झापाका पाँच सिमेन्ट उद्योगमा अनुगमन

१५ आश्विन २०७०, मंगलवार मा प्रकाशित

विर्तामोड,असोज १५ । जिल्लामा संचालित विभिन्न सिमेन्ट उद्योग प्रालिमा  गुणस्तर तथा नाप तौल विभाग क्षेत्रीय कार्यलय विराटनगर सहितको एक टोलीले आज अनुगमन गरेको छ ।
मेची अञ्चलमा पछिल्लो समय अत्याधिक सिमेन्टको माग भएको र सिमेन्ट उद्योगले माग वमोजिम धान्न नसक्दा कमसल सामान प्रयोग गरी सिमेन्ट उत्पादन गरेको जनगुनासो वढेपछि टोलीले सिमेन्ट उद्योगमा अनुगमन गरेको वताइएको छ ।  टोलीले मनष सिमेन्ट उद्योग प्रालि,गोरखकाली सिमेन्ट उद्योग प्रालि,हिमालयन सिमेन्ट उद्योग प्रालि,कञ्चनजंघा सिमेन्ट उद्योग प्रालि र मित्तल सिमेन्ट उद्योग प्रालि अनुगमन गरेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख एवं वजार निरीक्षण अधिकृत राधाकृण खतिवडाले वताए । अनुगमनपछि  टोलीले ती उद्योगवाट उत्पादीत सिमेन्टको परीक्षणका लागि नमूना संकलन गरेको र गुणस्तर मापनकालागि विभागको कार्यालयमा पठाउने तयारी गरेको वताइएको छ । टोलीमा वजार निरीक्षण अधिकृत खतिवडा सहित गुणस्तर तथा नाप तौल क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख शशीभूषण यादव, जिल्ला प्रसशासन कार्यालय झापाका लक्ष्मीप्रसाद खरेल, उद्योगसंघ झापाका सदस्य दीपेश ढकाल, उपभोक्ता हित संरक्षण मञ्चका राजेन्द्र घिमिरे लगायत सहभागी थिए ।
त्यस्तै सोही टोलीले झापामा संचालित काष्ठ उद्योगको समेत अनुगमन गरेको छ । विर्तामोड लगायतका क्षेत्रमा टोलीले अनुगमन गरेको खतिवडाको भनाई छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।