वीपीको प्रजातान्त्रिक समाजवाद र नेपाली कांग्रेस

२३ भाद्र २०७६, सोमबार मा प्रकाशित

तीर्थराज खरेल, 

वीपी कोइरालाको जन्म १९७१ साल भदौ २४ गते भएको थियो । उनी नेपालको प्रजातान्त्रिक तथा समाजवादी आन्दोलनका एकजना विशिष्ट धरोहर हुन् । नेपालमा प्रजातान्त्रिक चेतनाको विजारोपण, त्यसको विस्तार र प्रजातान्त्रिक समाजको आधारशीला निर्माणमा उनले ज्यादै महत्वपूर्ण भूमिका खेलेका छन् ।

साहित्यमा समेत गहिरो दख्खल राख्ने र नेपाली साहित्य भण्डारमा उत्कृष्ट साहित्यिक सिर्जनाहरू प्रदान गर्ने वीपी कोइरालाको व्यक्तित्व, चिन्तन र क्रियाकलापको गहिरो प्रभाव नेपाली समाज र प्रजातान्त्रिक विश्वमा आजपर्यन्त अनुभूत गर्न सकिन्छ । तीन जना राजाहरु त्रिभुवन, महेन्द्र र वीरेन्द्रको शासन भोगेका र राणा शासक र पञ्चायती शासकहरुबाट जतिसुकै उत्पीडन र कठोर यातना पाउँदा पनि कहिल्यै नझुकेका, आफ्नो सिद्धान्तमा सगरमाथा झैं सदैव अडिग र अटल रहने क्रान्तिद्रष्टा, राष्ट्रवादी, राष्ट्रियता र प्रजातन्त्रप्रति सदैव आस्थावान रहेका वीपी कोइरालाले जीवनभर संघर्ष, आन्दोलन र द्वन्द्वबाट गुज्रिएर स्थापित गरेको बाटो वास्तवमा प्रजातान्त्रिक समाजवादको बाटो हो ।

पूँजीवादी राज्य व्यवस्थाका कडा आलोचक वीपी पूँजीवादी व्यवस्थालाई तीव्र उपभोक्तावादी, अनैतिक, अदूरदर्शी, क्रुर र शोषणमा आधारित मान्थे । कांग्रेस सामन्तवाद, पूँजीवाद र साम्यवादको पक्षपाती नभएर प्रजातान्त्रिक समाजवादी हो भन्ने उनको मत थियो । आर्थिक समानतासहितको लोकतान्त्रिक व्यवस्था मुलुकको खाँचो हो भन्नेमा वीपी स्पष्ट थिए । तर, आज कांग्रेस समाजवादी बाटो त्यागेर नाङ्गो रुपमा पूँजीवादको पक्षपोषण गरिरहेछ । प्रजातन्त्र र राष्ट्रियताका लागि लडेका कोइराला राजनीतिमा समाजवादी र व्यवहारवादी थिए । वीपीको बाटोमा कांग्रेस चलिरहेको छ कि छैन भनेर प्रश्न गर्न पनि अफ्ठ्यारो छ । दुःखको कुरा नेपाली कांग्रेसको नेतृत्व खुला, उदार र लचिलो हुनुको सट्टा अरुको आंंगको जुम्रा खोज्नमा दिलचस्पी राख्छ ।

जीवनभर देश र जनताकै लागि संघर्ष गर्दै अटुट रुपमा सत्ताको विपरित धारमा उभिइरहने वीपी निर्भिक नेता थिए । तर, आज कांग्रेसको मानसिकता विपक्षमा रहन अप्ठ्यारो महशुस हुने खालको छ । वीपीले कति लामो समय जेल बसे, तर आज कांग्रेस केही दर्जन महिना सत्ता बाहिर हुँदा छट्पटिरहेको छ । यो विडम्बनापूर्ण छ कि आफ्ना संगठनलाई सुदृढ गर्ने र कार्यकर्तामा ऊर्जा भर्न जनस्तरमा आउन नेकाको नेतृत्व किंकर्तव्यविमुढताको शिकार भएको छ । दुर्भाग्यको कुरा, कांग्रेस नेपाल कम्युनिष्ट पार्टीको सरकारको कमजोरीमा आफ्नो राजनीति हाँक्न खोजिरहेको छ ।

वीपी स्वार्थ र त्रासले अधिनायकवादी शासकहरुको पक्षमा कहिल्यै उभिएनन् । उनले लोकतन्त्रका लागि धेरै पटक आफ्नो जीवनको जोखिम उठाएका थिए । २०१५ सालमा सम्पन्न नेपालको पहिलो आम निर्वाचनबाट प्रधानमन्त्री बनेका वीपीले ग्रामीण अर्थतन्त्रमुखी विकासका कार्यक्रमहरुसहित क्रान्तिकारी बाटोमा अघि बढ्न कोशिस गर्दा र आफ्नो दुई तिहाइ बहुमत भएकाले संसदबाट जनपक्षीय भूमिसुधार कानुन पारित गरेपछि राजा महेन्द्रबाट बहुदलीय लोकतन्त्रको घाँटी निमोठी २०१७ साल पौष १ गते बहुदलीय प्रजातन्त्र खोसी एकदलीय निरंकुशताको वीजारोपण गरी उनलाई जेल हालियो ।

वीपी राजासँग झुकेनन्, बरु उनले एक महान प्रजातन्त्रवादी नेताको रुपमा एकान्त जेल रोजे र लोकतन्त्रको खरानी माथि उभिएको अधिनायकवादको विपक्षमा उनी सदैव खडा भए । आजका नेकाका नेताहरुमा वीपीको जीवनबाट लिने कुनै आदर्शमय जीवनपद्धतिको मार्गदर्शनबारे हृदयतः विश्वास छ ? स्थानीय, प्रादेशिक र संघीय तहका निर्वाचनमा भएको पराजयको जिम्मा पार्टी नेतृत्वले नलिनुभन्दा आश्चर्यजनकशैली संसारका कुनै लोकतान्त्रिक मुलुकमा पाइन्छ ?

हो, वीपी कोइरालामा साम्यवादीहरुप्रति विश्वास थिएन र उनी कार्ल माक्र्सले प्रतिपादन गरेको वैज्ञानिक समाजवादका पक्षपाती थिएनन् । तर, उनी लोकतन्त्रवादी र राष्ट्रवादी निश्चय नै थिए । इन्दिरा गान्धीले भारतमा बसेर नेपाल सरकारविरुद्ध काम कारवाही गर्न नदिएपछि आफू र आफ्ना साथीहरु पुराणमा वर्णित दैत्य र गहिरो समुद्रको वीचमा परेको महसुस गरी राक्षसको मुखमा परेर मर्नुभन्दा गहिरो सागररुपी आफ्नै मातृभूमिमा अधिनायकवादी शासकहरुको पञ्जामा परेर मर्नु निको सम्झेर २०३३ साल पुष १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्के । स्वदेश फर्कंदा वीपीले देश संकटमा परेको र संकट चर्किदै गएर राष्ट्रिय अस्तित्व खतरामा परेको बताएका थिए ।

विदेशी तत्वहरु कुचक्र चलाएर नेपाललाई अन्तर्राष्ट्रिय षडयन्त्रको अखडा बनाउन चाहन्छन् र देशमा स्वार्थ परायणता, साम्प्रदायिकता, व्यक्तिवादी मनोवृत्ति र विदेशपट्टि आमुख हुने प्रवृत्तिको बोलबाला भएको विचार राख्ने वीपीको राष्ट्रियता र प्रजातन्त्र दुबैलाई सँगै लैजानु पर्ने मत यतिका वर्षपछि पनि व्यवहारमा सही भएको हामी देख्न सक्छौं । उनले भने झैं देशमा स्वार्थ परायणता, साम्प्रदायिकता, व्यक्तिवादी मनोवृत्तिको बढोत्तरी भएको छ भने प्रायः सबै राजनीतिक शक्तिहरु कुनै न कुनै रुपमा विदेशी शक्तिबाट प्रभावित छन् । मेलमिलाप नीति लिई नेपाल फर्के पछि पञ्चायती शासकहरुले दर्जनौं मुद्दाहरु लगाएर राजद्रोहको आरोपमा मृत्युदण्ड दिने तयारी गरिँदा पनि वीपी कहिल्यै लत्रेनन् ।

उनलाई आफ्ना नेता मान्ने नेपाली कांग्रेस प्रजातन्त्रका नाममा आज के गर्दैछ ? राष्ट्रिय एकता र मेलमिलापको नीतिबाट निर्देशित भएको मान्ने कांग्रेस अहिले मुलुकमा कसरी क्रियाशील भइरहेको छ ? नेपाली कांग्रेस संघीय, प्रादेशिक र स्थानीय तहका संसदहरुमा झिनो जनसमर्थनसहित उपस्थित हुन बाध्य भएको छ । यद्यपि केन्द्रको चुनावमा लोकप्रिय मतमा नेकपाको मतभन्दा धेरै नै फरक अवस्थामा रहेको छैन । वास्तवमा वीपी कोइरालालाई बिर्सेकै कारणले वा वीपीका आदर्शलाई नपछ्याएकै कारणले इतिहासमै पहिलो पटक जनताकै मतद्वारा पराजित हुनुपरेको हो । दोषी वीपी कोइरालाले प्रतिपादन गरेको सिद्धान्त र विचार होइन । वीपीका विचार, सोच र आदर्शलाई भुलेर कांग्रेस कमजोर बनेको हो । आज नेपाली कांग्रेसले आफूले हिँडेको बाटो निजीकरण र पूँजीवादी बाटो प्रजातान्त्रिक समाजवादी बाटो हो कि, सामन्ती र नाङ्गो पूँजीवादी हो भन्नेमा प्रष्टता आउन जरुरी छ ।

नेपाली कांग्रेसले वीपी कोइरालाले दिशानिर्देश गरेका समाजवादी, जनपक्षीय र जनहितकारी नीति र कार्यक्रमलाई समयसापेक्ष परिभाषित र पुनर्मूल्यांकन गर्न सक्नुपर्छ । कम्युनिष्ट माथि अधिनायकवादी आरोप थोपरेर प्रजातन्त्रको लागि आफू सँगसँगै संघर्ष गर्ने, पटक–पटकका जनान्दोलनमा सरिक हुने, १७ वर्षभन्दा बढी समय जेल बस्ने, तानाशाही व्यवस्थाबाट सबैभन्दा बढी मारिने सहयात्री कम्युनिष्टहरुलाई अधिनायकवादी, तानाशाही, श्रीपेचधारी भनेर जनतामा असन्तोष सृजना गर्न नेपाली कांग्रेसले मिल्दैन । नेपाल कम्युनिष्ट पार्टी लोकतान्त्रिक पार्टी हो । लोकतन्त्रको स्थापना, विकास र मूल प्रवाहीकरणमा कम्युनिष्टहरुको योगदानको हिस्सा छ, तसर्थ नेपाली कांग्रेसले आफूलाई प्रजातन्त्रवादी भन्ने र कम्युनिष्टहरुलाई अधिनायकवादी भनेर आमसञ्चारका माध्यम, सामाजिक सञ्जाल र आफ्ना प्रशिक्षणहरुमा भन्नुको खासै अर्थ छैन । नेपालका मुख्य कम्युनिष्टहरुको धार लोकतान्त्रिक आन्दोलनकै धार हो । अब नेकाले यो प्रचारलाई त्यागेर अझ समुन्नत लोकतन्त्र कसरी बनाउने, आधुनिक युगसापेक्ष नीति तथा कार्यक्रमका बारेमा चिन्तन÷मनन गर्न आवश्यक छ ।

अति–प्रशंसाका माध्यमबाट बीपीलाई पनि अलौकिक व्यक्तित्वका रूपमा महिमामण्डित गरिएको छ र यो काम नेकाले नै गरेको हो । उनका कतिपय अनुयायीहरू उनलाई ‘महामानव’ को विशेषणले प्रशंसित गर्छन् । यो विशेषणभित्र अन्तरनिहित माया, विश्वास र सद्भावलाई बुझ्न सकिन्छ र एक हदसम्म ‘सान्दाइ’ भित्र अन्तरनिहित आफ्नोपनलाई स्वीकार्न सकिन्छ । ठीकै छ, मायाले, सद्भावले र प्रेमले महामानव भन्नु जायज छ, तर उनका आदर्शलाई नलिने, मात्रै उनलाई महामानव भनेर प्रशंसा गरेर के हुन्छ ? नेपाली राजनीतिक इतिहासमा वीपीको ठूलो योगदान छ । उनी राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीति, अर्थशास्त्र, समाजशास्त्र र साहित्यको व्यापक अध्ययन गरेका अध्ययनशील नेता थिए ।

वास्तवमा भन्ने हो भने वीपी कोइरालालाई आफ्नो युग र आफ्नो सन्दर्भका सबैभन्दा अग्ला धरोहरका रूपमा हेर्ने, उनको संघर्ष, शिक्षा र आदर्शलाई देश–काल सापेक्ष राखेर विश्लेषण गर्ने र आजको सन्दर्भमा उनलाई अझ बढी प्रासङ्गिक बनाउने दायित्व कमजोर नहोस् भन्ने कुरामा हेक्का राख्नुपर्छ । अन्यथा, उनलाई आफ्नो समयका सारथिका रूपमा बुझ्न सकिँदैन र नेपाली जनतालाई यस सम्बन्धमा बुझाउन पनि सकिँदैन । हुन त वीपीले आफ्नो जीवन असफल नभएको बताएका छन्, तर उनले आफ्नो सोच, दर्शन र नीतिहरु व्यावहारिक रुपमा लागू गर्ने अवसर नै पाएनन् ।

सारमा भन्ने हो भने वीपी कोइरालाका सोच र विचार आधुनिक नेपाल निर्माणका लागि मार्गदर्शन हुन सक्छन्, तर अहिलेको नेकाको नेतृत्व र कार्यकर्ता पंक्तिले यो सच्चाइलाई ग्रहण गर्ने र आफूलाई बदल्ने, समाज बदल्ने र समाजवादी नेपाल निर्माण गर्ने वीपीको सपना पूरा गर्ने मार्गमा अग्रसर हुन जरुरी छ । वीपी कम्युनिष्टप्रति अनुदार थिए । उनी भन्थे– कम्युनिष्टहरु सदैव रोटीलाई प्राथमिकता दिन्छन् । तर, मानिस त रोटीले मात्र बाँच्न सक्दैन । मानिसलाई त रोटीका साथसाथै स्वतन्त्रता पनि चाहन्छ । उनी पूँजीवादी राज्यव्यवस्थाका पनि कडा आलोचक थिए भन्ने तथ्य राख्दा आजका वीपीका अनुयायी र विरोधीहरु पत्याउँदैनन् ।

पूँजीवादी व्यवस्था तीव्र उपभोक्तावादी हुने भएकाले अनैतिक, अदूरदर्शी, क्रुर र शोषणमा आधारित हुन्छ भन्ने उनको धारणा थियो । उनको भनाइमा नेपाली कांग्रेस सामन्तवाद, पूँजीवाद र साम्यवाद कुनैको पनि पक्षपोषण गर्न सक्दैन, यो त प्रजातान्त्रिक समाजवादबाट निर्देशित हुने राजनीतिक शक्ति हो । समाजवादको भविष्य उज्ज्वल छ भन्नेमा वीपी पूर्णरुपमा विश्वस्त थिए । राष्ट्रप्रति समर्पित रहेर लोकतान्त्रिक व्यवस्थाका पक्षमा चट्टानी दृढतासहित उभिने उनका असल र अनुशरणीय गुणबाट सिक्न सके आजको हाम्रो समाज, मुलुक र हरेक नागरिकको जीवनमा निश्चय नै सकारात्मक परिवर्तन आउने थियो भनी विश्वास गर्न सकिन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here