लान्छ कि क्या हो साइँली कोरोनाले !

0
1103

लु बिताउँछ कि क्या हो साइँली कोरोनाले । जताततै कोरोना नै कोरोना लागेको लाग्यै छ । जोगिएर पनि खोइ जोगिन सकिएला जस्तो छैन । शहर, बजार, गाउँभित्रै, टोल नजिकै र घर छेउमै पो आइसकेछ त कोरोना । भागेर जानु पनि कहाँ जानु आफ्नो शहर, बजार, गाउँघर, टोल, छिमेक र घर छाडेर ? जता गए पनि उही त हो । कोरोना नलागेको ठाउँ पो कहाँ छ र ? ओ हो, लान्छ कि क्या हो साइँली कोरोनाले ।

साइँली ! कोरोनाले भिलेन खेलेर तिमी र मलाई भेट हुन पनि दिएन । अर्र्कोतिर बर्खेझरीले खोलानाला र नदी उर्लेर तर्नै नसकिने भएसी तिम्रो र मेरो भेट हुनै सकेन । हुन त तिम्रो माया पाएपछि जस्तै खोला पनि तर्न सकिहाल्थेँ । तिमीले नै जिद्दी नगर है भनेर पो । कतै म खोलामा बगेर गइपो हाल्छु कि भन्ने तिमीलाई डर लाग्छ र पो । नत्र त । तर, आश जाग्दैछ साइँली । पानीझरीको मौसम सकिँदैछ ।

आकाश खुलेपछि उदुमै रमाइलो हुन्छ होइन त साइँली ? तिमीलाई भेटीहालुँ जस्तो हुन्छ । मन नै च्यू–च्यू पो भएर आउँछ साइँली । तिमीलाई पनि त्यस्तै भएछ कि क्या हो । ‘के छ मेरो साँइलोको हाल खबर’ भनेर तिमीले मुबाईलमा मुसेज लेखी पठाएछौ । मुसेज पढेर म त भुतुक्कै । झण्डै बेहोस भको । मलाईभन्दा नि तिमीलाई सारो परो कि क्या हो ? अब त झरी रोकिन्छ होला । झरी रोकिएपछि बिहानैदेखि घाम लागेर कति राम्रो गरी दिन खुल्छन् । बारीका पाटामा हरिया–हरिया धानका गाभाहरु मन्द–मन्द हावामा झुल्दछन् । अनि भन्छन् तिनीहरुले मलाई ‘एई साइँला जाऊ तिम्रो प्यारी साइँलीलाई भेट्न झट्ट ।’ तिनै धानका पातहरुबाट आएका बासनाले मनै मदहोश बनाइदिन्छ । आलीमा हुर्किदै गरेका मास र भटमासका साना साना बुटाहरुले पनि खेतबारीको रुपै मनोरम बनाइदिन्छ । धान गोड्दै सम्झिरछु साइँली तिमीलाई । खोइ कहिले तिमीसँग भेट्हुने होला । उहुम्, मन नै चौ–चौ भइ पो सको त गाँठे ।

धानबारीको आलीमा घाँस काट्दै घरिघरि टोलाउँदै तिम्रो गाऊँ भएको पहाडतिर हेर्दैछु । तिम्रो बस्ती निलालेर घरहरु देख्ने कोसिस गर्छु तर अहँ सकिनँ । निकै टाढा पो छ त हौ तिम्रो पहाड । तिम्रो घर त्यतै कतै हुनुपर्छ भनेर छुट्याउने चिनो त्यही पहिरो हो । यहाँबाट हेर्दा भिरालो पहाडमा निधारमा ठाडो गरी सेतो धर्र्से टिको लगाए जस्तै पहिरोले सोहोरेको सेतो ठाडो धर्सोमात्र देखिन्छ । तिम्रो घर भएको पहाड यहाँबाट हेर्दा निलो देखिन्छ । भन्नुको मतलब तिम्रो पहाड, तिम्रो गाउँ धेरै टाढा छ । तर, कसरी भेट भयौँ साइँली हामी ? कसरी जुरेको होला तिमी र म भेट हुन । मुया पिरती पनि गाँसी पठाएछौँ । अचम्मै लाग्छ सम्झेर ल्याउँदा ।

होइन हौ म मा त्यस्तो के छ साइँली ? तिमी जस्ती राम्रीले म जस्तो चुइस्स परेको साइँलो नै मन पराउनुपर्ने ? केटीहरुले केटाहरुको के चाहिँ मन परेर पिरती लाउँछन् हँ साइँली ? तर, यस्तो कुरा गरेर तिम्रो चित्त दुखाउन खोजेको होइन है । मैले त म कति भाग्यमानी रहेछु भनेको पो त । तिमीले अरु कति राम्रा राम्रा केटाहरु, कति धनि केटाहरु, धेरै पढेका केटाहरु पाउँथ्यौ होला । शहर बजार, विदेश घुमाउन लाने केटाहरु पाउँथ्यौ होला । सुनैसुनले पहेँलपुर पार्दिने केटा पाउँथ्यौ होला । के भएर म जस्तो खोरिया खन्ने लुतिखारेलाई मन परायौ हँ साइँली ? धनमा हरितन्नम्, बुद्धिमा हरिलक, रुपमा भालुले कोतरेको अनुहार लिएको म जस्तो मुन्छेसँग कसरी मुन बस्यो तिम्रो । म मेरै वरिपरि घुमी–घुमी हेर्छु, हन हौ मेरो के चाहिँ मन परेर साइँली म सँग पट्टिइन् हँ ?
भगवानले जुराको होला मलाई तिमी जस्ती राम्री साइँली । कहिलेकाहीँ त यस्तो लाग्छ कि कतै मेरी साइँलीले मलाई चटक्कै बिर्सिने पो हुन् कि । त्यस्तो गरिछ्यौ भने म त अपहत्ते गरेर मरिदिन्छु । तर, मुबाईलमा टिडिरिङ्ग आवाजसँगै तिम्रो मुसेज आएसी म ढुक्क भै जान्छु । खुसीले भात पनि यति धेरै खाँदो रछु कि आमाले ‘तीन जना लाठेले खाने भात तँ एक्लैले खाइस् मोरा’ भन्छिन् । अनि भन्छिन्– ‘कहिले ल्याउँछस् त बुहारी ?’
साइँली तिम्रो पिरतीलाई राख्ने मेरो मुनमा ठाउँ भए पनि तर तिमीलाई राख्ने मसँग राम्रो घरै छैन । जहिल्यै तारामण्डल देखिने र जहिल्यै खुल्लै रहने छाप्रोमा तिमी कसरी बस्न सकौली र ? के सारो हुतिहारा भएछु म । मेरी साइँलीले यति धेरै माया गर्दागर्दै पनि एउटा राम्रो घर बनाउने जाँगर मलाई किन आउँदैन । यही पहाडका पाखाका रुखका खाँबा, दलिन, बलो र बाकलले एउटा राम्रो घर किन बनाउन सकिरहेको छुँइन ? यही वनपाखामा उमे्रर लहलहाएको खरले छाएर मेरी साइँलीका लागि किन चिटिक्क परेको घर बनाउन सकिरहेको छुँइन ? तर, अब मलाई पक्कै जाँगर र जोश पलाउँछ होला । दशैँतिहार पछिको हिउँदमा तिमीलाई घर भित्र्याउनु पर्ला । आमाले छिट्टै बुहारी ल्या । नाति–नातिनी नखेलाई मर्नु त म ? भनेर कचकच गरेको ग¥यैछिन् । हुनसक्छ उनलाई अब धेरै बाँच्दिन कि भन्ने लाग्दैछ होला । सन्तानको बिलो भने पनि जे भने पनि मै हुँ उनको । सास छँदै छोराको जोडी बाँध्न मन लागेको होला । के म आमाको रहर पूरा गर्न सकौँला र ? मेरी साइँली तिमी रिसाइजाने त होइनौ कतै ?

मेरी साइँली तिमी डाँडाबजारको हाटमा आउन है । पहिले जसरी हामी डाँडाबजार घुमौंला । मुया पिरतीका धेरै–धेरै कुरा गरौँला । म पनि कोशी तरेर टुप्लुक्कै आइपुग्छु मेरी साइँलीलाई भेट्न डाँडाबजार । थाहा छ साइँली तिमीलाई कोसेली दिन भनेर मुइले के–के साँचेर राखेको छु । एउटा छिप्पेको भाले बेचेर तिम्रो लागि कोसेली किन्न पैसो जोहो गरेको छु । आमाले सोधेर हैरान भाले बेचेको पैसा के गरिस् भनेर । मैले त भन्दिएँ कि, तिम्रो बुहारीलाई कोसेली दिन परेन त ? तर, साइँली कोरोनाबाट पो बँचिएला जस्तो छैन । मलाई अत्यासै लागेर आइसक्यो । कतै मेरी साइँलीलाई भेट्न नपाई मरिएला भनेर ।
कोरोनाबाट बच्ने सबै उपाय गरेको छु र त बाँचेको छु । तिमी पनि सुरक्षित बस है मेरी साइँली ! तर, घर छिमेकमा आइसक्यो कोरोना । मान्छे समातेर लगेका लग्यै छन् । कति निको भएर आए कति आएका छैनन् । हन हाव ! लान्छ कि क्या हो साइँली कोरोनाले ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here