वर्तमान राजनीतिमा के धारणा राख्दछन् र वर्तमान राजनीति कता जाँदैछ भन्ने विश्लेषण प्रस्तुत गर्ने प्रयास गरेको छु ।

मैले यस स्तम्भमा राजतन्त्रको बलियो समर्थकका रुपमा रहेका विद्वान व्यक्तित्व रवीन्द्र चक्रवतीसँगको भेटमा भएका कुराकानीहरुको सन्दर्भलाई उल्लेख गरेको छु । नेपालको राजनीतिमा कसैले चाहेर वा नचाहेर भए पनि राजतन्त्रको बहस बलियो भएर आउन थालेको छ । विश्वको राजनीतिमा लोकतन्त्रको बहस बलियो र निरंकुशताको बहस कमजोर बनिरहेको बेला राजन्त्रका बलिया समर्थकहरु के भन्छन् भन्ने विश्लेषण पनि कम महत्वको हुँदैन ।

विगतमा सर्वहारा वर्गको अधिनायकत्वमा एकदलीय शासन व्यवस्थामा विश्वास गर्ने कम्युनिष्टहरु अहिलेको राजनीतिमा सबैभन्दा उत्कृष्ट लोकतन्त्रवादी हुने आडम्बर गरिरहेका बेलामा विगतका राजतन्त्रवादीहरु के सोचिरहेका छन् र के विश्लेषण गरिरहेका छन् ? यो पनि कम सान्दर्भिक हुँदैन । अझ, प्रजातन्त्रका लागि घरवारविहिन भएकाहरु र रुपान्तरित रुपमा प्रजातन्त्रवादी भएका तर कम्युनिष्ट विचारबाट ओतप्रोत भएका पुराना कम्युनिष्ट राजनीतिज्ञहरु के सोचिरहेका छन् र के भइरहेको छ ? यो पनि उत्तिकै महत्वको हुनेछ । स्तम्भकारले यी सबै पक्षहरुका विचारलाई बिना पूर्वाग्रह आगामी स्तम्भहरुमा उल्लेख गर्ने प्रयास गर्ने नै छ ।

राजतन्त्रका समर्थक रवीन्द चक्रवर्तीको घर, झापाको भद्रपुर नगरपालिकामा पुगियो । नगरपालिकाको मध्यवर्ती भागमा रहेको सामान्य टोल, जहाँ गरिबी र सुविधाहिनता प्रष्ट देखिन्थ्यो । सायद दश फिटको चौडा कच्ची बाटो । हामीले लिएर गएको सानो गाडी घुम्ने ठाउँ पनि थिएन । मूल सडकमा नै गाडीलाई राखेर पैदल पुगियो । चक्रवर्ती निवास लेखिएको एउटा सामान्य घरले हामीलाई स्वागत गरिरहँदा म अचम्ममा परें । एउटा शक्तिहाली व्यक्तित्व यसरी पनि बसिरहेको हुन्छ, मैले कल्पना पनि गर्न सकिनँ ।

कुनै समयमा राजनीतिमा शक्तिहाली बनेका चक्रवर्ती एउटा सामान्य नागरिकका रुपमा रहन सक्छन् भन्ने कुराले नै राजनीतिक शक्तिबाट फाइदा लिने वर्तमान संस्कारकाविरुद्धमा उनी निर्भयका साथ जीवनयापन गरिरहेको मैले प्रत्यक्ष देखेँ । ढोकाबाट प्रवेश गरिरहँदा उहाँको सादगी जीवनको आभाष भयो । मैले कल्पना गरेँ, उहाँकै दर्जामा पुगेका अन्य राजनीतिक दलका नेताहरुको जीवनशैलीको ।

उहाँको सादगी जीवनको छाप त ममा परिसकेको थियोे । उहाँले हामीलाई घरभित्र लैजादै गर्दाको व्यवहारले अझ अच्चमित तुल्यायो । विरामी अवस्थामा रहनुभए पनि हामीलाई आत्मिीयतापूर्वक स्वागत गर्नुभएबाट म अझ प्रभावित भएँ । केही समय उहाँको स्वास्थ्यमा केन्द्रित बनेका हामी, विस्तारै वर्तमान राजनीति र उहाँले लिनुभएको राजनीतिक मान्यतामा केन्द्रित बन्यौं । लोकतन्त्रका बारेमा उहाँको स्पष्ट धारणा थियो– ‘लोकतन्त्र भनेको संस्कार, संस्कृति, आचरण र व्यवहार हो । यो अरुभन्दा फरक छ ।’ उहाँले लोकतन्त्रको संस्कारयुक्त अभ्यासको उदाहरणका रुपमा एउटा स्मरण सुनाउनु भयो । पञ्चायती शासनकालमा उहाँ अन्तर्राष्ट्रिय युवा उत्सवमा भाग लिन पूर्वी जर्मनी पुगेको, कुरा । महोत्सव सकिएपछिका दिनहरुमा प्रजातन्त्रको अभ्यास गरिरहेको मुलुक स्वीजरलैण्डको संसद कसरी चलिरहेको छ भन्ने उत्सुकताको, प्रसंग ।

संसद भवनमा जान सार्वजनिक बस चढिरहेको बेला, एकजना बृद्ध उहाँहरुको पछाडि लाइनमा बस्नुभएको रहेछ । युवा उमेरका चक्रवर्तीलाई पाको उमेरका व्यक्तिलाई लाइनमा पछाडि राख्न मन लागेन छ । बृद्धलाई अगाडि आउन अनुरोध गर्दा मानेन छन् र भनेछन्– यो सिष्टम हो, जो अगाडि पहिला आएको छ उसले अगाडि बस्ने अधिकार राख्दछ । उक्त बस पार्लियामेण्ट पुग्यो । उहाँहरु दर्शकदिर्घामा बस्नुभयो । संसद शुरु हुना साथ अघिको बृद्ध व्यक्ति सभामुखको कुर्सीमा देखियो । अचम्म मानेर नियालेर हेर्दा बस चढ्ने लाइनमा पछाडि रहेका पाको उमेरका व्यक्ति सभामुखका रुपमा भेटिए । लोकतन्त्र के हो मैले त्यसैबेला थाहा पाएँ, उहाँले सुनाउनुभयो । लोकतन्त्र वा प्रजातन्त्र मुखले बोल्ने कोरा शब्द वा राजनीतिक भ्रम वा प्रपोगाण्डा मात्र होइन रहेछ । यो त जीवन, आचरण र व्यवहारसँग गाँसिएको हुनेरहेछ । उहाँको स्मरण सुनिरहँदा म अहिलेका लोकतन्त्रवादी भनिएको नेताहरुको आचरण, व्यवहार र जीवनशैलीको तुलना गरिरहेको थिएँ ।

मेरो उत्सुकता झन् बलियो बनिरहेको थियो । राजनीतिको लामो विश्लेषणपछि मैले जिज्ञासा राखेँ, यो देशको विकास र समृद्धि कसरी हुन्छ ? सहज भावमा उहाँले भन्नुभयो यो देशको विकास र समृद्धिका नाममा धेरै राजनीतिक परिवर्तनहरु भए । राजा संवैधानिक भए र प्रजातन्त्रको अभ्यास गरे । त्यसबाट एउटा आशा पलाएको थियो । राजा, जनता र राजनीतिक दल एक भएर मुलुकको विकासमा लागेपछि केही हुन्छ भन्ने विश्वास पलाएको थियो, तर त्यो हुन सकेन वा हुन दिइएन । नेपालको राजनीतिमा बाह्य प्रभावले हामीलाई एक हुन दिएन । कमजोरी सबैको छ ।

तर, हामी एकले अर्कालाई दोष दिएर आफू सर्वश्रेष्ठ हुने प्रयास गरिरहेका छौं । अस्तित्वका सवालमा हामी सबैको अडान ठीक होला, तर देश, जनता र समृद्धिको सवालमा हामी सफल हुन सकिरहेका छैनौं । एउटा शक्तिले अर्को शक्तिको अस्तित्व स्वीकार गर्न नसक्ने मनोरोगले नेपालको राजनीति दुषित बनेको छ । उहाँको अडान थियो, राजाभन्दा बलियो राष्ट्रवादी अरु कोही हुन सक्दैन । राजतन्त्रको मियोमा नै राष्ट्रवाद बलियो हुनसक्छ । राज्य नै रहेन भने न त जनता न त शासन व्यवस्था रहन्छ । वर्तमान राजनीतिमा सबैमा परिवर्तन र सबैमा शक्तिको स्वीकार्यता देखिन आवश्यक छ । त्यो भयो भने मात्र यो मुलुकको विकास र समृद्धि सम्भव छ ।

लोकतन्त्रलाई कसरी हेरिरहनुभएको छ भन्ने जिज्ञासामा उहाँको सहज र शालीन जवाफ थियो– लोकतन्त्र भनेको शब्दहरुको सञ्जाल मात्र होइन यो त आचरण, व्यवहार, जीवनशैली र अभिव्यक्त शब्दहरु पनि हुन । लोकतान्त्रिक आचरण र व्यवहार भेट्न नसकेको उहाँको गुनासो थियो । राजनीतिमा घोचपेच, छेडखानी, अपमान र तिरस्कार लोकतन्त्रको चरित्र होइन । भ्रम र प्रपोगण्डले लोकतन्त्रलाई सुसंस्कृत बनाउन सक्दैन । अहिलेको राजनीतिक अभ्यासले लोकतन्त्रको मान्यतालाई जोगाउन सक्दैन । लोकतन्त्र भनेको सादगीपन पनि हो । उहाँमा देखिएको लोकतन्त्रप्रतिको चिन्ता अन्य राजनीतिक दलका नेताहरुमा देखिन्छ या देखिँदैन ? म अन्तरमनमा सोचिरहेको थिएँ ।

संवैधानिक राजतन्त्र समाप्त भइसकेको अवस्थामा के राजतन्त्रको फरक स्वरुपमा अभ्युदय होला र ? मेरो जिज्ञासा थियो । सहज उत्तरमा उहाँले भन्नुभयो– यो जनतामा नीहित हुने कुरा हो । भ्रम र प्रपोगाण्डाबाट देशको विकास हँुदैन । देशको विकासका लागि एउटा विश्वास, निरन्तरता र अजय शक्तिको आवश्यकता पर्दछ । त्यो अजय शक्ति, विश्वास र धैर्यता जुन राजनीतिक शक्तिमा पलाउन सक्दछ त्यो अवश्य स्थापित हुनेछ । अहिले हरेक नागरिकले सोचिरहेका छन्, राजनीतिक परिवर्तन केका लागि ? वीपी कोइरालाले भनेको प्रसंग जोड्दै उहाँले थप्नुभयो– जतिबेला तिमी संकटमा पर्दछांै, देशको माटो हातमा लिनु र आँखा चिम्लिएर सोच्नु । अहिले नेपाली नागरिकहरुले त्यो गर्ने बेला आएको छ । एकपटक देशको माटो हातमा लिएर गम्भीर भएर सोच्नुहोस्, तपाईले जे अनुभूति गर्नुहुन्छ त्यो नै सत्य हो । नेपाली जनताहरु सत्यको खोजीमा छन् । उनीहरुले जे महशुस गर्दछन् राजनीतिमा त्यही हुन्छ ।

विद्वान र शालीन व्यक्तित्व चक्रवर्तीसँग कुरा गरिरहँदा मैले अनौठो अनुभूति गरेँ । राजनीतिमा शक्तिको उच्च शिखरमा पुगेर पनि सामान्य जीवनशैली र शालिनतापूर्ण व्यवहारले मालाई प्रभावित तुल्यायो । कठिन विरामीको अवस्थामा पनि स्थानीय उपचारमा विश्वास गर्ने उहाँको शैलीले मलाई झन् आत्मिय बनायो । झाडापखाला लाग्दा पनि राज्यको कोष दोहन गर्ने वर्तमान नेता र कार्यकर्ताको शैलीप्रति घृणा जगायो । राजनीतिलाई कमाउ बनाउनेहरु स्थापित हुन थालेको वर्तमान सन्दर्भमा लोकतन्त्र नै उल्टो बाटोमा हिँडेको अनुभूति जगायो । वर्तमान नेताहरुमा पलाएको तुच्छ बोली, होच्याउने स्वभाव र अपमानका शब्दको प्रयोगबाट लोकतन्त्र झन् आलोचित हुने चेतना पलायो ।

नातावाद, कृपावाद, कार्यकर्तामुखि प्रवृति, भ्रष्टाचार, अराजकता, प्रपोगाण्डा र भ्रममा मौलाएको राजनीतिभित्र मैलै लोकतन्त्रको अनुहार खोज्ने प्रयास गरेँ । तर, त्यो कुरुप देखियो । चिन्ता जगाउनु भो, पुराना राजनीतिज्ञ चक्रवर्तीले । नयाँ पीढिहरुले पुराना पीढिहरुबाट सिक्न धेरै रहेछ । सैद्धान्तिक विचलनमाबाट गुज्रिएको वर्तमान राजनीतिमा फेरि पनि नेकपाका नेता युवराज ज्ञवालीले भनेको स्मरणमा आउँछ– ‘पहिला गिटी कुट्ने कम्युनिष्ट हुन्थे, अहिले बालुवा र गिटीका ठेकेदारहरु कम्युनिष्ट भएका छन् ।’

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here