विद्यालयको क्वारेन्टाइन हटाउन शिक्षकको माग

८ आश्विन २०७७, बिहीबार मा प्रकाशित

पार्थ मण्डल/ भद्रपुर ।

विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइन त्यहाँबाट अन्यत्र नसार्दा विद्यार्थीलाई सिकाइ सहजीकरण गराउन शिक्षकलाई समस्या परेको भन्दै हटाउन माग गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७’ स्वीकृत गरेसँगै कचनकवल गाउँपालिकाले असोज १ गतेदेखि गाउँपालिकाकाभित्र सञ्चालित सामुदायिक तथा निजी विद्यालयहरूले कक्षा ४देखि १२ कक्षासम्म सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

सोही निर्णय बमोजिम अहिले गाउँपालिकाका स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर विद्यालयमै प्रत्यक्ष सिकाइ सहजीकरण शुरु गरिसकेको छ । तर, गाउँपालिकाभित्रका दुई वटा विद्यालयका विद्यार्थी भने त्यसबाट वञ्चित हुनु परेको सम्बन्धित विद्यालयका शिक्षकहरुले गुनासो गरेका छन् ।

जिल्लामै कोरोनाको इपिसेन्टर बनेको गाउँपालिकामा त्यसबेला ६ वटा विद्यालयमा क्वारेन्टाइन स्थापना गरिएको थियो । ६ वटामध्ये लक्ष्मी मावि बनियानी र पथरिया मावि पथरियामा भने अझै क्वारेन्टाइन हटाइएको छैन । अरू चार वटा विद्यालयको क्वारेन्टाइन हटाइसकेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए । गाउँपालिकाभित्र क्वारेन्टाइन बनाउने अन्य वैकल्पिक व्यवस्था नहुँदा ती विद्यालयमै क्वारेन्टाइन कायम राखिएको उनको भनाइ छ ।

कोरोना भाइरसको महामारीपछि गरिएको लकडाउनले लामो समयदेखि थलिएका विद्यार्थीहरू नजिकैको बोर्डिङ स्कुलमा जान थालेपछि लक्ष्मी माविका विद्यार्थीहरूमा मनोवैज्ञानिक चिन्ता देखिन थालेको छ । विद्यालयमा क्वारेन्टाइन रहेकोले बिद्यार्थीहरू गेटसम्म आउने र फर्किने गरेको शिक्षक रत्नकुमार बुढाथोकीले बताए । अहिले विद्यालयले एउटा कोठाबाट प्रशासनिक काम गरिरहेको उनले बताए । सरकारले विद्यालयबाट क्वारेन्टाइन हटाउन निर्देशन दिए पनि गाउँपालिकाले विविध कारण देखाउँदै क्वारेन्टाइन नहटाउँदा शिक्षक तथा विद्यार्थी दुवैले समस्या भोग्नु परेको शिक्षक होमनाथ अर्याल बताए । समयमै विद्यार्थी र अभिभावकलाई उचित परामर्श दिन नसक्दा त्यसको फाइदा भने निजी स्कूलहरूले उठाइरहेको उनको भनाइ छ ।

छिटा भन्दा छिटो वैकल्पिक व्यवस्था गरी विद्यालयको क्वारेन्टाइन अन्यत्र सार्न प्रधानाध्यापक राजु बुढाथोकीले गाउँपालिका समक्ष आग्रह गरेका छन् । ‘गाउँपालिकाभित्रका विद्यालय खुलाउँदा सबै विद्यालय खुलाउने व्यवस्थापन मिलाउनु पर्ने हुन्थ्यो, तर त्यसो नहुँदा पठनपाठनमा एकरुपता हुन सकेन’– उनले भने । अरू विद्यालयमा प्रत्यक्ष सिकाइ सहजीकरण शुरु भइसकेको बताउँदै पथरिया माविका प्रधानाध्यापक कृष्णकुमार शर्माले भने– ‘विद्यालयको क्वारेन्टाइन नहटाएसम्म विद्यार्थी बोलाउने अवस्था छैन ।’ गाउँपालिकाले क्वारेन्टाइन हटाउने विषयमा सकारात्मक रहेको बताउँदै प्रअ शर्माले भने– ‘अहिले विद्यालयमा प्रशासनिक काम बाहेक केही गर्न सकिएको छैन, विद्यालय सञ्चालन गर्ने अन्य विकल्प पनि छैन ।’

सरकारले विद्यालयबाट क्वारेन्टाइन हटाउने निर्णय गरेसँगै गाउँपालिकाले पनि भदौ १२ गते विद्यालयको क्वारेन्टाइन हटाउने निर्णय गरिसकेको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख छवि बस्नेतले जानकारी दिए । दुई वटा विद्यालयको क्वारेन्टाइन हटाउने विषयमा गाउँपालिकासँग कुरा गर्ने उनको भनाइ छ । विद्यालयको क्वारेन्टाइन हटाई लक्ष्मी मावि क्याम्पसको निर्माणाधीन भवनमा क्वारेन्टाइन बनाउने बारेमा गाउँपालिकाले निर्णय गरिसकेको स्वास्थ्य शाखा प्रमुख यादवले बताए ।

असोज २० गतेभित्र क्वारेन्टाइन व्यवस्थापन गरिन्छ– उनले भने– ‘त्यहाँ ५०देखि ६० बेड क्षमताको क्वारेन्टाइन बनाउने काम तीव्र गतिमा भइरहेको छ । उनका अनुसार अहिले लक्ष्मी माविमा तीन जना र पथरिया माविमा २६ जना बसेका छन् । उनीहरूको स्वाब सङ्कलन भइसकेको छ । रिपोर्ट नेगेटिभ आएपछि त्यो खाली हुन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here