सतीले सरापेको देश र कुलमान कनेक्सन

0
1267

शीर्षक पुष्टि ः
नेपाललाई सतीले सरापेको छ भनिन्छ । हुन पनि नेपालमा अरुको भलो चाहनेको कहिल्यै भलो भएको छैन । पछिल्लो घटना भनेको कुलमान घिसिङको हो । कुलमानले आफ्नो कार्यकाल सफलतापूर्वक निर्वाह गरे । घाटामा भएको विद्युत् प्राधिकरणलाई घाटा व्यहोरेर ११ अर्ब नाफामा लाने कामको नेतृत्व गरे । प्रायः अन्धकारमा रहने नेपाललाई उज्यालो बनाए । अर्थात् लोडसेडिङबाट आक्रान्त नेपालीलाई लोडसेडिङ मुक्त बनाए ।

देशका सर्वसाधारण जनतालेसम्म अरु एक कार्यकाल कुलमानलाई नै प्राधिकरणको जिम्मेवारी देउ सरकार भनेका थिए । तर, ओली सरकारले सुनेन । अहिले पनि प्राकृतिक विपद्ले या अचानक ट्रान्सफर्मर पड्किएर वा प्राविधिक कारणले बत्ती जाँदा आम जनताले भन्ने गरेका छन्– ऊ कुलमानलाई फालेकाले लोडसेडिङ भयो । कुलमानकै कार्यकालमा पनि यस्ता कारणले बेला–बेला बत्ती गएकै हो । तर, जनताले प्राविधिक कारणले हो भनेर विश्वास गर्थे । तर, अहिले बत्ती जाने बित्तिकै कुलमान नभएकाले यस्तो भयो भनेर टिप्पणी गर्छ्न्÷गरिरहेछन् । फेरि पनि कुलमानकै नियुक्ति हुन्छ कि भनी झिनो आशामा छन् ।

तर, केपी शर्मा ओलीको झण्डै दुईतिहाइको शक्तिशाली सरकारले देशको भलो चाहने, नेपाली जनताको भलो चाहने र सरकारको भलो चाहने कुलमानको कार्यकाल कानूनी बाधा अड्चन जस्ता अनावश्यक हथकण्डा देखाएर नवीकरण गरेन । जनताको आस्था, विश्वास र भरोसामाथि सरकारले लात्ती हान्यो । यस घटनाले अझै पनि सतीको सरापले नेपाललाई छोडेको छैन भनेर चरितार्थ भएको छ ।

के हो सतीले सरापेको इतिहास ः
१६औं शताब्दीमा नेपालमा लक्ष्मीनरसिंह मल्ल नामका राजा थिए । उनले अहिलेको काष्ठमण्डप जसलाई त्यतिखेर मरु सत्तल भनिन्थ्यो सन् १५९५ मा निर्माण गराए । राज्यको आर्थिक उन्नतिका लागि भोटसँग सम्बन्ध राम्रो बनाउने दृष्टिकोण राखे । दरबारमा योग्य मान्छे राख्नेक्रममा भीम मल्ललाई काजी पद दिएर कामको जिम्मेवारी पनि दिए ।

आफूले जिम्मेवारी पाएपछि काजी भीम मल्लले देशको आर्थिक उन्नतिका लागि देशभित्र र देश बाहिर त्यसबेला अहिलेको तीब्बतलाई भोट भनिन्थ्योसँग व्यापार विस्तार गर्नुपर्छ भन्ने सोच राखे । काठमाडौंमा ३२ वटा व्यापारिक कोठी (अहिलेका मल) बनाए । भोटमा पनि व्यापार बढाउन भोटको भ्रमण गरे । नेपाली व्यापारीलाई लिएर भोट गए । राजधानी ल्हासामा केही नेपालीहरुको सम्पत्ति भोटका शासकले हड्पेकाले त्यसलाई भोटका राजासँग वार्ता गरी फिर्ता दिलाए । नेपाली व्यापारीका लागि ल्हासामा केही व्यापारिक कोठी बनाए ।

भोटका राजासँगको वार्तामा दुबै देशबीच सौहाद्र्र सम्बन्ध विकास गराउनुका साथै व्यापारिक सम्बन्धका लागि सन्धी पनि गरे । भोटको अधिन रहेको कुतीलाई नेपालको अधिन पार्न सफल भए । त्यसबेला केरुङ र कुती नै भोटसँगको व्यापारका लागि मूख्य मार्ग थिए । झण्डै १४ महिना लामो भोटको भ्रमण गरेर फर्कदा उनले ठूलो संख्यामा राजाका लागि सुन र चाँदी पनि ल्याए ।

तर, काठमाडौंमा रहेका अन्य भारदार र काजीहरु भीम मल्लको उन्नति र प्रगति तथा राजाको विश्वास देखेर उनको आरिस गर्थे । अनि उनीहरुले भीम मल्ल भोटमै रहेको वेला उनीविरुद्ध राजा लक्ष्मी नरसिंह मल्लको कान भरे । राजालाई भीम मल्ल आफैं राजा हुन खोज्दैछन् भनेर कुरा लगाए । यो अरु भारदारको षडयन्त्र हो भनेर राजा लक्ष्मी नरसिंह मल्लले विवेक पु¥याउन सकेनन् । अनि भोटबाट काठमाडौं आएकै दिन घरमै नगई सोझै राजालाई भेट्न गए ।

अरुको कुरा सुनेर राजाले घरमा सम्पत्ति थन्क्याएर आयो भनेर आफूलाई शंका गर्लान् भनेर उनी घरै नगई राजालाई भेट्न दरबार गएका थिए । आफूलाई भेट्न आएका भीम मल्ललाई राजा लक्ष्मी नरसिंह मल्लले बन्दी बनाएर मृत्युदण्ड दिए । भीम मल्ललाई सफाईको मौका दिइएन । भीम मल्लकी रानीले अनुनयविनय गर्दा पनि राजाले सुनेनन् । त्यो घटनाले मर्माहत भएकी भीम मल्लकी रानीले सती जाँदा–जाँदै राजालाई र देशलाई नै यो दरबारमा (देशमा) भलो चिताउनेको कहिल्यै भलो नहोस । शासकहरुमा विवेक नहोस् भनेर सरापिन् र पतिको चितामा प्रवेश गरी सती गइन् ।

यस दिनपछि नेपालमा धेरै शासक आए । काजी र प्रधानकाजी भए । धेरै राम्रा काजी र पछिल्लो कालमा प्रधानमन्त्री र मन्त्री भए । राम्रा प्रशासकहरु आए । उनीहरुले देशका लागि जनताका लागि धेरै राम्रा कामको थालनी गरे । तर, उनीहरुको पतन अरुकै कुरा सुन्ने आफ्नो विवेक नभएका शासकहरुका कारण नराम्ररी भयो । एउटा उदाहरण भीमसेन थापाको पनि हो । भीमसेन थापाको पतनपछि उनका पनि पत्नी सती जाँदा भीम मल्लकै रानीले जस्तै देशलाई सरापेका थिए भनिन्छ । त्यसैले हरेक सतीले अरुको भलो चिताउने आफ्ना पतिको मृत्यु वा पतनमा ती सतीले जस्तै सरापेका सराप्यै छन् । नेपालका शासकहरुले कहिल्यै विवेक पु¥याएको इतिहास देखिएको छैन ।

कुलमान कनेक्सन ः
कुलमानविरुद्ध ब्याट्री र इन्भर्टरमा, कमिसन खान पल्केकाहरु, उद्योगहरुलाई लोडसेडिङ नगराउने भनी कमिसन खान पल्केकाहरु, विद्युत्को भोल्टेज छैन भनेर उद्योगहरुसँग घुस खाएर लाइनको कनेक्सन मिलाई दिनेहरु नै कुलमानको नवीकरणविरुद्ध अघोषित रुपमा लागे । उनीहरुलाई सरकारका नीति निर्णायक स्थानमा बस्नेहरु मार्फत मन्त्रीहरुलाई पनि आफ्नो पक्षमा पारे । त्यसमा पनि लोभीपापीहरु सहमत भए । उनीहरुकै कुरालाई विश्वास गरेर विवेक प्रयोग नगरी गरेको नदेख्ने अन्धो बनेर ओलीले नवीकरणको चर्चै सुन्न मानेनन् भने उनका अरिंगालहरुले ओलीलाई कानूनी बाधा अड्चन देखाएर नवीकरण रोकाए ।

यदि कानून मै त्यस्तो व्यवस्था छ भने खुल्ला दर्खास्त माग्न सक्थ्यो नि सरकारले । त्यसमा कुलमानले प्रतिष्पर्धा नगरेमा बल्ल भन्न पाइन्थ्यो । त्यो मौका खोइ ओली सरकारले दिएको । कुलमान भन्दा अर्को राम्रो प्रस्ताव लिएर आए उसैलाई दिए पनि हुन्थ्यो । त्यो पनि गरिएको छैन । कार्यबाहकलाई जिम्मा लगाएर विद्युत् प्राधिकरणको प्रगतिमा बाधा हाल्ने काम ओली र उनका मतियारहरुले गरेका छन्  । यही कनेक्सन ।

र अन्त्यमा, जबसम्म शासकहरुमा अरुको कुरा सुनेर खास गरी चाकरीबाजहरुको कुरा सुनेर काम गर्ने र विवेक नराख्ने अवस्था रहिरहन्छ तबसम्म नेपालमा राम्रो काम गर्नेको भलो हुँदैन । यो अवस्था अहिलेका दलका नेताहरुमा पनि सरेको छ । शासकहरु त क्षमतालाईभन्दा चाकरी गर्नेलाई प्राथमिकता दिन्छन् दिन्छन् । दलका नेताहरुमा त्यस्तै दुर्गुण देखिएको छ । यस्तो सोच नहटेसम्म र सतीहरुसँग अहिलेका शासकहरुले माफी मागेर आइन्दा विवेक पु¥याउँछौं भनेर प्रतिबद्धता प्रकट गर्दै दुईचार उदाहरण नदेखाएसम्म सतीको सरापबाट हाम्रो देश र हाम्रा शासकहरुले उन्मुक्ति पउँदैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here