जटिलता कम गर्न लागौं

0
863

झापामा कोरोना संक्रमणका कारण आइतबार एकजनाको मृत्यु भएको छ । कन्काई नगरपालिका–९ का एक व्यक्तिको मृत्यु भएसँगै संक्रमणबाट ज्यान गुमाउनेको संख्या झापामा सात पुगेको छ । यसैगरी देशभरमा आइतबारसम्मको आधिकारिक तथ्यांक अनुसार चार सय उनन्तीस जनाले ज्यान गुमाएका छन् । असोज लागेयता देशभरमा औशत आठ जनाले यसकै कारण जीवन गुमाउनु परेको अवस्था र संक्रमणको बढ्दो दर आम नेपालीकै लागि भयपूर्ण छ । अनि पनि नेपालीको दैनिकी र आनीबानीमा सुधार आएको छैन । संक्रमण दरको तुलनामा निको हुने दर न्यून रहेको र संक्रमितमध्ये गम्भीर अवस्थामा जानेको संख्या बढ्दै गएको कारणले सबैलाई सोच्न बाध्य बनाउनुपर्छ ।

पछिल्लो तथ्यांकले देशभर सक्रिय संख्या उन्नाइस हजार नाघेको छ । यही अवधिमा रहेका संक्रमितको प्रतिशत झण्डै छब्बीस छ भने भुटानमा चौबीस दशमलव सात, बंगलादेश, भारत, अफगानिस्तान, माल्दिभ्स, श्रीलंका हुँदै सबैभन्दा कम पाकिस्तानमा दुई दशमलब पाँच प्रतिशत रहेको छ । यसले समेत सार्क मुलुकमध्ये नेपाल सर्वाधिक जोखिममा रहेको देखाएको छ । स्वास्थ्य विभागका विज्ञ तथा चिकित्सकहरुले पनि पहिला देखिएको संक्रमणको तुलनामा कोरोना भाइरसको प्रकृति बदलिएको बताएका छन् । संक्रमित र मृत्युदर बढ्दै जानुका पछि हामीकहाँ स्वास्थ्य सेवाको पहुँच र उपचार नहुनु नै मुख्य कारक रहेको जानकारहरु नै बताउँछन् । जुन कुरा दिनहुँका घटनाहरुले सिद्ध गरिरहेका छन् र मृत्यु दरको बढ्दो ग्राफले पनि पुष्टि गर्दैछ ।

नेपालमा त्यही अवधिमा झण्डै चौवन्न हजार जनाले कोरोनालाई जितेका छन् । तर, यो संख्या सार्क राष्ट्रमध्येको सबैभन्दा कम हो । पाकिस्तान निको हुने देशको सूचीमा सबैभन्दा माथि अर्थात् ९५.४ प्रतिशत छ भने त्यसपछि श्रीलंका ९४.४, माल्दिभ्स ८६.६, अफगानिस्तान ८३.२, भारत ८२.१, भुटान ७५.३, बंगलादेश ७४.८ र नेपालमा ७३.४ प्रतिशत मात्र छ । अन्य देशमा संक्रमितहरुबाट विशेष औषधि खुवाइने गरेकोले निको हुने दर बढिरहेको हुनसक्ने चिकित्सकहरु बताउँछन् । तर, हामी कहाँ न संक्रमणको पहिचान गर्न सहज छ, न त स्वास्थ्य सावधानी अपनाउन आम नागरिक सचेत भइरहेका छन् । आज पनि भीडभाड उत्तिकै छ, अनावश्यक आवागमन बढिरहेको छ, स्वास्थ्यको मापदण्डको पालना नगर्ने समूह त्यत्तिकै छ । सरकारी संयन्त्रहरुले नै स्वास्थ्य सुरक्षाको मापदण्डको पालना नगरेको अवस्थामा जटिलता घट्ने कुरै भएन । यसकै परिणाम हो कि अवस्था जटिलतातर्फ जाँदैछ, निको हुने दर घट्दै छ, मृत्यु दर बढ्दैछ । यसलाई रोक्ने नै हो भने प्रत्येकले सावधानी अपनाएर मापदण्डको पालना गर्नैपर्छ । अन्यथा सार्क मात्र होइन विश्वकै तथ्यांकलाई उछिन्ने निश्चित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here