योगेन्द्र योगी,
काठमाडौँ :
धन कमाएर सुखी जीवन जिउने सपना देखेर मलेसिया पुगेका दाङको तुलसीपुर उपमहानगरपालिका – ११ का ४३ वर्षका रुपलाल चौधरी घर फर्कने क्रममा मलेसियाको क्वालालम्पुर विमानस्थल एक्कासी ढल्दा मृत्यु भएको छ। बोर्डिङ पास लिएर र लगेजहरु पठाएर फ्लाइटको प्रतीक्षामा थिए।
उनी करिव ४ बर्ष अघि बैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका थिए। मलेसियाको बसाई सकेर नेपाल फर्किदै गर्दा गत शनिबार उनी नेपाल फर्कदै थिए। सबै लगेजहरु जहाजमा पठाएर बोर्डिङ पास लिएर उडान गर्ने तयारीमा रहेका उनी क्वालालम्पुर विमानस्थल लडेका थिए ।
लडेकै ठाउँमा उनको मृत्यु भएको परिवारले जानकारी दिएको छ। शवलाई त्यहाँस्थित अस्पताल लगेर पोस्टमाटम गर्दा उनको हृदयघातका कारण मृत्यु भएको रिपोर्ट आएको बताईएको छ। उनले म विमानस्थलमा छु अब केहि समय पछि मेरो उडान हुन्छ भनेर घर परिवारलाई म्यासेज पनि पठाएका थिए।
गत शनिबार दिउँसो करिव २ बजे क्वालालाम्पुरको एयरपोर्ट पुगेपछि घरमा श्रीमतीलाई भिडियो कल गरेर आफू नेपाल आउन लागेको भन्दै विमानस्थलका दृश्यहरु पनि देखाएका थिए । चांड पर्व नजिकिदै गर्दा घर फर्कन लागेका उनको मृत्युको खबर सुनेपछि घरको आँगन हेरेर बसेका परिवारलाई एकाएक बज्रपात परेको छ भने अहिले उनको गाउँ शोकमा ढुबेको छ।
उनको घरमा आमा,श्रीमती र दुई छोरा रहेको बताईएको छ। उता, मलेसियास्थित नेपाली दूतावासले कानुनी प्रक्रिया पूरा गरेर उनको शव चांडै नेपाल फर्काउने जनाएको छ।
उनी त एक प्रतिनिधि पत्र मात्र हुन् बिदेशमा ज्यान गुमाएका नेपालीको शवमा आउने अधिकांश कागजातमा मृत्युको कारणमा कि त प्राकृतिक कि त ह्दयघात लेख्ने गरिएको पाइए पनि प्राकृतिक मृत्यु भनेको कस्तो अवस्थामा भएको हो भनेर लेख्ने गरेको नपाइएको अध्ययनले देखाएको छ । विदेशमा मृत्यु भएका धेरै नेपालीको मृत्युको यकिन गरेको पाईदैन्।