तलब भत्तावापतको रकम सामाजिक सङ्घसंस्थालाई प्रदान गरे वडाध्यक्षले

0
1077

खोटाङ,

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा बुवालुङका वडाध्यक्ष लीलाकुमार चौहानले राज्यबाट आफूले पाएको तलबभत्तावापतको रकम सामाजिक सङ्घसंस्थालाई प्रदान गर्नुभएको छ । तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष चौहानले आफूले पाएको रु एक लाख २० हजारमा रु एक लाख १० हजार थपेर सामाजिक सङ्घसंस्थालाई प्रदान गर्नुभएको हो ।

वडामा गठन भएका १३ आमा समूहलाई रु १०÷१० हजारका दरले रु एक लाख ३० हजार, उत्कृष्ट टोल विकास समितिलाई रु १० हजार, नेवाः पुँच खललाई रु ५० हजार, आफुले अभिभावकत्व ग्रहण गरेका छात्र नीरकुमार खत्रीलाई रु १० हजार र धामीलाई रु तीन हजार प्रदान गर्नुभएको वडासदस्य हरि चाम्लिङले बताउनुभयो ।

आमा समूहलाई प्रदान गरिएको रकम घुम्तीकोषमा जम्मा गरेर अप्ठ्यारामा परेका व्यक्ति तथा परिवारलाई बिनाब्याज चलाउन दिने गरी प्रदान गरिएको हो ।बाँकी रहेको रु १७ हजार रकम लोपोन्मुख अवस्थामा पुगेको सङ्गिनी नृत्य टोलीका लागि साडी खरीद गर्न सहयोग गर्नुभएको जनाइएको छ ।

उमेरले भर्खर ३३ वर्षका हुनुभएका वडाध्यक्ष चौहानले आगामी दिनमा राज्यबाट पाउने रकमसमेत सामाजिक काममै खर्च गर्ने बताउनुभयो ।उहाँले गत वर्ष पनि प्राप्त रु एक लाख ६८ हजार र व्यक्तिगत रु ८३ हजार १११ थपेर रु दुई लाख ५१ हजार १११ नगद सामाजिक सङ्घसंस्थालाई प्रदान गर्नुभएको थियो । उहाँले आफ्ना स्व बुबा नैनसिं चौहानको स्मृतिमा आफूले अध्ययन गरेको अन्नपूर्ण माविमा रु एक लाख ११ हजार १११ को अक्षयकोष स्थापना गर्नुभएको छ ।

गत वर्ष नै स्थापना गरिएको अक्षयकोषबाट आएको ब्याजले प्रत्येक वर्ष दुई गरीब तथा जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गर्ने उद्देश्यले अध्यक्षकोष स्थापना गरिएको वडाध्यक्ष चौहानले बताउनुभयो । भारतीय सेनाका पेन्सनरसमेत रहनुभएका वडाध्यक्ष चौहान २१ वर्षको उमेरमा दुर्घटनामा परेपछि पेन्सनमा घर आउनुभएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here