गुणानन्द झा सम्झनामा

0
1251

सरोज ओली,

गुणानन्द झाको जन्म वि.सं. १९९२ माघ १५ मा भारतको विहार राज्यमा भएको थियो । उनका पिताको नाम पं. देवकृष्ण झा र माताको नाम सोनादेवी झा थियो । उनले विहार विद्यालय परीक्षा समिति पटनाबाट सन् १९५३ मा म्याट्रिक पास गरे । त्यस्तै सन् १९५५ मा विहार विश्वविद्यालय दरभङ्गाबाट आइए पास गरे । त्यस्तै सन् १९५९ मा विहार विश्व विद्यालय दरभङ्गाबाट संस्कृतमा बिएड अनर्सं पास गरे । उनको विवाह पाँचगाछी निवासी चन्द्रशेखर झा र महिश्वरी झाकी सुपुत्री योगमायादेवी झासँग भयो ।

गुणानन्द झाको विवाह भएको बेलामा झापा जिल्लामा शिक्षाको विकास मन्द गतिमा हुँदै थियो । भद्रपुरमा हाइस्कुल थियो । शनिश्चरेमा मिडिल स्कुल मात्र थियो । वि.सं. २०१७ मा शनिश्चरेमा हाइस्कुल खोल्ने तरखरमा हुँदै थियो । तर, हाइस्कुलको स्थापनाका लागि एकजना स्नातक (न्चबमगबतभ) शिक्षकको आवश्यकता थियो । त्यही समयमा गुणानन्द झा आफ्ना ससुरालीमा आएका रहेछन् । उनी आफ्ना ससुरासँग शिवगञ्ज बजार घुम्दै गर्दा महानन्द सापकोटासँग भेट भएछ । भाषाशास्त्री महानन्द सापकोेटालाई शनिश्चरेमा स्नातक शिक्षकको आवश्यकता भएको थाहा रहेछ । उनले चन्द्रशेखर झासँग कुरा गरेछन् । चन्द्रशेखरले ‘मेरा ज्वाइँ बिए पास गरेका छन्’ भने छन् । त्यसपछि भाषाशास्त्री महानन्द सापकोटाको सिफारिसमा धर्मप्रसाद ढकालले गुणानन्द झालाई शनिश्चरेमा ल्याएर स्कुलमा वि.सं. २०१७ माघ २७ मा नियुक्ति दिए । त्यसपछि वि.सं. २०१८ मा राजा महेन्द्रको बाहुलीबाट शनिश्चरे हाइस्कुलको उद्घाटन भयो । शनिश्चरे माविको इतिहासमा पहिलो स्नातक पदमा नियुक्त भएर उनले यही विद्यालयमा आजीवन शिक्षण कार्य गरे ।
गुणानन्द झासँग शनिश्चरे बजारमा यदाकदा भेट भइरहन्थ्यो । तर, त्यति घनिष्टता भने थिएन । उनीसँग वि.सं.२०३० मा म पनि शनिश्चरे माविमा शिक्षक नियुक्ति भएपछि भने घनिष्टता बढेर गयो । उनीसँग मैले पनि लगभग ३० बर्ष सहकार्य गरेँ । उनी पनि अंगे्रजी पढाउँथे । उनी उचभकअचष्तजष्खभ नचबmmबच लाई आधार मानेर पढाउँथे । म मभकअचष्उतष्खभ नचबmmबच लाई आधार मानेर पढाउँथे । बार्षिक परीक्षा हुन्थ्यो, सरस्वती पूजा हुन्थ्यो, वनभोज हुन्थ्यो । हँसीमजाक हुन्थ्यो । साथी भाइसँग उनी धेरै रहुसे थिए । उनी हिन्दूधर्मका कट्टर अनुयायी थिए । बिहान नित्यकर्म पछि पूजा नगरी भात खाँदैनथे । बेलुका शनिश्चरे बजार क्षेत्रका सबै देवी–देवताका मन्दिरहरुको दर्शन गर्थे । उनी राजालाई इश्वरकै अवतार मान्थे र भन्ने गर्थे “नराणां च नराधिपः” ।

विद्यार्थीहरुलाई शिक्षा दिने विषयमा उनी अति योग्य थिए । कुनै विद्यार्थीले अनुशासनहीन काम गरेमा उनी खरो उत्रिन्थे । उनी अर्जुनधारा मन्दिर मास्तिर हात्ती गिरीको घरमा डेरा गरेर बसेका थिए । एकदिन मोहन खत्री (न्यौपाने) नामक विद्यार्थीले उनको कोठामा पसेर उसको उत्तर पुस्तिका सच्याएछ । उनले त्यो थाहा पाएछन् । विद्यालयको कार्यालयमा ती विद्यार्थीलाई उभ्याएर निष्कासन गराएरै छोडे । हामी सारा शिक्षकहरुले ‘क्षमा दिनुहोस्’ भन्दा पनि मानेनन् । विद्यालयबाट निस्कासन गराएरै छोडे । ‘उत्तर पुस्तिका मेरा कोठामा पसेर सच्याउनेलाई निष्कासन गर्नैपर्छ’ भनेर प्रअ मोहन जोशीलाई समेत बाध्य पारेर निष्कासन गराएरै छोडे । यस्ता नाजायज कुरामा कुनै सम्झौता हुँदैन भनेर उनी अडिए ।

गुणानन्द झा हिन्दूधर्मका धुरन्धर विद्वान थिए । कतिपय कुरामा उनी अन्ध परम्परालाई पछ्याउँथे । टिफिनमा हामी रिजाल बाजेको दोकानमा चिया नास्ता गथ्र्यौं । एकदिन चिया खाँदै गर्दा कृष्ण सेढाईले कल्याण पत्रिका ल्याएर मलाई दिए । म चिया पिउँदै कल्याण पत्रिका पल्टाउन थालेँ । झा सर ‘यस्तो पाखण्डी काम पनि गर्नुहुन्छ ?’ भनेर म पट्टि फर्किए । उनको ठम्याइमा कल्याण पत्रिका पूजा कोठामा राखेर पुजेर पढ्नुपर्छ भन्ने रहेछ । निकै भनाभन भयो । लगभग एक महिना बोलचाल भएन उनको र मेरोबीच पछि फेरि यथावत भयो ।

हामी गुणानन्द सरलाई झा सर भनेर सम्बोधन गर्दथ्यौं । त्यस्तै प्रअ मोहन जोशीलाई ‘जोशी सर’ भन्थ्यांै । छोटकरीमा ‘थर’ विशेषले सम्बोधन गरिन्थ्यो । मलाई ओली सर भन्थे । त्यो कुरालाई सबैले स्वीकारेका थिए । झा सर संस्कृत र अंग्रेजी भाषाका विशेषज्ञ थिए । उनलाई पाणिनीको संस्कृत व्याकरण (अष्टाध्यायी) र जेसिनेस्फिल्डको अंग्रेजी व्याकरणमा आधिकारिक ज्ञान थियो । नेपाली भाषाको पनि उनी ज्ञाता नै थिए । यसरी बुझ्दा उनी मैथिली, हिन्दी, संस्कृत, अंग्रेजी, नेपाली भाषाका ज्ञाता थिए । शनिश्चरे माविमा उनले अंग्रेजी र संस्कृत भाषाको अध्यापन गराए । वि.सं. २०२८ मा नयाँ शिक्षा पद्घतिको योजना देशमा लागेपछि उनले पनि अंग्रेजी विषयमा बिएड एकवर्षे गर्नुपर्ने भयो । उनले त्यो तालिम लिन शुरुमा मानेनन् । तर, पछि पुराना अध्यापकहरुले एक सेम्सिटर मात्र तालिम लिँदा हुने नियम आएपछि भने उनले पाँच महिने बिएड तालिम वीरगञ्जमा गएर लिए । त्यहीबेला उनले ‘मेरो राजालाई सलाम छ भन्दिनु’ भन्ने निकै लामो र राम्रो कविता लेखे । त्यो कविता शनिश्चरे माविका तत्कालिन समयका विद्यार्थीहरु र शिक्षकहरुमा निकै लोकप्रिय रहन गएको थियो ।

वि.सं. २०२९ मा झापामा पनि नयाँ शिक्षा पद्घतिको योजना लागू भयो । तत्कालीन प्रअ केदारमणि ढकालले राजनीति गर्ने भनेर पदबाट राजीनामा दिए । त्यसपछि उनीभन्दा सेवामा जुनिएर मोहन जोशीलाई स्कुल सञ्चालक समितिले प्रअमा नियुक्ति ग¥यो । त्यसमा उनले निकै चित्त दुखाए । त्यसैले गर्दा उनी र मोहन जोशीको व्यक्तित्वमा बेला–बेलामा द्वन्द्व हुने गर्दथ्यो । तर, त्यो द्वन्द्व कार्यालयभित्रै सिमित रहन्थ्यो । झा सर भन्ने गर्थे– ‘शनिश्चरे हाइस्कुलमा गर्नुपर्ने कामलाई वास्ता गरिँदैन, तर नगर्नुपर्ने कामलाई ज्यादा महत्व दिइन्छ ।’

झा सर नेपाली साहित्यकारहरूमा महाकवि लक्ष्मीप्रसाद देवकोटालाई उच्चकोटीको कवि ठान्दथे भने हिन्दी कविहरूमा देवकीनन्दन पन्त, जयशंकर प्रसाद, निरालालाई ज्यादै मान्दथे । संस्कृत कविहरूमा भारवि, कालिदास, दण्डि आदिलाई मान्दथे । श्रीमद्भागवत गीतालाई विश्वकै सर्वोत्कृष्ट कृति ठान्दथे । उनी समालोचना पनि लेख्दथे । उनले मेरो साहित्यिक रचनाहरूका पनि निकै समालोचनाहरू लेखेर स्थानीय पत्रपत्रिकाहरूमा छपाएका थिए ।

जोशी सर, झा सर र म (ओली सर) भएर साहित्यको बारेमा चर्चा हँुदा घण्टौं समय बितेको हामी थाहा पाउँदैन थियौं । त्यसमा शिवप्रसाद दाहाल सर, मदन ढकाल सर र रोहिणीविलास लुइुँटेल सरको समेत सहभागिताले त्यो उच्च स्थान पाउँथ्यो । ती दिन सम्झँदा र अहिले आफूमात्र एक्लो भएको पाउँदा नरमाइलो, न्यास्रो लागेर आउँछ । आफूभित्र सबै आफन्तहरू विलिन भए झैं लाग्छ । त्यो साहित्यिक माहोल सम्झँदा मात्र पनि शनिश्चरे माविको त्यो स्वर्णकाल आँखा अगाडि ऐना भएर आउँछ । झा सरका अध्यापन गराउँदाका मभन्दा पूर्वका साथीहरूमा दाहाल सर, गणेश सर (गणेशबहादुर प्रसाई) नारदमणि उप्रेती केदारमणि ढकाल आदि पनि नेपालका जानि मानेका विद्वानहरु थिए । उनले झापामा आएर ठूला–ठूलै व्यक्तित्वसँग संगत पाएर उनको व्यक्तित्व झन् उज्यालिएर गएको थियो ।

एकदिन म कक्षा दशको श्रेणी सी (वर्ग ग)मा पढाइरहेको थिएँ । झा सर उही कक्षाका सेक्सन ए (वर्ग क)मा पढाइरहेका थिए । उनलाई चौकीदार कृष्ण सेढाईले जिल्ला शिक्षा कार्यालयबाट आएको अति गोप्य पत्र दिएछन् । त्यो पत्र खोलेर हेर्दा उनलाई अनिवार्य अवकास दिइएको रहेछ । उनी आँखाभरि डबडबाउँदा आँशु पारेर मसँग आए । म के भो सर भन्दै कक्षाबाट बाहिर निस्किएँ । उनले त्यो पत्र र हातको चक देखाउँदै भने– ‘सर म चक लिएर पढाउँदैछु । यो के को पत्र हो ?’ मैले उनलाई समाउँदै अफिसमा लगेँ । प्रअ मोहन जोशीले पनि नरमाइलो मान्दै भने– ‘५८ वर्षको उमेरमै शिक्षकहरूलाई अनिवार्य अवकास दिने सरकारको नीति अनुसार झा सरलाई अनिवार्य अवकास दिइएको रहेछ । झा सर जस्तो ऊर्जाशील व्यक्तिलाई ६० वर्षसम्म पढाउन दिएको भए हुन्थ्यो । नीति–निर्माताहरु नै अविवेकी भएपछि के लाग्छ त्यो दिन हामी कसैले पनि राम्ररी अध्यापन गराएनौं । उनको अनिवार्य अवकास वि.सं. २०५० भदौ २२ गते भयो । उनले शनिश्चरे मावि अविछिन्न ३३ वर्ष पाँच महिना पाँच दिन काम गरे ।

हाम्रो समाजमा तत्कालीन समयमा एउटा मात्र हाइस्कुल भएकोले गाउँमा विवाह, व्रतबन्ध, पूजा, पुराण आदिमा स्कुलका सरहरूलाई भोजमा बोलाइन्थ्यो । यसै शिलसिलामा एकपटक छत्रमणि ढकालका भाइ हाम्रा विद्यार्थी खगेन्द्र्र ढकालको विवाहमा प्रीतिभोजमा हामी सबै शिक्षक, शिक्षिकाहरूलाई बोलाएको थियो । झा सरसहित हामी मांशहारी भोजन गरिरहेका थियौं । अचानक झा सरका घाँटीमा मासुको टुक्रो अड्किन गयो । उनी अक्याक–अक्याक गर्दै छटपटाउन थाले । म छेउमै थिएँ । मैले उनको घुच्चुकमा धारे हात पारेर हाने । घाँटीमा अड्केको मासुको टुक्रो घाँटीबाट उच्छिट्एिर बाहिर खस्यो । त्यसपछि आँखाभरि आएका आँशुु छोपेर झा सर भोज छोडेर गए । उनी ठूलो दुर्घटनाबाट बाचे । त्यो दिन र त्यो घटना सम्झिदा मेरो आज पनि आङ जिरिङ्ग हुन्छ । ठूलो दुर्घटनाबाट सहकर्मी झा सरलाई बचाउन सकेकोमा म अत्यन्त खुशी भएँ । म मात्र होइन सम्पूर्ण टिचर स्टाफ नै मेरो छैठौ चेतना देखेर खुशी पनि भए, छक्क पनि परे । भोलिपल्ट स्कुल अगाडिको पिपलको फेदमा भेट हुँदा उनले मलाई पाँच मिनेट जति अङ्कमाल गरे । आँखाको भाका आँखैले हामीले बुझाबुझ ग¥यौं । हाम्रो आत्मियता झन् बढेर गयो । पछि झा सरको परिवार र मेरो परिवार एउटै जस्तो भयो । हामी दुःख–सुखका आत्मीय साथी भयौं । उनी स्वर्ग भए पनि उनको जहान छोरा–बुहारीसँग मेरो उत्तिकै आत्मीय सम्बन्ध रहेकै छ ।

लगभग ३० वर्षको अविच्छिन्न संगतमा हाम्रा बीचमा धेरै सम्झना लायक कामहरू भएका छन् । ती मध्ये केही महत्वपूर्ण सम्झनाहरू मात्र उल्लेख गरिएको छ । झा सरले शनिश्चरे माविबाट निवृत्त भएपछि पनि काम गर्ने इच्छा गरे । त्यस कारण प्रअ मोहन जोशी र मैले सगरमाथा बोर्डिङका सञ्चालक शेखर दाहालसँग कुरा गरेर त्यो स्कुलमा केही समय काम गर्ने व्यवस्था मिलाइयो । उनले आफ्नो बाध्यताले त्यहाँ केही समय काम गरे । झा सर मूलतः भारतीय नागरिक थिए । उनलाई हामीले पटक–पटक नेपालको नागरिकता लिन आग्रह ग¥यौं, तर उनले मानेनन् । उनी भन्ने गर्थे– ‘म भारत जस्तो महान देशको नागरिक हूँ…’ आदि । तर पछि के भएर हो, कुन शक्तिले काम गरेर हो उनले नेपालको नागरिकता लिए । अहिले उनका छोरा शारदानन्द झा मेची बहुमुखी क्याम्पस भद्रपुरमा विज्ञान संकायमा अध्यापन गराइरहेका छन् । उनका कान्छा छोरा नटवर (मिहिरकुमार झा) भारतमै काम गरिरहेका छन् ।

गुणानन्द झाका पाँचवटी छोरी छन् । उनीहरूको नाम क्रमशः शान्तिदेवी झा, देवी झा, प्रेमदेवी झा, आरतीदेवी झा, मेधाादेवी झा र अपरनादेवी मिश्र । उनीहरूको परम्परा अनुसार छोरीको विवाह गर्न निकै ठूलो धनराशीको आवश्यकता पर्दछ । त्यसैले गर्दा उनी छोरीको विवाहको बेला निकै चिन्तित देखिन्थे । तर, ती समस्यालाई सजिलैसँग समाधान गरे । अहिले गुरुमा योगमाया झा जेठा छोरा शारदानन्द झासँग शनिश्चरे घरमा आनन्दसित बसिरहेकी छिन् ।
शनिश्चरे माविको जागिर र पाँचगाछीको योगमाया झाको पाँच विगाह जमिनको आएस्ताले उनको व्यवहार चलेको हामीलाई थाहा छ । उनी ज्यादै फारोतिनो गर्दथे । पहिला–पहिला उनी धोतीकुर्ता लगाएर अध्यापन गर्दथे । पछि नयाँ शिक्षा पद्धतिको योजना लागू भएपछि पेन्ट–सर्ट लगाउन थाले । उनी नित्य–पूजा गरेर निधारमा रातो टिका लगाएर फुर्तिलो भएर हिँड्थे । उनी दाह्री, कपाल हजामलाई कटाउँथे । उनले कहिल्यै पनि आफैले दाह्री काट्ने मेशिनले काटेको देखिएन । उनी हजामद्वारा नै दाह्री, नङ कटाउँथे । उनी खानेकुरामा साधारण दालभात र गहुँको रोटी तरकारीमा रमाउँथे । उनलाई गाईको दूध नित्य चाहिन्थ्यो । शनिश्चरेमा रहँदा पछिल्लो समयमा गाई पालेका थिए । त्यस अतिरिक्त उनलाई रसवरी, लड्डु, पेडा आदि मन पथ्र्यो । ठूला–ठूला भोजमा उनी रसवरी मजाले खान्थे । हामी अध्यापकहरूको भोजमा झा सरलाई रसवरी विशेष गरेर खान दिन्थ्यौं । रसवरी एक पटक गणेश सरसँग बाजी राखेर एकसय वटा रसवरी खाएको प्रसंग पनि झा सरसित जोडिन पुग्छ ।

झा सरले आफू जन्मेको ठाउँपछि झापाको शनिश्चरेलाई ज्यादा प्रेम गर्थे । उनका छोरा शारदानन्द झाले मेची क्याम्पसमा काम गर्न थालेपछि उनले शनिश्चरेमा दुई ठाउँमा भिटा किने, यही भिटा किन्ने शिलशिलामा उनलाई मैले ‘सर भद्रपुरमा भिटा किन्दा राम्रो हुँदैन र ?’ भनेर सोधेँ तर उनले मानेनन् । उनले भने– ‘यो मेरो कर्म क्षेत्र हो, यहाँ मलाई सबैले चिन्छन्, त्यो भद्रपुर मेरो लागि विरानो हुन्छ ।’ यसरी जन्मस्थान पछि कर्मस्थानको पनि उनी माया गर्थे ।

गुणानन्द झा शनिश्चरे माविको स्थापनाकालका एक होनाहार युवकको रुपमा यहाँ आए । त्यसपछि जीवनको सम्पूर्ण समय झापा शनिश्चरेको शिक्षा विकासमा समर्पण गरे । उनले यो ठाउँलाई जति प्रेम अन्य स्थानलाई गरेजस्तो मलाई लाग्दैन । उनी यो शनिश्चरे माविको एक महत्वपूर्ण स्तम्भ भएर उभिए र जीवनको अन्त्य समयमा यहीँ घर बनाएर आफ्नी प्यारी श्रीमती योगमाया झा, छोरा शारदानन्द झा, नटवर झालाई सोही घरमा छोडेर आफू वि.सं. २०६५ भदौ २८ गते ७२ वर्षको उमेरमा यो धराधाममा विलिन हुन पुगे । तर, उनले यस क्षेत्रमा छाडेका शिक्षा क्षेत्रका पदचिन्हहरू कहिल्यै पनि नमेटिने भएर रहेका छन् । यस्ता असल शिक्षक, असल मित्रका बारेमा लेख्न पाउँदा मेरो कलम पनि धन्य भएको म ठान्छु । अन्त्यमा यस्ता शिक्षाको ज्योति शनिश्चरेका शिवप्रसाद दाहाल पछिका उज्याला घामप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै यो कलम बिसाउँछु । अस्तु । कोरोनाले समस्त देश लकडाउन भएको बेला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here