नेकपामा किन जनजीविकाको सवाल छायाँमा पर्छ ?

0
1068

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का गतिविधिप्रति आम पार्टी पंक्ति र पार्टीप्रति आस्था राख्ने जनतामा ठूलो चासो छ । देखिएको कुरा के हो भने पार्टीको केन्द्रदेखि वार्डसम्ममा जनजीविकाको सवाल धीमारुपमा उठ्न थालेको छ । विगतमा यस सम्बन्धमा घनीभूत छलफल हुने गथ्र्यो । के जनताका गाँस, बास र कपासका समस्या हल भएर नेकपामा आजको अवस्था देखा पर्दै गएको हो ? नेपाली कांग्रेसलाई जनताका पक्षमा काम नगरेको जुन आरोप लाग्थ्यो, त्यही आरोप नेकपामाथि लाग्नु दुःखद् पक्ष हो । पार्टी र सरकार सञ्चालनमा देखा परेको खटपट सतहमा सकिएको भए पनि अन्तर्यमा वडवानल झैं प्रज्ज्वलित भइरहेको छ । लगभग दुई तिहाइको संसदको समर्थनको जगमा उभिएको पार्टी अध्यक्ष केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले जनअधिकारको पक्षमा काम नगरेको र जनअपेक्षा पूरा गर्न नसकेको गुनासो बढिरहेको छ । नेकपामा जनताबाट अलगथलग भएर उच्च जीवन शैली अपनाउने क्रममा विस्तार भएको हो । यो चिन्ताको विषय हो ।
जनजीविकाको प्रश्न ओझेलमा पर्दै जानु भनेको कम्युनिष्ट पार्टीले आफ्नो प्राकृतिक रंग गुमाउँदै जानु हो । श्रम र श्रमजीवी प्रतिको दृष्टिकोणमा ह्रास हुँदै जानुलार्ई सामान्य कुरा मान्न सकिन्न । श्रमजीवी र मेहनतकश जनताको पक्षमा उभिने प्रतिबद्धता व्यक्त गरेको र समाजवाद हुँदै साम्यवाद स्थापनाका सपना बोकेको पार्टीमा पदलोलुपता, अहंकार र नेताहरूमा सम्पत्तिमोह झाँगिदै जानु अनपेक्षित कुरा हो । नेपाली वामपन्थी आन्दोलनको मूल प्रवाहको रुपमा रहेको नेपाल कम्युनिस्ट पार्टीले जनताका पक्षमा नित्य निरन्तर काम गर्छ भनेर आस्था राख्नेलाई विश्वासको संकट देखा परेको छ । झण्डै दुईतिहाइ मतादेशसहित नेतृत्व गर्दा पनि जनअपेक्षा अनुसार काम गर्न नसकेकामा दोषी को हो ? सरकार कि पार्टी ? यो
जनअसन्तुष्टिको जगमा नेकपाको भविष्य कस्तो होला ? यो जनताको सरकार हो भनेर दावा गर्ने हो भने जनपक्षीय काम किन हुन सकिरहेको छैन ? सरकारमा जानका लागि किन इमान, जमान, निष्ठा र इतिहास पोलेर सिध्याउन तम्तयार हुन्छन् नेताहरु । अहिले पार्टीमा र सरकारमा जानेहरुमा रातारात धनी हुने, उच्च पद हासिल गर्ने, प्राप्त पद कहिल्यै नछाड्ने, नेता र सरकारको पहुँचमा रहने प्रवृत्ति कार्यकर्तामा हावी हँुदै गएको छ । जस्तोसुकै कमजोरी गरे पनि नेतृत्वबाट संरक्षण पाइन्छ भन्ने विश्वास पैदा हुनु दुःखद् कुरा हो । दण्डहीनताले अराजकता सृजना गर्छ । कर्मचारीतन्त्रभित्रको अनियमितता र भ्रष्टाचारमा कुनै कमी आएको छैन । तौरतरिका र स्वरुप बदलिएका होलान्, तर बेथिति र विकृति उस्तै छ । जनताले सास्ती पाउने कुरा रोकिएको छैन ।

साँचो कुरा के हो भने जनताको मनमा रहन सके र जनता खुसी भए कम्युनिस्ट सरकार निरन्तर चलिरहने छ । तर, जनता रुष्ट भए भने बाहिरी आडभरोसाले सरकार टिक्न नसक्ने कुरा घाम जत्तिकै स्पष्ट छ । लोकतन्त्रको सुदृढीकरण र जनजीविकाका सवालमा सरकारले जनताको आशा र अपेक्षा अनुरुप काम गर्न नसकेको सम्पूर्ण दोष सरकारको नेतृत्व गर्ने नेताहरुको थाप्लोमा थोपर्ने र पार्टीका अन्य नेतृत्व चोखिने हुन सक्दैन । सरकारका कार्यशैली र निर्णयमा पार्टीको सम्पूर्ण नेतृत्वको जस र अपजस दुवै हुन्छ । पार्टीकै नेतृत्वमा सरकार सञ्चालन हुने संसदीय परिपाटीको सामान्य कुरा हो । अर्को महत्वपूर्ण कुरा, पार्टी एकीकरण प्रक्रिया अहिलेसम्म पनि पूरा भएको छैन । जनवर्गीय संगठन लगायतका एकीकरणका काम पनि अझै बाँकी छन् । पार्टी एकीकरण प्रक्रिया पूरा गर्न भएको ढिलाइका कारण केन्द्रीय, प्रादेशिक र स्थानीय सरकारहरु सक्षमताका साथ काम गर्न सकिरहेका छैनन् । नेकपाभित्र अहिले पनि पूर्व एमाले र पूर्व माओवादीका धङ्धङी कायम रहेको छ । तल्लो तहमाभन्दा पनि माथिल्लो तहमा रेखाहरु अझै बाँकी छन्, प्रत्यक्ष÷परोक्ष रुपमा गुटगत अभ्यास कायम छन् ।

पार्टी संयन्त्र र सरकारबीच नीतिनिर्णय र कार्यान्वयनका बारेमा मतैक्य हुन नसक्दा र सही रुपमा तालमेल हुन नसक्दा आशातीत सफलता प्राप्त गर्न नसकिएको साँचो हो । कोभिड–१९ को महामारी साम्य हुँदै गएमा पार्टीको राष्ट्रिय महाधिवेशन २५ चैत २०७७ मा हुनेमा आशा गर्न सकिन्छ । आरोप÷प्रत्यारोपको कहिल्यै नटुंगिने श्रृंखलाको समाधान भनेको पार्टीको संस्थागत निर्णयले सरकार सञ्चालन हुने र सरकारले गर्ने निर्णयको स्वामित्व पार्टीले लिन सक्नुपर्छ । सरकारले गरेको ठीक कामलाई ठीक भन्ने र गलत कामको आलोचना गर्ने विधि नै सही हो । नेपालका नेताहरुले न शत्रु चिन्न सके, न रोग चिन्न सके । नेपालमा रहेको गरिबी, पछौटेपन, वेरोजगारी, पारिवारिक विघटन, वैदेशिक पलायन, नेपाली संस्कृतिको द्रूततर ह्रास आदि मुख्य शत्रुहरु हुन् भने नेपाली नेतामा पन्पिँदै गएको पदलोलुपता, भ्रष्टाचार, कमिसनखोरी, भविष्यप्रतिको निराशा आदि भयंकर रोगहरु हुन् । सरकारको कामबाट पार्टीपंक्ति र जनता उत्साहित हुन सक्नुपर्छ । नेता र जनताको बीचको सम्बन्ध गाढा हुन सक्नुपर्छ र मुलुकका मुख्य दुश्मन र रोगबाट टाढा हुन सक्नुपर्छ । तब मात्र मुलुकले विकास र नवनिर्माणको गोरेटो पक्डन सक्नेमा आशा गर्न सकिन्छ ।

केन्द्र, प्रदेश र स्थानीय तहसम्मै नेकपाको सरकार रहेका बेला पार्टीसँग समन्वय संयन्त्र निर्माण गर्न नसक्दा जनअपेक्षित प्रतिफल दिन चुकेको हो । पार्टीको अहिले कै चाल हेर्दा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय नारा फगत देखावटी नारामा सीमित हुने देखिन्छ । लाग्छ, नेपालको संविधान २०७२ ले निर्देशित गरेको समाजवाद उन्मुख राज्यव्यवस्थाको जग निर्माण गर्ने कुरा संकथनमै सीमित हुने हो कि ! नेतृत्व, पार्टी परिचालनको व्यवस्था, तीन तहको सरकार, जनप्रतिनिधिले जनतालाई आश्वस्त बनाउन सक्ने÷नसक्ने भन्ने कुराले यो कुराको निर्धारण हुन्छ । पार्टीमा रहेको विद्यमान विचार, राजनीतिक अवस्थाले समृद्धि र समाजवादको सपना केवल सपना मात्र हुने आशंका बढेको छ । वास्तवमा सरकारले गरेका राम्रा कामको दिल खोलेर प्रचार गरेको पनि देखिँदैन । के सरकार र प्रधानमन्त्रीले जनहितमा कुनै काम गरेका छैनन् ? पार्टी किन बोल्दैन ? वैज्ञानिक तथ्य के हुन जान्छ भने सरकारका निर्णय र कामकारवाही शतप्रतिशत सही र गलत दुबै हुँदैनन् । तर, पार्टी नेताहरु पार्टीकै सरकारका पक्षमा किन छैनन् ? राम्रोलाई राम्रो भन्न किन सकिँदैन ? पार्टीका उच्च तहका नेताहरु मुलुकको भाग्य निर्माण गर्ने अर्थनीतिसहितको खाका बनाउन किन सक्दैनन् ? शिक्षा क्षेत्रको खाका बनाउन किन सक्दैनन् ? समाजवादको आधारशिला खडा गर्ने पार्टीको वैज्ञानिक विचारसहितको व्यवस्थित ढाँचा बनाउन किन सक्दैनन् ? सबै कुरा के सरकार मात्र हो ? विचार शून्य पार्टी र त्यस्तो पार्टीले सञ्चालन गरेको सरकारको भविष्य उज्यालो हुनेमा विश्वास गर्न सकिँदैन ।
नेकपाले आफूलाई जनताको पार्टी सम्झने हो भने कार्यशैली बदल्न जरुरी छ । नेकपाले आफूलाई लोकतान्त्रिक सम्झने हो भने आफूलाई एक्काइसौं शताब्दी सुहाउँदो लोकतान्त्रिक पार्टीको रुपमा उभ्याउन जरुरी छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका क्षेत्रमा स्पष्ट दृष्टिकोणसहित अघि बढ्न जरुरी छ । अहिलेको सरकारको सफलता र असफलताको सम्पूर्ण जसअपजस पार्टीकै थाप्लोमा आउँछ भन्ने कुरामा हेक्का राख्न जरुरी छ । नेपाली कांग्रेस आफ्ना राम्रा नीति र विचारले भन्दा नेकपा र सरकारका नराम्रा कुराहरुको जगमा जनविश्वास आर्जन गर्न कोशिस गरिरहेको छ । यही कुरा नेकपाको हकमा पनि लागू हुन्छ । नेपाली कांग्रेसको कमजोरीको जगमा नेकपाप्रतिको जनविश्वास टिकेको छ भनेर मान्ने हो भने त्यो सर्वथा गलत हुन्छ । तसर्थ, नेकपाले जनता र कार्यकर्तामा आफ्ना असल कार्यक्रमको बलमा आशाको सञ्चार गर्न सक्नुपर्छ । नकारात्मकताको परावर्तन नकारात्मक नै हुन्छ ।

विशाल जनसमर्थन भएको, पार्टी नेता र कार्यकर्ताको फराकिलो सञ्जाल भएको र ७० वर्षभन्दा बढीको इतिहास बोकेको नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको केन्द्रीय, प्रादेशिक र स्थानीय सरकारहरुले जनताको खुशीयालीका लागि परिवर्तनको अनुभूति दिने गरी काम गर्न असफल रहे भने जनतामा निराशाको भाव सञ्चार हुन सक्छ । निराशाले आक्रोश र आक्रोशले पलायन वा विद्रोह दुईमध्ये एक वा दुवै परिस्थितितर्फ जनता र मुलुकलाई धकेल्छ । यसबाट मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रसहितको राज्यव्यवस्था पनि धरापमा पर्न सक्छ । मुलुकमा विद्यमान आर्थिक, भौतिक, मानवीय स्रोतसाधनको समुचित उपयोग गरेर मात्र मुलुक समृद्धिको बाटोमा लाग्न सक्छ । दल र सरकार भनेका केबल मुलुकको लक्ष्य प्राप्तिका लागि साधन मात्र हुन् । यो सच्चाइलाई नेकपा र नेकपा नेतृत्वको सरकारले बुझ्नु जरुरी छ । जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन जनजीविकाको मुद्दालाई नेकपाले साथै लिएर अघि जान जरुरी छ ।
तष्चतजबपजबचभद्दिण्द्दड२नmबष्।िअयm

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here