इलाम।
इलामबाट मेची राजमार्ग हुँदै बिर्तामोड पुग्न ८३ किलोमिटर दूरी पार गर्नुपर्ने हुन्छ । तर, यहाँ हाल निर्माण भइरहेको दु्रत मार्ग सम्पन्न भएपछि ४७ किलोमिटरको यात्रामै बिर्तामोड पुग्न सकिन्छ ।
पहाडी जिल्ला इलाम सुगम जिल्लाकै रुपमा परिचित छ । स्वास्थ्य क्षेत्रमा अत्यन्तै पछाडि परेको इलामबासीलाई द्रुत मार्ग निर्माणले ठूलो आशा जगाइदिएको छ । खाद्यान्न र निर्माण सामग्रीको ढुवानी र स्वास्थ्योपचारका लागि अझै पनि इलामले तराईमाथि भर पर्नु परिरहेको छ । द्रुत मार्गको निर्माणले यस्तो स्थितिको अन्त्य गरिदिने छ । महँगोमा ढुवानी गर्न नपरेपछि सामान सस्तिने इलामका उपभोक्ता तथा व्यापारीहरुको भनाइ छ । इलाम बजारका व्यापारी सुमन सुवेदी ढुवानी भाडामा मात्र होइन समय पनि बचत हुने बताउछन् ।
इलाम बजार मात्र होइन, इलाम–मंगलबारे बजार जोड्ने द्रुत मार्ग निर्माण भइरहेको छ । यहाँबाट हिउँदका दिन सहजरुपमा गाडी वारपार भइरहेका छन् । बर्खायाममा साना गाडी गुड्छन् । मंगलबारे बजारबाट बिर्तामोड पुग्न १२० किलोमिटर पार गर्नुपर्छ । तर, द्रुत मार्गबाट ५३ किलोमिटर दूरीमै बिर्तामोड पुग्न सकिन्छ । राज्य पुनःसंरचनापछि स्थानीय तहबाट नै गाउँ–गाउँमा काम हुन थालेपछि सदरमुकाम समेत रहेको इलाम बजार सुनसान बन्दै गएको धेरैको गुनासो अब भने हट्ने भएको छ । इलाम बजार र मंगलबारेबाट तराई पुग्न अब आधा दूरी घट्ने भएको छ ।
इलाम नगरपालिका–९ को भञ्ज्याङ, राकसे हँुदै बेलासे पुग्ने दश किलोमिटर लामो नयाँ ट्र्याक खुलेसँगै इलाम बजारबाट झापा पुग्न आधा दूरी घट्ने भएको हो । हाल इलामबाट बिर्तामोड पुग्न मेची राजमार्गबाट ८३ किलोमिटर दूरी पार गर्नुपर्छ तर, यो दु्रत मार्ग खुलेपछि ४७ किलोमिटरमै बिर्तामोड पुग्न सकिने भएको छ । मेची राजमार्गबाट बिर्तामोड पुग्न तीन घण्टा समय लाग्नेमा अब आधा कम समयमै बिर्तामोड पुगिने भएपछि स्थानीयवासी खुशी छन् । बिरामी हुँदा पनि चाँडो तराई पुग्न सकिने भएपछि यहाँका स्थानीय बासिन्दामा खुशी छाएको छ ।
त्यस्तै, मंगलबारे बजारबाट गाग्रेभञ्ज्याङ जितपुर, सिद्धिथुम्का, सोयाक हुँदै दानाबारीबाट बिर्तामोड पुग्न सकिन्छ । मंगलबारेबाट मेची राजमार्गको नेपालटार निस्किएर इलाम बजार हुँदै बिर्तामोड पुग्न साढे चार घण्टा समय लाग्ने गरेको छ । तर, निर्माणाधीन दु्रत मार्गबाट दुई घण्टामै बिर्तामोड पुग्न सकिने भएपछि मंगलबारबासी पनि हर्षित छन् ।
इलाम बजारबाट झापा जाने सडकको थालनी भने वि.सं. २०७४ मै भएको थियो । तत्कालीन निर्वाचन पूर्वाधार विकास कार्यक्रम मार्फत प्राप्त रु. १४ लाख ५५ हजार र तत्कालीन जिल्ला विकास समितिबाट प्राप्त रु. दुई लाख ५० हजारले नयाँ ट्रयाक खोल्न शुरु गरिएको बताइएको छ । चालू वर्षमा इलाम नगरपालिकाको १५ लाख र १ नं. प्रदेशबाट पाँच लाखको लागतमा उक्त सडक खण्डको ट्रयाक खुलेको हो । सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष तारादेवी कटुवालले १५ लाखले आठ मिटर चौडा भएको सडक एक हजार सात मिटर कटिङ गरिएको र पाँच लाखले थप सात सय मिटर कटिङ गरिएको जानकारी दिए । उनले घोर्लेभिर भन्ने स्थानसम्म सडक फराकिलो पार्ने काम भए पनि त्यहाँदेखि बेलासेको सोयाक–चिसापानीसम्मको सडक अझै साँघुरो रहेको बताए ।
इलाम भञ्ज्याङबाट नयाँ ट्रयाक खुलेपछि राकसे हँुदै माई नगरपालिकाको दानाबारी र झापाको खुदुनाबारीसम्म यातायात सञ्चालन भएमा भाडासँगै सामग्री ढुवानी र पर्यटन क्षेत्रमा सम्भावनाका थप ढोकाहरु खुल्ने स्थानीयबासीले बताएका छन् । उक्त सडक खुलेसँगै यात्रा छोटिएर श्रम र स्रोत समेत बचत हुनेछ ।
दु्रत मार्गमा पुवाखोला तर्ने पक्की पुल निर्माण र सडक स्तरोन्नति हुन बाँकी रहेकाले हिउँदमा मात्र साना सवारीसाधन चलाउन सकिन्छ । उक्त सडकका लागि हाल रणनीतिक सडक योजना अन्तर्गत एक करोड बजेट छुट्याएको छ । यस रकमबाट सडक डिभिजनले थप काम अगाडि बढाउने इलाम नगरपालिकाका नगर प्रमुख महेश बस्नेतले जानकारी दिए ।
इलामदेखि बिर्तामोड पुग्न सडकका बीचमा विभिन्न खोला तर्नुपर्ने भए पनि केही पुल निर्माण भइसकेका छन् । पुवाखोलामा पुल बन्न बाँकी रहे पनि माई खोलाको बेलासेमा पुल बनिसकेको छ भने लोदिया खोलामा पुल निर्माणको ठेक्का लागिसकेको छ । दानाबारी गरुवा खोलाको पुल निर्माण अन्तिम चरणमा पुगेको छ । त्यस्तै, उक्त सडकमा पर्ने बुढी सुखानी र टाङटीडको पुल बनिसकेको छ ।
मेची राजमार्गबाट झापा जोड्न करिब तीन घण्टाको सडक यात्रा तय गर्नुपर्ने बाध्यता रहेकामा अब भञ्ज्याङ बेलासे दानाबारी सडक स्तरोन्नति भएमा एक घण्टामै झापासम्म सजिलै पुग्न सकिने भएको छ । प्रदेश सरकारले यस सडकलाई पक्की बनाउन काम अगाडि बढाउने बताइएको छ । साँघुरो मेची राजमार्गले हाल इलामसहित ताप्लेजुङ, पाँचथर ते¥हथुम लगायतका जिल्लाहरुमा जाने साना ठूला सवारीको भार थाम्न बाध्य छ । यो सडक निर्माणमा चासो दिए मेची राजमार्गमा पर्दै आएको सवारीको चाप समेत कम हुनेछ । साँघुरो सडक भएकै कारण बढी दुर्घटना र बिरामी हुँदा अस्पताल पुग्न धेरै समय लाग्ने भइरहेको छ ।
यता, मंगलबारे–जितपुर–बिर्तामोड सडकबाट भने दैनिक सवारी सञ्चालन हुन थालेपछि मंगलबारे क्षेत्रका बासिन्दा इलाम बजार नटेकी झापा पुग्न थालेका छन् । यस सडकले ढुवानी खर्च मात्र घटाएको होइन समयको समेत बचत भएको स्थानीयबासी निर्मल आचार्यले बताए । उनले इलाम बजारबाट झापा पुग्नभन्दा दानाबारीबाट झापा झर्दा आधाभन्दा कम दूरी र समय लाग्ने बताउँछन् । मंगलबारेका व्यापारीहरुले पनि यस सडकमार्फत ढुवानी भएका सामानमा एक÷दुई रुपैयाँ सस्तोमा सामान बेच्ने गरेको बताउँदै आएका छन् । सडक कच्ची भए पनि उन्नति परियोजनाले ग्राभेल गरिदिएकाले गाडी गुड्छ । यस सडकको स्तरोन्नति गर्न स्थानीयबासीले माग गर्दै आएका छन् ।
यस सडकलाई देउमाई नगरपालिकाले आफ्नो गौरवको आयोजनाका रुपमा लिएर काम अगाडि बढाइरहेको छ । नगरपालिकाले राँके, तपेवा, सावजुङ हुँदै मंगलबारे बजारबाट दानाबारी र बिर्तामोड सडक अन्तर्गतका नगरभित्रको सडकलाई गौरवको आयोजनाका रुपमा काम अघि बढाउँदै आएको नगरपालिका प्रमुख सूर्य प्रसाद पोख्रेलले बताए । प्रदेश सांसद राम रानाले यस सडकको स्तरोन्नति गर्न संघीय सरकारले काम थालेको बताए । यस सडकलाई पक्की गर्न डिपीआर सर्वे भइसकेको छ ।