कुबेतमा ४ नेपालीको मृत्यु

१८ श्रावण २०७०, शुक्रबार मा प्रकाशित

दोहा (कतार),१८ साउन ।वैदेशिक रोजगारका लागि कुबेत आएका तीन नेपाली कामदारको सडक दुर्घटनामा परी ज्यान गएको छ भने एकको हत्या भएको छ ।

कुबेत स्थित नेपाली राजदूत मधुवन पौडेलका अनुसार जुलाई ३० को राति अरेबियन गल्फ स्ट्रिटको मरिना मलनजिकै बाटो काट्ने क्रममा सवारीले ठक्कर दिँदा तीन नेपालीको मृत्यु भएको ईकान्तिपुरमा समाचार छ ।

घटनामा अर्का एक गम्भीर घाइते छन् । मृत्यु हुनेमा मदनपोखरा पाल्पाका विष्णुबहादुर मश्ररंगी, खुदुनाबारी झापाका झरेन्द्रप्रसाद आचार्य, पुरान्धारा दाङका भूपाल ओली हुन् ।

घाइते हुने पुरान्धारा दाङका वीरबहादुर गाहाको उपचार जारी छ । उनीहरू तीनै जना बुधाई गु्रपअन्तर्गत अल एन्जानमा रेस्टुरेन्टमा काम गर्थे ।

नपाउने स्थानबाटै बाटो काट्दा तीव्र गतिमा आएको सवारी साधनले ठक्ठर दिँदा उनीहरूको घटनास्थलमै ज्यान गयो, राजदूत पौडेलले भने, उनीहरू ड्युटी सकेर घुम्न निस्केका रहेछन् ।

दूतावासले पीडित परिवारलाई जानकारी दिन काठमाडौंस्थित परराष्ट्र मन्त्रालयमा जानकारी दिइसकेको जनाएको छ । क्षतिपूर्तिका लागिसमेत आवश्यक पहल गर्ने उनले बताए ।

उनीहरू काठमाडौंस्थित रिभर ओभरसिजबाट कुबेत आएका हुन् । तीन जना डेढ वर्ष पहिले र पाल्पाका विष्णुबहादुर २८ दिनअघि आएका हुन् । यसैबीच घरमा काम गर्ने महोत्तरीका लालबाबु यादवको गत शुक्रबार हत्या भएको छ ।

हत्या अभियोगमा प्रहरीले सहकर्मी एक सुडानी नागरिकलाई पक्राउ गरेको छ । सुडानी र यादव एउटै घरमा काम गर्थे, अरू नभएका बेला विवाद हँुदा सुडानीबाट हत्या भएको जानकारीमा आएको छ, पौडेलले भने ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।