गल्ती गर्ने :पछुताउने

0
516

चिन्तामणि दाहाल,

शीर्षकको पुष्टयाइँ : 
नेपाली समाजमा उखान छ– पहिले गल्ती गरिस् अहिले पछुताएर के हुन्छ ? अर्थात् गल्ती गर्नेपछि पछुताउने । पहिले नसोच्ने, सनकका भरमा वा लहरमा दौडने, लहडमा हिँड्ने, जमिनी यथार्थतालाई नपत्याउने, अरुले फुक्र्याएको भरमा काम गर्ने, विश्लेषण नगर्ने, विश्लेषक वा सुझाव दिनेलाई शत्रु ठान्ने अनि आफ्नो फाइदा थाह नपाउने, अरुको फाइदालाई आप्mनै भनेर ठान्ने अनि जब यी सबै कुरा गलत रहेछन् भनेर पछि बुझेपछि पछुताउने चरित्रलाई एक अर्थमा नेपाली चरित्र पनि भनिन्छ ।

भनिन्छ, नेपालीहरुको बुद्धि… पछाडि हुन्छ । यही पछाडि बुद्धि भएपछि पहिला गल्ती हुन्छ । जब थाह पाइन्छ, तब पछुताउनु बाहेक अरु विकल्प पाउन मुश्किल हुन्छ ।

मिल्दो अवस्था :

गल्ती गर्ने अनि पछुताउने चरित्र भएको राजनीतिक वस्तु अहिलेको नेपाली कांग्रेस भएको छ । नेपाली कांग्रेसले इतिहासमा धेरै राम्रा काम गरेको छ । जहानियाँ निरंकुश शासनको पञ्जाबाट नेपाली जनतालाई निकाल्ने कामदेखि नेपाली जनतालाई खुल्ला समाजमा विचरण गर्ने अवसर पनि कांग्रेसकै आन्दोलनका कारण सम्भव भयो ।

हरण भइसकेको बहुदलीय प्रजातन्त्रको पुनस्र्थापनादेखि ज्ञानेन्द्रको बन्दुक र माओवादीको बन्दुकको बीचमा बसेर लोकतान्त्रिक गणतन्त्र ल्याउने नेतृत्व पनि कांग्रेसले नै गरेको छ । तर, यी सबै उपलब्धिपूर्ण काम गर्दा गर्दै पनि उसले गरेको महान गल्ती भने एउटै भयोः त्यो हो नेपाललाई हिन्दू राष्ट्र बनाउनुको बदला धर्मनिरपेक्ष घोषणा गर्नु र गराउन पूर्ण समर्थन गर्नु ।

यही गल्तीप्रति अहिले कांग्रेसीहरुले पछुतो गर्न थालेका छन् । धर्म निरपेक्ष घोषणा भएको सुरुका केही बर्ष कांग्रेसकै एक प्रभावशाली नेता खुमबहादुर खड्काले नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छ भनी ठूलै कसरत गरे । उनी जीवन पर्यन्त त्यस सिद्धान्तमा अटल रहे । तर पार लागेन ।

त्यसपछि कांग्रेसको महामन्त्रीमा निर्वाचित भएका डा.शशांक कोइरालाले अधिकांश जनता हिन्दू भएको देशलाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्छ भनेर देशभरीकै आफ्नो कार्यक्रममा भनिरहेका छन् । उनको यस भनाईले भर्खर कांग्रेसको बैठकमा अनौपचारिक प्रवेश पाएको छ । कांग्रेसका केही सदस्यहरुले अहिले जारी बैठकमा छलफलका लागि हिन्दू राष्ट्रको कुरा उठाएका छन् । उनीहरुले अब कांग्रेसले आगामी महाधिवेशनमा हिन्दू राष्ट्रको प्रस्ताव पारित गरेर अघि बढ्नुपर्छ भन्न थालेका छन् ।

कांग्रेसभित्र उठेको यस्तो छलफललाई मुलुकभरका र मुलुक बाहिरका नेपाली हिन्दूहरु र अन्य हिन्दूहरुले पनि खुशी साथ समर्थन गरेका छन् । पहिले कांग्रेसले गल्ती गर्दा देश धर्म निरपेक्ष भएको ठान्नेहरुको ठूलै जमात नेपालभित्र र बाहिर पनि छ । त्यसै पनि नेपालमा ८० प्रतिशतभन्दा बढी हिन्दू र ओमकार परिवारभित्र पर्नेहरु छन् । यी सबै जोड्दा हिन्दू राष्ट्रको पक्षमा रहनेको संख्या ९० प्रतिशतको हाराहारीमा पुग्छ ।

यस्तो प्रचण्ड बहुमत भएको विषयलाई सहजै पन्छाएर कसरी नेपालको संविधानमा धर्म निरपेक्ष लेखियो भन्ने कुरामा ठूलो षडयन्त्र छ । यो षडयन्त्रको शिकार अरु पार्टीका कसरी भए थाहा भएन । तर, कांग्रेस जस्तो अनुभवी नेताहरु भएको पार्टीका नेताहरु कसरी धर्म निरपेक्षका पक्षमा गए भन्ने कुरा रहस्य नै रहेको छ । किन नेपाली कांग्रेसले हिन्दू राष्ट्रको विषयलाई जनमत संग्रहमा लानु पर्छ भनेन ।

कतै हिन्दू राष्ट्रलाई अघि बढाउँदा राजतन्त्र अघि आउँछ भनेर त बारम्बार काँधमा बोकेकै राजाहरुबाट पीडित भएका कांग्रेसका नेताहरु सशंकित त भएका होइनन् । यस कुराले कांग्रेसहरु डराएर हिन्दू राष्ट्रलाई समर्थन नगरेको हुन सक्ने प्रबल सम्भावना छ ।

गल्ती सुध्रेला ?

गल्तीलाई सुधार्नै नसकिने होइन । सुधार्न सकिन्छ । तर, सहज छैन । कांग्रेसको मन भने फराकिलो हुनुपर्छ । राजतन्त्र पुनस्र्थापना गर्ने कुरा भने कांग्रेसका लागि सह्य छैन । तर, हिन्दू राष्ट्र बनाउन जनमत संग्रहमा जानुपर्छ भन्ने एजेण्डा बोकेर कांग्रेस जान सक्छ र जानुपर्छ ।

पहिले गल्ती गरेर अहिले पछुताउन शुरु गरेको कांग्रेस एक्लैले मात्रै यो एजेण्डालाई अघि बढाएर पार लाग्ने अवस्था छैन । किनकि हिन्दू राष्ट्र हुनुपर्छ भन्ने पक्षमा अहिलेको नेकपाका केही नेता र थुप्रै समर्थक छन् । राप्रपा र राप्रपा संयुक्तको त एउटा एजेण्डा नै हिन्दू राष्ट्र हो । कांग्रेसका अधिकांश सदस्य र थुप्रै समर्थक हिन्दू राष्ट्रका पक्षमा छन् । राजपाका, संघीय समाजवादीका र अन्य केही दलहरुका समेत हिन्दू राष्ट्रका पक्षमा छन् ।

यी सबै अवस्था विश्लेषण गर्दा यदि कांग्रेसले महाधिवेशनबाट हिन्दू राष्ट्रको एजेण्डा पारित गरेर अरुलाई यो एजेण्डामा गोलबद्ध गर्ने हो भने सरकारलाई जनमत संग्रह घोषणा गर्न कर लाग्छ । जनमत संग्रहमा सहजै हिन्दू पक्षले विजय प्राप्त गर्छ । तब यही एजेण्डाका आधारमा आगामी आम निर्वाचनमा नेपाली कांग्रेस गठबन्धनले बहुमत पाउँछ । नत्र कांग्रेसको एजेण्डा नै छैन । नेकपा असफल भयो भन्ने एजेण्डाले कांग्रेस अघि आउँछ भन्ने होइन । अरु नयाँ दलअघि आउन सक्छन् । आम निर्वाचन एजेण्डाविहिन भएर जितिँदैन । न एक्लैले जितिन्छ ।

जनमत संग्रहमा हिन्दू राष्ट्रको पक्ष विजयी भएपछि त्यसै आधारमा संविधानमा संशोधन गरी नेपाल हिन्दू राष्ट्र हुनेछ । त्यसको अर्थ अरु धर्माबलम्बीहरुले दुःख पाउँछन् भन्ने होइन । नेपाल पूर्ण धार्मिक स्वतन्त्रता भएको हिन्दू राष्ट्र हुनेछ, हुनुपर्छ । यस कामलाई भारतको सत्ताधारी दल भाजपाले खुशीसाथ समर्थन गर्छ । नेपाललाई समस्या पर्दैन । यसै पनि चिनले नेपाली जनताको अभिमतलाई पहिलेदेखि नै बिना प्रश्न समर्थन गर्दै आएको छ ।

केही असन्तुष्ट हुने भनेका युरोपेली युनियनका राष्ट्रहरु हुन् । उनीहरुले चलाएका केही आइ.एन.जि.ओ.हरुले केही समय हंगामा गराउन सक्छन् । तर, उनीहरुको यस्तो कुत्सित प्रयास सफल हुँदैन । पछुताएर मात्र हुँदैन । पछुताएपछि त्यसलाई सुधारेर अघि जाने डायनामिक नेतृत्व पनि अघि आउनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here