‘नखेल्नु जुवा र तास, धनको नाश जीवनको वनबास’ यो भनाइ गीतमा व्यक्त भएको छ । द्वापर युगमा पाण्डव पक्ष जुवामै हारेर वनबास जानु परेको पौराणिक कथाकै आधारमा यो भनाइ गीतमा प्रवेश भएको हो । त्यसो त आज पनि जुवातास खेलेर घरबार उडाउनेहरु यदाकदा भेटिन्छन् तर द्वापर युगमा पाण्डवहरुले ‘दाउ’ मा सबै सम्पत्ति गुमाएर द्रौपदीलाई राखेको जस्तो कथा भने दोहोरिएको छैन । कौरवहरुलाई उनीहरुका मामा सकुनीले कपटपूर्ण खेल खेलेर इमान्दार र सत्यवादी पाण्डव पक्षलाई पराजीत गर्दै वनबास पठाएको घटनाले चेतावनी र शिक्षा दिएको छ । आज आधुनिक सभ्यतासँग जोडेर जुवातास खेल्न क्यासिनो नामको जुवाघर नै बनाइएका छन् जहाँ जुवा खेल राज्यद्वारा कानूनी मान्यता प्रदान गरिन्छ ।
खासगरी दशैं तिहारमा मनोरञ्जनका नाममा जुवातास खेल्ने प्रचलन नेपाली समाजमा छ । त्यही चलनबाट हुर्किदै जाँदा कतिपयका लागि जुवातास अनिवार्य जस्तै हुने गरेको छ। यस्तो प्रवृत्तिले पेशाको रुप लिँदा कतिपयले सडक मै आउनु परेको उदाहरण पनि छन् । यही समय खेलिने जुवातासले घरबारविहीन हुनुपर्ने अवस्थाबाट जोगाउन राज्यले केही कडाइ गर्छ । निर्देशिका जारी गरेर प्रहरी–प्रशासनलाई चलायमान पनि बनाउँछ तर पनि शहर बजारमा जुवातास निर्वाध खेलिन्छ, खेलाइन्छ । यदाकदा पक्राउ परेका समाचार पनि सार्वजनिक हुन्छन् । तर, यो वर्षको तिहारमा भने राजधानी काठमाडौंमा जुवाको खालबाट जुवा खेलिरहेका पच्चीस जना पक्राउ परे भने झण्डै तीन करोड रुपैयाँ बरामद भयो ।
जुवातासलाई नै व्यवसाय बनाउनेहरुको संख्या पनि बढ्दो छ । खेल्ने र नियन्त्रण गर्नेहरुको ‘लुकामारी’ पनि भइरहन्छ । प्रहरीको आँखाबाट जोगिएर र ‘नाकै मुनि’ जुवा खेल्नेहरु गरी दुईथरिका जुवाडेहरुको संगतमा कतिपय नयाँ अनुहारहरु पनि पक्राउ पर्छन् । प्रहरी कारवाहीबाट हतोत्साही नहुने प्रवृत्ति बढ्दै गएको सन्दर्भमा यसलाई पूर्णरुपले नियन्त्रण गर्न गाह्रो होला । पक्राउ परेकाहरु दवाव, प्रभाव र सामथ्र्यको आधारमा छुट्ने गरेका कारण नियन्त्रण गर्न नसकिएको यस्तो खेलले परिवारको विचल्ली र विखण्डन हुने अवस्थाप्रति जिम्मेवारी नियकाले गम्भीर हुनैपर्छ ।
देशका ठूला–साना सबै शहर बजारमा जुवातास नियमितता जस्तै खेलिने गरिएको छ । झापाका शहरी क्षेत्रहरु पनि यस्तो विमारबाट अछुतो छैनन् । प्रहरीको सक्रियता नदेखिँदा यस्तो विकृति मौलाइरहेको छ । जुवामा नगदसँगै घरबारविहीन हुनेक्रम बढ्दैछ । तिहार सकिँदा समेत देउसी जस्तै जुवातासका खेलाडीहरु सम्पत्ति जोड्ने आशामा ‘दाउ’ थापिरहेका छन् । आधुनिकताले ल्याएको यो र यस्ता विकृतिले सभ्य समाज निर्माण हुन सक्दैन । नवयुवा र सन्ततिहरुलाई समेत यस्तो खेलमा लत लगाउन सक्ने भएकाले भावीपुस्ता नै मदिरा, लागूऔषध जस्तै जुवातासका पछि लागे भने हाम्रो भविष्य अन्धकारपूर्ण हुन्छ, बेलैमा सचेत होऔं ।