छठ पूजा आयोजना नगरिने

0
840

भद्रपुर ।

जनकपुरपछि नेपालकै दोस्रो ठूलो छठ पर्व मनाइने नेपाल–भारतको सीमामा पर्ने मेची नदीमा यसबर्ष छठ पूजाको व्यवस्थापन नगरिने भएको छ ।

कोरोना भाइरस (कोभिड–१९)को महामारीको कारण स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार भौतिक दूरी कायम राख्नुपर्ने, भीडभाड गर्न नहुने भएकोले यसवर्ष भद्रपुर–५स्थित मेची नदी किनारमा छठ पूजाको व्यवस्थापन नगरिने जनाइएको छ । तिहारमा समूहगत देउसी–भैलो नखेल्न, बिना काम घर बाहिर भीडभाडमा ननिस्कन, छठमा घाट नबनाउन सबै संघ–संस्था लगायत सम्पूर्ण नगरवासीसँग भद्रपुर नगरपालिकाले सूचना जारी गर्दै आग्रह गरेको छ ।

चाडपर्वहरूमा भीडभाड गर्न नपाइने सरकारको निर्णय अनुसार नै दशैँ पनि मनाइएको, तिहार पनि मनाउने र छठ पर्व पनि मनाइने भद्रपुर नगरपालिकाका नगरप्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिए । यसवर्ष चाडपर्व घर–घरमै मनाउन उनले नगरवासीसँग अनुरोध गरेका छन् ।

वर्षौँदेखि मेची नदी किनारमा छठ पूजाको आयोजना तथा व्यवस्थापन गर्दै आएको मैथिली समाज झापा भद्रपुरले पनि यस वर्ष छठ व्यवस्थापन नगर्ने जनाएको छ । मैथिली समाज झापाका अध्यक्ष रमेशचन्द्र झाले नगरपालिकासँगको समन्वय गर्दा यस वर्ष छठ पूजाको आयोजना तथा व्यवस्थापन नगरिने बताए । संस्थागत रुपमा छिट्टै निर्णय गरेर सम्पूर्ण व्रतालु तथा दर्शनार्थीहरूलाई जानकारी गराउने बताउँदै अध्यक्ष झाले भने– ‘यस वर्ष बिर्तामोड, दमक, धुलाबारी लगायत कुनै पनि ठाउँमा छठ पूजाको आयोजना नगरिने जानकारी प्राप्त भएको छ ।’

त्यस्तै भद्रपुर–५ देवीवस्तीमा पनि छठ पूजाको व्यवस्थापन नहुने भएको छ । प्रत्येक वर्ष यूनिक समूहले छठ पूजाको व्यवस्थापन गरिँदै आएको यसबर्ष कोरोना कारण पूजाको व्यवस्थापन नगरिने यूनिक समूहका सदस्य प्रकाश राजवंशीले बताए ।

नेपाली समुदायको मुख्य चाडपर्वमध्ये पूर्ण आस्था र भक्तिपूर्वक छठ पर्व मनाइने गरिन्थ्यो । हिन्दूहरूको मुख्य चाडपर्वमध्ये अन्तिममा पर्ने छठ पर्व मुख्य गरी चार दिन मनाएर व्रतालुहरूले आफ्नो मनोकामना पूरा हुने विश्वासका साथ सम्पन्न गरिन्छ ।

केही दशक अगाडि तराइवासीले मात्र मनाउने यो पर्व अहिले मुलुककै अधिकांश समुदायले सामुहिक रुपमा मनाउने गरेका छन् । अझ नेपालकै ठूलो छठ पूजा हुने ठाउँमध्ये दोस्रोमा पर्ने भद्रपुरस्थित मेची नदीमा गरिने छठ पूजा झापाकै आकर्षकस्थल बन्ने गरेको थियो । सीमा क्षेत्रमा पर्ने पूजास्थलमा दुवै देशका व्रतालुभन्दा दर्शनार्थी तथा अवलोकन गर्नेहरूको बढी भीड लाग्ने गर्दै आएको थियो । यहाँ नदीको दुवैतर्फ गरी तीन किलोमिटर क्षेत्रमा पाँच हजारभन्दा बढी पूजास्थल बनाइने गरेको छ ।

तर, गत तीन वर्षदेखि सार्वजनिक छठ पूजा समिति गठन गरेर यहाँ व्यवस्थापन गर्न कामको शुरुवात नगरपालिकाले गरेको छ । त्यसैगरी वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक डम्बरबहादुर पुरीले स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार दीपावली तथा छठ पर्व नगरवासीलाई मनाउन आग्रह गरेका छन् । सडक, चोक, बजारमा भीडभाड नगरी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई आफू पनि सुरक्षित हुन र अरूलाई पनि सुरक्षित राख्न अनुरोध गर्दै वप्रका प्रमुख निरीक्षक पुरीले तिहार तथा छठमा पटकाजन्य पदार्थ खरिद, बिक्री, भण्डारण तथा विस्फोटन नगर्न नगरवासीलाई अनुरोध गरेका छन् । कसैले पटकाजन्य पदार्थ खरिद, बिक्री, भण्डारण तथा बिस्फोटन गरे विस्फोटक पदार्थ ऐन अनुसार कडा कारबाही गर्ने समेत प्रहरी निरीक्षक पुरीले बताएका छन् । विस्फोटक पदार्थ ऐन अनुसार ३ वर्ष जेल सजाय र ३० हजार जरिवानासम्म हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here