समाजवादीको सभा

१७ श्रावण २०७०, बिहीबार मा प्रकाशित

भद्रपुर, साउन १७ ।  संघीय समाजवादी पार्टी जिल्ला कार्य समिति क्षेत्र नं. ३ झापाले आफ्नो घोषित संघर्षका कार्यक्रम अन्तर्गत आज सदरमुकाम चन्द्रगढीमा नारावाजी गर्दै कोण सभा सम्पन्न गरेको छ ।
आउँदो मसीर ४ मा हुन लागेको दोस्रो संविधानसभा चुनावको विरुद्धमा उत्रिएको सो पार्टीले आफनो पम्पेल्ट, पर्चा वितरण गर्दै कार्यकर्ताहरुले चन्द्रगढी स्थित ट्रेड युनियन चोकमा कोण सभा सम्पन्न गरेका हो । उक्त कोणसभालाई सम्बोधन गर्दै पार्टीका ३ नं. क्षेत्रका इन्चार्ज काजीमान लिम्बूले चार दलले गरेको एकलौटी निर्णय व्यक्तिवादी भएको हुदा सो निर्णय आम जनताको हित विपरित भएको उल्लेख गरे । देशमा निर्वाचन नै गराउनु छ भने ठूलादेखि साना दलको सहमती र सहकार्यबाट मात्र सम्भव हुने उनले बताए ।
त्यसैगरी जिल्ला सदस्य तथा २ नं. इन्चार्ज भुपालबहादुर राईले साना दललाई ठूलाले वेवास्ता गरेमा हातमा कुटो कोदालो तथा हसिया लिएर लखेटिने बताए । देशलाई संविधान बिहिन बनाएर जनतालाई दिन प्रतिदिन मुडभेड तर्फ निम्तिाएको उनले उल्लेख गरे ।
कार्यक्रममा जिल्ला सदस्य भगत बहादुर खपाङ्गी लगायत इकाई तथा वडा इन्चार्जहरुले कार्यक्रममा सम्वोदन गरेका थिए । निर कुमार राईको सभापतित्वमा सम्पन्न कोणसभालाई सचिव समिता राईले संचालन गरेकी थिइन ।
पार्टीले ११ बुदे सहमती र २५ बुदे बाधा अड्काउ फुकाउ आदेश खारेज, ४ पक्षिय संयन्त्र खारेज गरी सर्वदलिय राजनीतिक सम्मेलनको आयोजना गरिनु पर्ने लगायतका ५ वटा माग राख्दै साउन १० गतेबाट भदौ २ सम्म विभिन्न संघर्षका कार्यक्रमहरु तयार गरिएको सो पार्टीले जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।