पौडेलको उदाहरणीय कार्य


२३ भाद्र २०७६, सोमबार ०७:१२ मा प्रकासित

ठूल्ठूला घरका बाहिर ‘कुकुरदेखि सावधान’ लेखिएको बोर्ड झुण्ड्याएको हिजो आज सामान्य जस्तै भएको छ । त्यो लेखाइले यस्तो देखाउँछ कि घरमा मानिस बस्दैनन् । यसलाई पशुअधिकारकर्मीले कसरी अर्थ लगाउँछन् को नि, तर त्यहाँ पनि पशु अधिकारलाई सुरक्षित र संरक्षण गरेको मान्न सकिन्छ । वैदिक सनातन धर्मले मानिसमात्र होइन संसारका सबै प्राणी चाहे घरेलु हुन् वा जंगली तिनको अस्तित्वको रक्षा गर्न सिकाएको छ । आधुनिक वातावरण विज्ञानले पनि सबै जीवजन्तु, चराचुरुंगी र किटपतंगको सन्तुलित अवस्थाले मात्र मानव जाति लगायत पृथ्वीको जीवन सुरक्षित हुने उल्लेख गरेको छ । त्यसकारण धार्मिक, वैज्ञानिक, वातावरणीय तथा सामाजिक अवस्थाका कारण पनि सम्पूर्ण प्राणीहरुसँगको पारस्परिक निर्भरता कायम रहनु पर्दछ ।

Advertisement

भनिन्छ– ‘ढुंगाको भर माटो, माटोको भर ढुंगा’ अर्थात् विश्वका सम्पूर्ण वस्तु अन्तरनिर्भर छन् । यस मानेमा वस्तु अर्थात् प्राणीसहितको उपस्थिति हाम्रा लागि झनै महत्वको छ मात्र होइन अपरिहार्य नै छ । प्रकृति पुजक नेपाली त्यही आदर्शबाट अनुप्राणित छन् गाई, कुकुर, काग जस्ता जीवहरुको पूजा गर्छन् र तिनकै आधारमा आफ्नो जीवन र कर्मलाई सुरक्षित गर्छन् । तर, हिजोआज सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरुमा यस विपरीतका विषय, घटना र समाचारहरु सम्प्रेषित भइरहेका छन् । अर्थात् लुकिछिपी यदाकदा कानूनद्वारा वर्जित जीवहरुको निर्मम हत्या गरिएका समाचारहरु प्रकाशित भइरहेका छन् । पछिल्लो समय नेपालगञ्जबाट दैलेख लाँदै गरेको भनिएका गाईगोरुको सामुहिक हत्या गरेको समाचार आयो ।

गौहत्या कानूनद्वारा वर्जित अपराध हो । संविधानले नै राष्ट्रिय जनावरको सूचीमा राखेको गोवंशको क्रुरतापूर्वक गरिएको हत्याले देशमै तरंग ल्यायो । घटनाको छानविन गर्न समिति बनाइए । तिनले के प्रतिवेदन बुझाउने छन् परिणाम सुन्न पर्खनै पर्छ । त्यही समय खुल्ला कुकुरलाई निर्ममतापूर्वक मारिएको सामािजक सञ्जालमा छरपस्ट भयो । यमराजको वाहन भनिने कुकुर मानव जातिका रक्षक हुन्, निःशुल्क सेवा गर्ने इमान्दार सिपाही हुन् । तर, कहिलेकाहीँ त्यो मृत्युको कारण पनि बन्ने गर्छ । त्यसैले त्यसको जोखिमबाट जोगाउन रेविजविरुद्धको भ्याक्सिन दिएर संख्या नियोजित गर्न बन्ध्याकरण गरेर छाडा कुकुरको उपचार गरिन्छ । तर, यी सबै अवस्था र उपायभन्दा बेग्लै निर्ममतापूर्वक हत्या गरिनु संवेदना र मानवीयता शून्यकै अवस्था हो ।

यस्ता घटनाहरुले चर्चा पाइरहेका बेला बिर्तामोड–४ कि एक महिलाले विगत पन्ध्र वर्षदेखि छाडा कुकुरहरुलाई बिहान–बेलुका खाना खुवाइरहेको समाचार प्रकाशित भएको छ । भद्रपुररोड निवासी पुष्पा पौडेलले आफ्नो घर गल्लीमा रहेका दर्जनभन्दा बढी कुकुरलाई नियमित रुपले खाना खुवाइरहेकी छन् । यसले उनको निष्काम कर्मको उदाहरण मात्र दिएको छैन प्रत्येक मानिसमा निःस्वार्थ सेवाको भावना हुनुपर्छ भन्ने सिकाएको पनि छ ।

सनातनी संस्कृतिले सिकाएको कुरा पनि त्यही हो कि जुन कामले प्राणी मात्रको रक्षा गर्न सक्छ त्यही नै परोपकार हो र धर्म पनि । उनको सेवा घर बाहिर बोर्ड झुण्ड्याएर गरेको भन्दा कैयौं गुना उच्च छ, स्तुत्य र उदाहरणीय छ । पौडेलको यो सेवाले मानवीयता, संवेदना, धर्म र उपकारी भावना जीवित छ भन्ने देखाएको छ । सबैमा यस्तो भावनाको सञ्चार हुन सक्यो भने मानिसको श्रेष्ठता जोगिन सक्छ ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्