भद्रपुर।

भारतीय सीमावर्ती नाकासँग जोडिएको झापा जिल्लामा दशक अघिदेखिको रैथाने जङ्गली हात्ती र मानवबीचको द्वन्द्व जस्ताको तस्तै छ । जङ्गली हात्ती र मानव द्वन्द्वका बीच अहिले विद्युतीय धराप ‘काल’ बनेको छ ।
विद्युतीय धरापले जङ्गली हात्ती र मानव दुवैलाई क्षति भइरहेको छ । जङ्गली हात्तीबाट जोगिन मान्छेले बिजुलीको करेन्ट लगाएर थापेको धरापमा परी जङ्गली हात्ती र मानव दुवैले ज्यान गुमाइरहेका छन् । कानूनले वन तथा घर वरिपरि विद्युतीय धराप राख्न बन्देज लगाएको छ । तर, कानून विपरीत डिभिजन वन, प्रहरी, प्रशासन र विद्युतीय प्राधिकरणको स्वीकृत बिना हात्ती प्रभावित क्षेत्रमा विद्युतीय धराप लगाइएको छ । त्यसलाई हटाउन जिल्लाका सम्बन्धित निकायले खासै चासो देखाएको छैन ।
घटना १ : २०७६ साल साउन ३१ गते जङ्गली हात्ती नियन्त्रण गर्न घरमा लगाइएको विद्युतीय धरापमा परी मेचीनगर नगरपालिका–९स्थित माथिल्लो मागुरमाडी बस्ने ६० वर्षीय वृद्ध गङ्गा थपलियाले अकालमै ज्यान गुमाउनु प¥यो । आफ्नै घरको पछाडिको खेतबारीमा जङ्गली हात्ती नियन्त्रणका लागि लगाइएको बिजुलीको तारमा वृद्ध थपलियालाई करेन्ट लागेको थियो । करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । सो क्षेत्रमा जङ्गली हात्तीबाट बच्न अधिकांश घरमा विद्युतीय धराप लगाइएको स्थानीय बताउँछन् । घर वरिपरि करेन्ट लगाउन कसैले पनि कानूनी स्वीकृति भने लिएको छैन ।
घटना २ : २०७६ साल असार १४ गते झापाको हल्दिवारी–३स्थित रनकाली सामुदायिक वनभित्र छावा जङ्गली हात्तीको करेन्ट लागेर मृत्यु भयो । करिब तीन वर्षको छावा मत्ता हात्तीको आफ्नो सुँडले करेन्ट प्रवाह भएको अर्थिङको तार छोएपछि मृत्यु भएको थियो । हुलाकी राजमार्गसँगै जोडिएको साबिक जलथल–१ पर्ने रनकाली सामुदायिक वन उपभोक्ता समूहले जङ्गल नजिकैको बस्तीमा दिनहुँ रैथाने जङ्गली हात्ती निस्किन थालेपछि त्यसबाट बच्न वन वरिपरि बिगत ८ वर्षदेखि विद्युतीय तरबारको रूपमा अर्थिङ करेन्ट लगाउँदै आइरहेको समूहका सदस्य योगेन्द्र लिम्बूले जानकारी दिए । ‘करेन्ट लगाउँदा जङ्गल नजिकैको बस्ती सुरक्षित छ’– उनले भने– ‘त्यही भएर वनमा साँझ परेपछि करेन्ट लगाउँदै आएका छांै ।’ तर, रनकाली सामुदायिक वनले विद्युतीय धराप लगाउन कानूनी रूपमा अनुमति भने लिएको छैन । अहिले पनि वनमा विद्युतीय धराप लगाएको स्थानीय बताउँछन् । त्यस क्षेत्रमा रहेका अधिकांश वनमा विद्युतीय धराप लगाइएको छ ।
घटना ३ : २०७५ साल कात्तिक ९ गते जङ्गली हात्तीबाट आतंकित भएपछि श्रीमानले थापेको विद्युतीय धरापमा परी श्रीमतीको ज्यान गयो । अर्जुनधारा नगरपालिका–४स्थित दहीझोडाकी २५ वर्षीया अनु लिम्बूको विद्युतीय धरापमा परी ज्यान गएको हो । उनलाई उद्धार गर्न जाने अर्की एक महिला समेत घाइते भएकी थिइन् ।
श्रीमान् भक्तबहादुर सेर्मा (लिम्बू) ले आफ्नै घरवरिपरि विद्युतीय धराप थापेका थिए । घरबाट बाहिर नस्किएकी उनकी श्रीमती अनुले सोही धरापमा परी अकालमै ज्यान गुमाउनु प¥यो । मृतककी बहिनी सुस्मिता लिम्बू पनि करेन्ट लागेर घाइते भइन् । अहिले उनको स्वास्थ्यमा सुधार आएको प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटना ४ : २०७५ भदौ ६ गते झापाको उत्तर पर्ने मेचीनगर–३ स्थित धरधरे बस्ने ५८ वर्षीय डिल्ले गहतराजको विद्युतीय धरापमा परी ज्यान गयो । बाहुनडाँगीमा जङ्गली हात्ती निस्किएपछि हात्ती धपाउन जाँदा उनलाई करेन्ट लागेको थियो । हात्ती नियन्त्रणका लागि थापिएको विद्युतीय धरापमा उनी परेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटना ५ : २०७४ साल असोज ९ गते हात्ती नियन्त्रणका लागि विद्युतीय धरापमा परी भद्रपुर नगरपालिका –१० बस्ने ७१ वर्षीय डम्बरबहादुर लिम्बूको ज्यान गयो । जङ्गली हात्ती रोक्न घर वरिपरि लगाइएको बिजुलीका तारबाट करेन्ट लागेर घाइते भएका लिम्बूको उपचारका लागि मेची अञ्चल अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । गाउँमा राति हात्ती आएपछि उनी हात्ती खेदाउन बाहिर निस्किँदा करेन्ट लागेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटना ६ : २०७४ साल चैत १७ गते घरमै लगाइएको बिद्युतीय धरापमा परी हल्दिबारी गाउँपालिका–३ बस्ने ६० बर्षीया छविमाया खड्काको ज्यान गयो । जङ्गली हात्ती रोक्न घर वरिपरि बिछ्याइएको करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको थियो । घर नजिकै मकै गोड्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटना ७ : २०७२ साल असोज १४ गते जङ्गली हात्ती धपाउने क्रममा करेन्ट लाग्दा बाह्रदशी गाउँपालिका साबिक राजगढ–३ बुट्टावारी बस्ने ५७ वर्षीय कृष्ण नेम्बाङको मृत्यु भयो । गाउँमा जङ्गली हात्ती पसेको थाहा पाएपछि नेम्बाङ हात्ती धपाउनका लागि विद्युतीय साइरन बजाउने क्रममा करेन्ट लागेर घाइते भएका थिए । घाइते नेम्बाङको मनमोहन अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटना ८ : २०७० असार २१ गते जङ्गली हात्तीबाट आतङ्कित स्थानीयले आफ्नो र खेतबारीको सुरक्षाका लागि थापेको विद्युतीय धरापमा परी जङ्गली हात्तीको मृत्यु भयो । झापा र इलाम सीमामा पर्ने इरौटार–८ बस्ने टीकाराम रिजालको घर नजिकै खेतमा ढोई (पोथी) हात्ती करेन्ट लागेर मरेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । भारतबाट आउने हात्ती र रैथाने हात्तीबाट बच्न स्थानीयले सो क्षेत्रमा विद्युतीय धराप थाप्दै आइरहेका थिए ।

विद्युतीय धराप लगाउन पाइदैनः वन प्रमुख घिमिरे
जङ्गली हात्तीबाट बच्न विद्युतीय धराप लगाउन नपाइने डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए ।
वनको नियमावली तथा ऐनमा हात्ती नियन्त्रणको नाममा बिजुलीको तार लगाएर करेन्ट प्रवाह गर्ने कानूनी अधिकार कसैलाई नरहेको प्रष्ट्याउँदै वन प्रमुख घिमिरेले भने– ‘विद्युतीय धराप नथाप्न सामुदायिक वन र त्यस आसपास क्षेत्रका बासिन्दालाई जानकारी गराउँदा पनि उनीहरूले कानूनलाई हातमा लिएर विद्युतीय धराप थापिरहेको सूचना पाएका छौं ।’
‘यस विषयमा प्रमुख जिल्ला अधिकारीसहित कार्यालय प्रमुखहरूको मासिक बैठकमा समेत कुरा राखिसकेका छौ’– उनले भने– ‘यस विषयमा फेरि बैठकमा कुरा उठाएर नियन्त्रण गरेरै छाड्ने छौ ।’ ‘विद्युतीय धराप मानव र जङ्गली हात्ती दुवैको लागि ‘काल’ हो’– उनले भने– ‘प्रहरी र विद्युत प्राधिकरणका कर्मचारीलाई नियन्त्रण गर्न डिभिजन वनले पत्राचार गरिसकेको छ, सम्बन्धित निकायले नै चासो नदेखाएपछि कसरी नियन्त्रण हुन्छ ?’ ‘अहिले हात्ती नियन्त्रणका लागि जलथलमा सौर्य विद्युतीय तारबार जडान कार्य भइरहेको छ, त्यो सञ्चालनमा आएपछि वनमा लगाइएको विद्युतीय धराप हटाइने योजना नै हो’– उनले भने ।
यस्तो छ जिल्लामा मानव र हात्तीबीचको द्वन्द्व र क्षति
२०६७ सालदेखि अहिलेसम्म जिल्लामा छावासहित ११ वटा जङ्गली हात्ती र ३९ जना मानिसको मृत्यु भइसकेको डिभिजन वन कार्यालय झापाका प्रमुख घिमिरेले जानकारी दिए । वनको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०६८÷०६९ मा जङ्गली हात्तीको आक्रमणबाट जिल्लामा ९ जनाको मृत्यु भएको छ भने ४ जना सामान्य घाइते, १० जना सख्त घाइते भएका थिए ।
त्यसबर्ष सरकारले जिल्लामा १८ लाख ३० हजार १६० रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराएको थियो । आर्थिक वर्ष २०६९÷०७०मा हात्तीको आक्रमणबाट ८ जनाको मृत्यु भयो भने ५ जना सख्त घाइते, १४ जनाको घरगोठमा क्षति, ३३ जनाको घर गोठ अन्नबालीमा क्षति भएको थियो । त्यसबापत २५ लाख ४ हजार २ सय २२ रुपैयाँ क्षतिपूर्ति दिइएको छ । त्यस्तै आर्थिक वर्ष २०७०÷०७१मा हात्तीको आक्रमणबाट ३ जनाको मृत्यु भएको छ, भने २ जना सामान्य घाइते, एक जना सख्त घाइते, चौपाया क्षति एक, २ जनाको घरगोठमा क्षति, ४८ जनाको घर गोठ अन्नबालीमा क्षति भएको थियो । त्यसबापत १८ लाख ५३ हजार ७ सय रुपैयाँ क्षतिपूर्ति दिइएको छ ।
आर्थिक वर्ष २०७१÷०७२ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ, भने सख्त घाइते ६ जना, १३ जनाको घरगोठमा क्षति, २६४ जनाको घर गोठ, भण्डारण अन्न तथा अन्नबालीमा क्षति भएको थियो । त्यसबापत ३७ लाख ४ हजार ९ सय २७ रुपैयाँ क्षतिपूर्ति दिइएको छ ।
त्यसैगरी आर्थिक वर्ष २०७२÷०७३ मा हात्तीको आक्रमणबाट ४ जनाको मृत्यु भएको छ, भने एक जना सख्त र एक जना सामान्य घाइते, १७ जनाको घरगोठमा क्षति, ८९४ जनाको घर गोठ, भण्डारण अन्न तथा अन्नबालीमा क्षति भएको थियो । त्यसबापत ९५ लाख ९६ हजार २ सय १० रुपैयाँ क्षतिपूर्ति दिइएको छ ।
आर्थिक वर्ष २०७३÷०७४मा हात्तीको आक्रमणबाट ५ जनाको मृत्यु भएको छ, भने सख्त घाइते ८ जना, सामान्य घाइते २ जना, ८ जनाको घरगोठमा क्षति, ४९ जनाको घर गोठ, भण्डारण अन्न तथा अन्नबालीमा क्षति भएको थियो । त्यसबापत ३९ लाख ९४ हजार २ सय ५ रुपैयाँ क्षतिपूर्ति दिइएको छ ।
त्यस्तै आर्थिक वर्ष २०७४/७५ मा हात्तीको आक्रमणबाट ५ जनाको मृत्यु भएको छ, भने सख्त घाइते ४ जना, सामान्य घाइते ३ जना, १० जनाको चौयापा क्षति, ८० जनाको घरगोठमा क्षति, १६७ जनाको घर गोठ, भण्डारण अन्न तथा अन्नबालीमा क्षति भएको थियो । त्यसबापत ८० लाख ८९ हजार १ सय ९० रुपैयाँ क्षतिपूर्ति दिइएको छ ।
आर्थिक वर्ष २०७५÷०७६ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ, भने सख्त घाइते २ जना, एक जनाको चौपाया क्षति, १४ जनाको घरगोठमा क्षति, ५२९ जनाको घर गोठ, भण्डारण अन्न तथा अन्नबालीमा क्षति भएको थियो । त्यसबापत ६५ लाख १४ हजार २ सय १३ रुपैयाँ क्षतिपूर्ति दिइएको डिभिजन वन कार्यालय झापाका अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिए ।
हात्तीको उपद्रो रोक्न सौर्य विद्युतीय तारबार
प्रकृति संरक्षण कोषका वरिष्ठ संरक्षण अधिकृत डा. मनिषराज पाण्डेका अनुसार मानव र जङ्गली हात्तीबीचको द्वन्द्व रोक्न सौर्य विद्युतीय तारबार प्रभावकारी उपाय भएको बताए । केही वर्षअघि पूर्वी नाका काँकरभिट्टादेखि बाहुनडाँगीसम्म जडान गरिएको सौर्य विद्युतीय तारबारका कारण भारतबाट प्रवेश गर्ने हात्ती नियन्त्रण भएको छ । झापामा रहेका एक दर्जन रैथाने हात्ती नियन्त्रणका लागि भने दक्षिणी झापाको जलथलको जङ्गलमा सौर्य विद्युतीय तारबार जडानको काम धमाधम भइरहेको छ ।
गतआर्थिक वर्ष २०७५÷०७६देखि शुरु भएको विद्युतीय तारबारको काम ललितपुरको न्यू क्रिएशन इम्पेक्स प्रालिले ४ करोड ७४ लाख रुपैयाँमा ठेक्का लिएको छ । न्यू क्रिएशन इम्पेक्सले भारतको फेन्ज गार्ड नामक कम्पनीसँगको सहकार्यमा गत असारको दोस्रो साताबाट तारबारको काम शुरु गरेको हो ।
तारबार जडानका लागि निर्माण कम्पनीले भारतबाट ४ जना प्राविधिक ल्याएको छ । ‘जङ्गल वरिपरि धमाधम सोलार फेन्सिङ लगाइँदैछ’– न्यु क्रिएशन इम्पेक्सका निर्देशक विजय श्रेष्ठले भने– ‘४५ देखि ६० डिग्रीमा ढल्काएर हामी तारबार राख्छौँ ।’ जङ्गल वरिपरि ४० किलोमिटर तारबार जडान गरिँदैछ, त्यसमध्ये २५ किलोमिटर तारबारको काम सकिसकेको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताए ।
आवतजावत गर्नका लागि विभिन्न स्थानमा ३० वटा गेटसमेत बनाइनेछ । ६ फिट अग्लो पिलरमा ३ वटा तार जडान गरिन्छ । १५ मिटरको फरकमा पिलर राखिनेछ । सौर्य विद्युतीय तारबारले मान्छेलाई करेन्ट नलाग्ने तर हात्तीलाई भने २ मिटर पर नै झड्का दिने बताइएको छ ।
३ वटा तारमा ८ हजार भोल्टेज करेन्ट प्रवाह हुन्छ । जलथल जङ्गल जैविक विविधताका हिसाबले दक्षिण एशियाकै उत्कृष्ट जङ्गलमा पर्छ । ६ हजार तीन सय हेक्टर क्षेत्रफलमा फैलिएको जङ्गललाई २२ वटा सामुदायिक वन उपभोक्ता समूहको जिम्मामा दिइएको छ ।






























