मनसुनको रहस्य

0
961

“असारे महिनामा पानी प¥यो रुझाउने
एक्लो यो मेरो मन कसरी बुझाउने”

माथिको गीत धेरै नेपालीहरुले सुनेको र गुनगुनाउने गरेको गीत हो । असार साउन महिनाको बर्षाले खेती प्रणाली मात्र होइन यहाँको जैविक विविधता, पर्यावरण, माटो, मौसम तथा बायो जेओग्राफी आदिमा ठूलो महत्व राखेको पाइन्छ । असारे पानीमा भिज्दै खेती गर्नुको मज्जानै बेग्लै हुन्छ । तर, असारे पानी कसरी परेको हो ? किन त्यही समयमा मात्रै ठूलो बर्षा हुन्छ ? किन हिँउदमा यसरी पानी नपरेको होला ? यसको उत्तर खोज्ने जमर्को धेरैले नगरेका हुन सक्छन् । यिनै कुराहरुलाई प्रकाश पार्ने प्रयास यो आलेख मार्फत गरिएको छ । यस बर्ष २०७७ सालमा मनसुन निकै छिटो शुरु भएर ढीलोसम्म रह्यो । यस बर्ष सँधैभन्दा निकै बढी बर्षा पनि भएको छ । बर्षा भएसँगै उत्साहजनक कृषि उत्पादन वृद्धिको अपेक्षा समेत गरिएको छ ।

नेपालमा बर्षायाममा हुने गरेको बर्षा बंगालको खाडीबाट आएको बाष्पयुक्त वायुको कारण हो । यसलाई मनसुन भनिन्छ । त्यसकारण असार साउन महिनाको बर्षालाई मनसुनी बर्षा भनिन्छ । नेपालको धरातलीय बनोट पनि रोचक छ । नेपाल हिमालय पर्वतको दक्षिणी काखमा अवस्थित दक्षिण एसियाको एउटा मुलुक हो । दक्षिणबाट उत्तरतर्फ अति छोटो दूरीमा मौसममा देखिने पृथकता यहाँको बिशेषता बनेर रहेको छ । फेरि तराइ, पहाड, हिमाल, उपत्यका, भावर, भोट प्रदेश सबै नेपालभित्रै छन् । समुद्री सतहबाट ६० मिटरदेखि अग्लिएर विश्वको सर्वोच्च शिखर ८८४८ मिटर अग्लो सागरमाथासम्म चुलिनु नेपालको भू–बनोट हो । यस्तो बनोटले समेत बिभिन्न स्थानमा बर्षाको प्रभाव फरक–फरक पारी दिन्छ । बंगालको खाडीबाट आएको बाष्पयुक्त वायु हिमालय पर्वतमा ठोक्किएर सो पर्वतको दक्षिणतर्फको क्षेत्रमा बर्षा हुँदा नेपालको प्रायः सबै भागमा पानी पर्छ ।

पूर्व–पश्चिम फैलिएका पहाडहरुमा दक्षिणी पाखोमा बढी र उत्तरी पाटोमा कम बर्षा हुन्छ । दक्षिणी पाटो न्यानो र जैविक बिविधतामा समेत तुलनात्मक रुपले सम्पन्न हुन्छ । बर्षाको सम्भावना समर सिजनर गर्मी मौसममा हुन्छ । यो मौसममा उच्च तापक्रमले पानीको बाष्पिकरण, बादल बन्ने प्रक्रिया तथा वायुको बहाव सम्भव पारी दिन्छ । नेपालको तापक्रमलाई प्रभाव पार्ने प्रमुख तत्व भनेको उचाइ नै हो । धरातलीय उचाई मात्रैले पनि तापक्रममा प्रभाव पारेर रहेको हुँदैन । यो अक्षांस तथा बर्षामा समेत भर पर्छ ।

बर्खायामको पानी नेपालको पश्चिमीभन्दा पूर्वी भागमा बढी पर्दछ । यसको प्रमुख कारण मनसुन नेपालको पूर्वी भागबाट पसेर पश्चिमतर्फ जानु नै हो । नेपालको लगभग मध्य भागमा रहेको पोखरामा सबैभन्दा बढी बर्षा हुने गरेको छ । ८१६९ मिटर अग्लो धौलागिरी हिमाल पोखराको नजिक पर्दछ । पूर्वी तथा दक्षिणी दिशाबाट आएको पानीको बाष्परुपी वायु सोही हिमालमा ठोक्किएर पोखरामा ठूलो बर्षा भएको मानिन्छ । हुन त नेपालको उत्तरी भागमा पूर्वबाट पश्चिम फैलिएर रहेको हिमालय श्रृंखला नै छ । तर, अन्य स्थानभन्दा पोखरामै बर्षाको प्रभाव बढी हुनुमा चाखलाग्दा कुराहरु लुकेर रहेका छन् ।
सागरमाथामा ठोक्किएर फर्केको तथा त्यहाँबाट सिँधै पश्चिमतर्फ मोडिएको बाष्पयुक्त बायु पुनः धौलागिरी हिमालमा ठोक्किने गर्दछ र पोखरा क्षेत्रमा भारी बर्षा हुन्छ । जहाँको बार्षिक औसत बर्षा ३३६५.५ मिमि रहेको छ ।

ओलाङ्चोङगोलाको नजिक रहेको पूर्वी पहाडको नुम भन्ने स्थानमा समेत बर्षाको प्रभाव बढी देखिएको छ । कुनै बर्ष त्यहाँ पोखराकोभन्दा बढी बर्षा भएको उदाहारण भेटिएका छन् । तर, लगातार धेरै बर्षको तुलनात्मक अध्ययनपछि नेपालको दोस्रो बढी बर्षा हुने स्थानको रुपमा त्यस ठाउँलाई मानिएको छ ।

नुम सागरमाथाको पूर्वमा पर्छ भने पोखरा धौलागिरीको । विश्वमै सबैभन्दा बढी बर्षा हुने स्थान आसामको चेरापुञ्जी हो । चेरापुञ्जी माउन्ट कञ्चनजङ्गाको पूर्व तर्फ पर्दछ । चेरापुञ्जी, नुम र पोखराको औसत बर्षा र तापक्रम तुलनात्मक अध्ययन अति नै चाखलाग्दो समेत छ । बंगालको खाडीबाट आएको बर्षायुक्त वायु सबैभन्दा पहिले भारतको खाशी हिमालमा ठोक्किन पुग्छ । बाँकी वायु विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्गा (८५८८ मिटर)मा ठोकिन्छ र विपरीत दिशामा वायु फर्कन्छ अनि बर्षा हुन्छ । यसको बढी प्रभाव चेरापुञ्जीमा देखिएको छ । पृथ्वी पश्चिमबाट पूर्वतर्फ घुम्नु र बाष्पयुक्त वायु पूर्वबाट पश्चिमतर्फ मोडिनुको प्रभावले फेरि उक्त वायु विश्वको सर्वोच्च शिखर सागरमाथा (८८४८ मिटर)मा ठोक्किन गई पूर्वी नेपालमा बर्षा हुन्छ ।

यसमध्ये नुममा यसको सर्वाधिक प्रभाव देखिएको छ । फेरि बाँकी पानी बोकेको बादल विश्वको पाँचौं अग्लो हिमाल धौलागिरी (८१६९.२ मिटर)मा ठोक्किन पुग्छ र त्यसको पूर्व–दक्षिणतर्फ रहेका स्थानमा बर्षा हुन्छ । यहाँ ठूलो प्रभाव पोखरा लुम्लेमा देखिएको छ । नुम र लुम्ले पोखराको तुलनात्मक मनसुनको अध्ययन वनस्पतिविद् बमबहादुर श्रेष्ठले आफ्नो पुस्तक फोरेष्ट प्लान्टस् अफ नेपालमा उल्लेख गरेका छन् । धौलागिरीदेखि पश्चिम जम्बु कश्मिर, पञ्जावसम्म नै यति अग्लो हिमाल नभएको कारण सो स्थान पश्चिम बर्षाको प्रभाव न्यून हुँदै गएको पाइन्छ । यसैको कारण पञ्जावमा मरुभूमि बन्यो । नेपालको हिमाल पारीको मुस्ताङमा अति न्यून बर्षा भएको कारण यसलाई हिमाली मरुभूमि (हिमालयन डेजर्ट) समेत भनिन्छ ।

पानी पर्नु भनेको पानीको बाष्पयुक्त वायु पहाडमा ठोक्किएर रबर जस्तो फेरि फर्केर ठोक्किनु र पृथ्वीको गुरुत्व बलको कारण जमिनमा पानीको रुपमा झर्नु हो । यसलाई पुष्टि गर्ने अर्को सिद्धान्त पनि रहेको छ । यस अनुसार प्रत्येक पदार्थको वरिपरि एक बिशेष क्षेत्र रहेको हुन्छ । जसरी चुम्बकको वरिपरि उसको आकर्षण गर्ने चुम्वकीय क्षेत्र रहेको हुन्छ । हिमालय पर्वतको वरिपरि बिशेष प्रकारका चिसा तरङ्गहरु (कोल्ड वेभ्स) हुन्छन् । बंगालको खाडीबाट आएको तातो बाष्पयुक्त वायु उक्त चिसा तरङ्गसँग ठोक्किन पुग्छ र बाष्पयुक्त वायु पानीका थोपाहरुमा बदलिन्छ । त्यसपछि गुरुत्व बलको कारण पृथ्वीको सतहमा झर्दछ । यसलाई हामी बर्षा भएको भन्छौँ । यसप्रकार असार–साउनमा बर्षा हुन्छ । खेतीपाती लाग्छ । अन्न फल्छ । हामी सबै बाँच्दछौँ । जंगल हराभरा हुन्छन् । अनि गीतकार र कविहरु कलम चलाउँछन्–

“पानीको रिमझिम बर्षाको बेला…,
साउनी खोला उर्लेर आउँदा…,
साउने झरीमा यो गाउँको गोरेटो…,
साउने झरिबनी तिमी आउन
मेरो मनको मझेरीमा जुन छाउन ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here