बीरबहादुर श्रेष्ठको सत्य कथा

0
726

तुलसीराम खरेल,

सानामा त्यो पहाडको दुःख सम्झेर भागेर मुग्लान जान मन लाग्थ्यो । सलल बगेको माइखोला र घर देखिपर दोभानमा लाग्ने हाटबजार अनि सँधै मुस्कुराइरहेको देखिने कञ्चनजंघाले भाग्नै दिँदैनथे । चुनावको बेला दुःखहरणको कुरा सुनिन्थ्यो तर चुनावपछि झन् दुःखका अध्यायहरु थपिँदै जान्थे । अरुहरु जस्तैका भीडमा बीरबहादुर पनि पर्दथे । झापा बिद्रोहको राँको बलेको सुनिन्थ्यो त्यसबेला । रत्नकुमार वान्तवाका टोलीको प्रभाव इलाममा धेरै थियो । पञ्चायती एकतन्त्रीय व्यवस्थाको बिरुद्धमा बिद्रोहका स्वरहरु यत्र तत्र सुनिन थालेका थिए । स्वभावले नै बीरबहादुर बीर, साहसी र बिद्रोही प्रकारका थिए । क्रान्तिको ज्वालो समातेर शोषणको जञ्जिर तोडेर मुलुकलाई गरिवीको यातनाबाट मुक्त गराउने कुरा नै उनको टाउकोमा घुमिरहन्थ्यो । उनी व्यवस्था बिरोधी मोर्चामा बसेर सानातिना गतिबिधिहरुमा संलग्न हुन थालिसकेका थिए ।

गाउँघरमा तिहारको बेला सांस्कृतिक कार्यक्रमहरुको आयोजना हुने गर्दथ्यो । बीरबहादुरको समूहले मारुनी नाच, बालन, संगिनीका ठाउँहरुमा बिद्रोहका गीतहरुलाई प्रवेश गराइसकेका हुन्थे । डाँडाकाँडा थर्कनेगरी स्वतन्त्रताका स्वरहरु गुञ्जन्थे । मानिसहरुको आकर्षण क्रमशः त्यस्तै गतिबिधिहरुतिर तानिन थालेको थियो । बीरबहादुर घर छोडेर समेत हिँड्न थाले । उनको मोर्चा भारतीय नेता चारुको नक्सलाइट आन्दोलनबाट प्रभावित थियो । उनी पाँचथर, ताप्लेजुङ, झापा तथा बंगालसम्म बिभिन्न भूमिगत कार्यक्रमहरुमा भागलिने गर्दथे । सोही क्रममा ०२२ सालताकादेखि क्रान्तिमा होमिए ।

एउटी अधबैँसे महिलासँग पिरती बसेरै छोड्यो । त्यो समय छोराछोरीसहितकी महिलालाई अपनाएर उनले चलिरहेको सामाजिक प्रथासँग पौठेजोरी खेले । आफ्ना छोराछोरी नभए पनि श्रीमतीसँगै आएका बच्चाहरुलाई स्नेह बाँडे । शिक्षा दिए । गाँस बासको प्रबन्ध गरे । घरयासी अवस्थाभन्दा देशकै अवस्था उठाउनेतिर उनको ध्यान जान थालेको थियो । झापा आन्दोलनका अग्रज केपी, आरके, सीपीहरुसँगै जेल पनि परे । ०२८ सालको झापा किसान बिद्रोहका अग्रभागमा लागेका बीरबहादुर भागेर केही समय भारत पसे । उनका धेरै सहयोद्धा समातिए । नेत्र, बीरेन, जस्ता योद्धाहरु मारिए । आन्दोलनका क्रममा धर्मप्रसाद ढकाल लगायतका केही निर्दोष मानिसहरु मारिएको कुराले उनको मन खुशी थिएन । आज पनि उनी सो कुराले दुःखी देखिन्छन् । समयले उनलाई चारबर्ष जेलभित्र पा¥यो । सामान्य खेती किसानी गर्दै गाउँमा बस्ने श्रीमती र छोराछोरीहरुको भरणपोषणमा समय दिनै सकेनन् । बीरबहादुर परिवारका लागि काँतर कहलिए ।

सेन्ट्रल जेलमा एकदिन उज्यालो दिनको कुरो उठ्यो । सबैतिर झलमल्ल बिजुली, सिञ्चाई, उच्च उत्पादन, उल्लासपूर्ण समृद्ध समाज, जनताप्रति उत्तरदायी जन सरकार । स्वास्थ्य र शिक्षाको उच्च प्रबन्ध, रोजगारी , कृषि र गैरकृषिजन्य उद्योगधन्दाहरु आदिको निर्माण गरेर देशको मुहार हसिलो बनाउने । नेपाल आमालाई हँसाउने । नेपाल आमालाई हँसाउने बाटोमा हिँडिरहँदा आफ्ना नाबालक छोराछोरीलाई हँसाउन भुलेका थिए– बीरबहादुरले । त्यो सपनालाई बिपनामा परिवर्तन गराउने अठोट उनले पनि गरे । बरु तत्कालीन सरकारले भनेका केही कुरा मानेझैँ गरेर जेल मुक्त हुने र ग्रामीण क्षेत्रमा बसेर जागरणका कार्यहरु गर्ने भन्ने इच्छा अनुसार नै तत्कालीन राजाको शुभजन्मोत्सवको अवसरमा बीरबहादुर पनि ०३३ सालमा जेलमुक्त भए ।

समय बितेर गयो । ०४६ सालमा देशका ठूला पार्टीहरु तत्कालीन प्रतिबन्धित नेपाली कांग्रेस र संयुक्त बाम मोर्चाबीच कार्यगत एकता भयो र पञ्चायती व्यवस्था ढाल्ने निर्णय गरियो । यो निर्णयले बीर बहादुरले बीरतापूर्वक लड्ने प्रण गरे । संयुक्त जनआन्दोलनको तागतले पञ्चायती व्यवस्थाको अन्त्य भयो र नयाँ संबिधान पनि बन्यो । तर, बीर बहादुरको शरीर भने क्रमशः अशक्त बन्दै गयो । उनका जेलमा सँगै बसेका केपी सीपी आरकेहरु देशका ठुला पदहरुमा पुगे । चिल्ला कार चढे । देशैभरि घुमेर गलाभरि माला पहिरिए । युद्धका बीर योद्धा बीरबहादुर परिवारबाट पनि अपहेलित बन्दै गए । उनले आफ्नो आत्मसम्मान बिक्री गर्न चाहेनन्, हात पसारेर सहयोगको भिख माग्न चाहेनन्। पद र सम्पत्तिको लागि मुटु र कलेजोलाई बजारमा पसारा पारेर मोल तोक्न मनै लागेन ।

नेपालमा अर्को बिद्रोह भयो । माओवादीहरुको अगुवाइ हुनथाल्यो । फेरि आफ्नो पुस्ताले देखेका सपना अर्का पुस्तालाई देखाउन थालियो । बीरबहादुर भने एक्ला र असहाय हुन थालेका थिए । मुक्ति आन्दोलनका योद्धाको खोजी नभएको मुलुकमा गाउँका निमुखा भोका नांगा मानिसहरुले न्याय पाउने कुरामा उनमा शंका उत्पन्न भयो । आफ्ना सहपाठी जेलमेट केपी देशका प्रधानमन्त्री बने । बीरबहादुर भने घर छोडेर बृद्धाश्रममा बस्न थालेका थिए । उनको मनमा केपीसँग भेटगर्ने इच्छा उत्पन्न भयो । केपी झापा आउने कुराले उनको उत्साह उचालिएर आयो । एक दिन उनी केपीलाई भेट्न भनेर घरबाट निस्किए । घुरमैलो सेतो कमिज र शुरुवाल पहिरिए । आश्रमको बाहिर राखिएको ऐना हेरे । आफ्ना धमिला आँखाले कस्तो देखे सही देखे या गलत । बीरबहादुर ऐना अघि निकै बेर उभिएको देखेर आश्रमका अर्का बृद्धले भने– ‘हैन काका आज त निकै हिरो जस्तो देखिनु भा छ नि, हैन काकी भेट्न जाने होकी क्या हो ।’ बीरबहादुरले बोली हाले– ‘उमेराँत ध्यान लागेन ऐले केको काकी ! काकी साकी कोई छैन मेरो’ बोलीमा केही बिद्रोह र केही एक्लोपनाको आभास प्रष्ट हुन्थ्यो ।

केपीलाई भेट्ने उनको अनुरोध कसैले सुनेनन् । भेट्न आउने मानिसको लहरमा उनले धेरै बेर प्रतीक्षा गरे । मखमली कपडाको मगमग अनी मोटरसाइकल र कारमा आउने मानिसहरुको लर्कोमा उनी असहाय देखिन्थे । उनलाई लहरवाट फर्काउन खोजियो । कृष्णलाई सुदामाले भेट गर्न गएको कथाको याद भयो । उमेरमा झुट्टा सम्झिएका यस्ता कथाहरुको सत्यताको परीक्षण यही समयमै हुन आँटेको हो कि भनेर मन भुलाए । उनको बारम्बारको अनुरोधपछि एकजनाले ध्यान दिएर उनको कुरा सुने । अन्त्यमा ‘जेलमा सँगै बस्ने बीरबहादुर याने काका भनिदिनु’ भनिदिए बीर बहादुरले । उनले केपीसँग भेट गर्ने अवसर पाए । छोटो कुराकानी भयो । बृद्धाश्रममा बस्नु परेको आफ्नो बाध्यता र पुरानो जेल जिवनका केही कुरा एकै सासमा भनेरै छोडे । उनलाई पश्चिम बंगालको कुनै बेलाको कम्युनिष्टहरुको जनउभार र अहिलेको पत्तासाफको कुरा सम्झाउन मन थियो । नेपालको कांग्रेस, कम्युनिष्टका साङ्गो पांगो रुप छादीदिन मन थियो । माओवादी र खाओवादीको अवसरवादी पाटो सुनाइदिन मन थियो । धेरै ठूलो पोको थियो मनमा । दुःखको पोको । संस्मरणको पोको । बेदनाको पोको । एक्लै बस्दाको सृजनाको पोको । उमेरले ८० काटेका काका बीरबहादुरको पोको खोल्ने धोखो अधुरै रह्यो।

केही राहत पाउने आशा पलाएको पनि धेरै दिन बितेर गयो । कनकाईमा धेरै पानी बग्यो, बिरीङको धारले खेतीयोग्य जमिन काटेर लगेझैँ बीरबहादुरको मुटु काटिन थाल्यो । न त परिवार, न त साथीसंगी ! बिधाताको यो रचनाको पछिल्लो अध्यायमा आफू निमोठिएको अनुभव गरे उनले । उनको बृद्ध शरीर बृद्धाश्रममा मृत्यु पर्खन बिवश बन्न थाल्यो । आफ्नो मृत्युपछि घाटमा जलाउने दाउरा, घाटसम्म लास लैजाने भाडा र किरिया खर्च बापतको रकम आश्रम वा कोही कसैवाट उठाउन नपरोस् भन्ने लाग्थ्यो उनलाई । पार्टीमा लाग्दा पाएको जेलनेल, दुःख सम्झेर केही रकम सरकारी कोषबाट दिए फ्यास्स मरेपनि आनन्द हुन्थ्यो भन्ने आफ्नो अन्तिम इच्छा भएको बताइरहन्थे उनी ।

उनी बिहानै परोपकार तथा अनुसन्धान केन्द्रले चलाएको बृद्धाश्रमबाट निस्कन्छन् । आश्रम छेउकै अन्धुवा खोलाको पानी बगेको हेर्छन् । आफ्नो उमेर यसरीनै बगेर खेर गएको सम्झन्छन् । साथीभाइ मिलेर मोर्चाबन्दी गरेको सम्झन्छन् । स्वतन्त्रता र मुक्तिका गीत गाएको सम्झन्छन् । बच्चाहरुसहितकी दुःख पाएकी महिला स्वीकारेको सम्झन्छन् । छोराछोरीले गरेको अपहेलना सम्झन्छन् । घर छोडेको रात सम्झन्छन् । केपी सीपीहरु सम्झन्छन् । कांग्रेस, माले र झालेहरुले दिएको धोखा सम्झन्छन् । आफ्ना खाली खुट्टा हेर्छन् । ठेलाहरु फुटेर बगेको तरल पदार्थ हेर्छन् । अगाडिको ग्राभेल ढुंगे बाटोका चुच्चा ढुँगाहरु हेर्छन् । हेर्दाहेर्दै आश्रम हेर्छन् ।आश्रमका छेउका गगनचुम्बी घरहरु हेर्छन् । खोलाको पानीमा खेलिरहेका माछातिर हेर्छन् । आँखाबाट तरक्क आँशु झार्छन् अनि खाली खुट्टा हिँड्दै चौसठ्ठी काली मन्दिरको बाटो लाग्छन् । यसै क्रममा यो पंक्तिकारलाई एकजना पाँचथरवाट सेवा निबृत्त भएर बिर्तामोड आफ्नै टोलमा बस्ने शिक्षक छत्र न्यौपानेले चिनजान गराइदिन्छन् । त्यसपछि त फेरि पुरानो इतिहास कोट्याउँछन् बीरबहादुर ।

आज भोलि अनि अनेक दिनबिहानै बार्दलीमा चियाको घुट्को संगै बीरबहादुर श्रेष्ठको बीरगाथाको चर्चा उनीसँगैको भेटघाट र कुराकानीमा साक्षात्कार हुनथाल्छ । पुरानो कुनै पत्रिकामा छापिएको आफूवारेको सामग्री देखाउँदै उनी कथा शुरु गर्छन् अनि पत्रिकामा छपाइदिनु है सर भन्ने अनुरोधमा अन्त्य गर्छन् । अस्तु !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here