माछा अध्ययन स्रोतकेन्द्रमै फ्लोटिङ दाना उत्पादन

0
1484

पूर्णबहादुर कटुवाल/ लक्ष्मीपुर ।

अर्जुनधारा–५ स्थित चाँदनी कृषि फर्मले माछा उत्पादनसँगै झापामै पहिलो पटक अग्र्यानिक फ्लोटिङ माछाको दाना उत्पादन शुरु गरेको छ ।

माछा अध्ययन स्रोतकेन्द्रको रुपमा गत वर्ष स्थापना गरिएको सो कृषि फर्मले यसै वर्षदेखि स्थानीय कच्चापदार्थमा आधारित फ्लोटिङ दाना उत्पादन शुरु गरेको हो । फर्मले स्थापनाको शुरुका दिनमा उपभोगका लागि माछा उत्पादन गर्दै आए पनि स्थानीय माछापालक कृषकको माग र चाँदनी कृषि फर्म र यसैद्वारा गौरदहमा सञ्चालित अर्को माछा फर्मको आवश्यकतालाई मध्यनजर गरी अग्र्यानिक फ्लोटिङ दाना उत्पादन प्लान्ट जडान गरेको हो ।

नेपाल सरकारको निजामति सेवाको ३७ वर्ष जागिरे जीवनको उपसचिव पदबाट सेवानिवृत्त युवराज पाण्डेले सञ्चालन गरेको अर्जुनधाराको चाँदनी कृषि फर्म र गौरादहको हेमचन्द्र बहुउद्देश्यीय कृषि फर्मले माछा र अग्र्यानिक दाना उत्पाद सँगै फर्मलाई माछा अध्ययन स्रोतकेन्द्रका रुपमा विकास गर्ने लक्ष्य लिएको छ ।

फर्मका सञ्चालक पाण्डेले भने– ‘आयातित दानाको ठाउँमा स्थानीय अग्र्यानिक फ्लोटिङ दानाले प्रतिष्पर्धा गर्न सक्छ कि सक्दैन, यस दानाको प्रयोगबाट मााछाको उत्पादन, वृद्धि र विकासमा सुधार आउँछ कि आउँदैन, कच्चापदार्थको उपलब्धताको अवस्था के रहन्छ भन्ने विषयको सर्वेक्षण र अनुसन्धान गर्नकै लागि गत मंसीरदेखि दैनिक सात क्वीन्टल मात्र उत्पाद गर्ने प्लान्ट जडान गरेका छौं ।’ उनले थप भने– ‘हाम्रो अध्ययनले यो दानाको प्रयोगबाट माछा स्वस्थ रहेको, उत्पादन र विकास सन्तोषजनक रहेको, माछा र दानाको माग बढेको, कच्चापदार्थको उपलब्धता सहज भएको, दाना र माछाको मूल्य बजार मूल्यसँग प्रतिष्पर्धा गर्न सक्ने पुष्टि गर्यो त्यसैले अब निकट भविष्यमै प्रति घण्टा पाँच सय केजी दाना उत्पाद क्षमताको प्लान्ट जडानको तयारीमा छौं ।’

‘फ्लोटिङ दानापानीमा तैरने भएकाले सबै दान माछाले खान पाउँछन् । पानीमा डुबेर र कुहिएर खेर नजाने भएकोले पोखरीको पानी सिङ्किङ दाना प्रयोग गरेभन्दा बढी सफा र स्वच्छ हुन्छ’ –चाँदनी कृषि फर्मका व्यवस्थापक धु्रव मैनालीले भने । अग्र्यानिक फ्लोटिङ दानामा कुनै पनि किसिमको रयायन मिश्रित हुँदैन । यसको उत्पादनको मुख्य कच्चापदार्थ धान र मकै हो । अन्य सहायक कच्चपदार्थको रुपमा भटमास, तोरीको पिना, बोनमिल, फिसमिल र सिद्राका चूर्ण प्रयोग गरिन्छ । फिसमिल सामुन्द्रिक लेउबाट उत्पादन गरिने भएकोले यो कच्चापदार्थ मात्र आयातित कच्चापदार्थ हो ।

फिसमिल बाहेक अन्य कच्चापदार्थ स्वदेश र स्थानीयस्तरमै सहज रुपमा उपलब्ध हुन्छन् । हाल चाँदनी कृषिफर्मबाट दैनिक एक सय केजी र गौरादहस्थित हेमचन्द्र बहुउद्देश्यीय कृषिफर्मबाट दैनिक एक सय ५० केजी माछा बिक्रीवितरण भइरहेको व्यवस्थापक मैनालीले बताए । लकडाउनले समेत असर नपारेको यी दुबै फर्मबाट उत्पादित माछाले स्थानीय बजारको आवश्यकतालाई धान्दै आएको छ । उत्पादन बिक्री नभएर टाढाको बजार खोज्नु नपरेको बताइएको छ ।

शाकाहारी वर्गका पंगास, कार्प, असाल रोहु, नैनी, कमनकार्प, ग्रासकार्प, सिल्भरकार्प लगायतका माछाको स्वाद लिन इलाम, झापाका सबै क्षेत्र, मोरङ र सुनसरीसम्मका ग्राहकहरु फर्म मै आउने गरेको बताइएको छ । फार्ममा अहिले दश जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here