चीनकाे नियन्त्रणले नेपाली व्यापारीकाे लगानी डुब्दै: कुटनीतिक पहल गर

२६ कार्तिक २०७७, बुधबार मा प्रकाशित

वैश्विक व्याधी कोरोना भाइरसका कारण चीनबाट हुँदै आएको आयात नियन्त्रित हुँदा नेपाली व्यापारीको लगानी डुब्न थालेको छ । चीनले कोरोना शून्य नीति लिएका कारण नेपाली व्यापारी सवारी र चालकलाई चीन प्रवेशमा रोक लगाएपछि झण्डै दश महिनादेखि सीमानाकामा सामान थन्किएका मात्रै छैनन् खाद्यान्न वस्तुहरु कुहिएर ठूलो क्षति भइसकेको छ । कोरोना व्याधीअघि दैनिक पचासदेखि एक सय वटा कन्टेनर चीनको सीमानाका तातोपानी हुँदै नेपाल प्रवेश गर्दथे । तर, अहिले एकदिनमा पाँच वटा कन्टेनरमात्र आउने गरेको छ । नेपाली व्यापारीहरुले चीनमा अर्डर गरेका अर्बौंका सामान खासा, केरुङ लगायतका चिनिया बजारमा अड्किएका छन् भने झण्डै नौ महिनाको अवधिमा सत्र अर्ब बराबरका तयारी पोशाक, जुत्ताचप्पल, मोबाइल, इलेक्ट्रोनिक्स सामान र विभिन्न किसिमका कच्चापदार्थ उतै अड्किएका कारण कतिपय व्यवसायीले आर्थिक, मानसिक तथा भौतिक क्षति व्यहोर्नु परिरहेको छ ।

कोरोना शून्य नीति अख्तियार गरेका कारण चिनिया अधिकारी र सरकारले विगतमा दिँदै आएको चीन प्रवेशको सहुलियत पूर्णतः हटाएको छ । कोरोना परीक्षणको नतिजालाई चिनिया सरकारले मान्यता दिएको छैन । नेपालमा गरिएको परीक्षणबाट प्राप्त नतिजा विश्वासयोग्य नभएकाले नेपाली चालकलाई चीनको सीमानाकामा प्रवेश गर्न नदिइएपछि यथेष्ट वस्तु आयात नहुँदा नेपाली व्यवसायीको लगानी डुब्न थालेको छ भने नेपाली उपभोक्तालाई महँगो मूल्यमा खरिद गर्नुपर्ने बाध्यता आइपरेको छ । चीनका अधिकारीहरुका तर्फबाट उत्पन्न भएको यस्तो अवरोध हटाउन नेपाल सरकारका तर्फबाट कुनै पहल नगरिँदा हुन थालेको क्षति तत्काल पुर्ताल हुने कुनै सम्भावना पनि देखिएको छैन । नेपाल सरकारको यस्तो अक्षमताले नेपाली व्यापारीको लगानी डुब्ने निश्चित जस्तै भएको छ भने आम उपभोक्ताहरुले दोहोरो मार खप्नुपर्ने भएको छ ।

कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न भन्दै बन्द गरिएको नाका केहीपछि खोलिएको थियो । तर, पूर्ववत् सरह खुल्ला गरिएन । त्यसकै परिणाम चिनिया सीमावर्ती नाका अर्बौंका सामान थुप्रिएका छन् । नौ महिनाअघि बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको ऋणको ब्याज र साँवा बुझाउन नसकेर व्यवसायीहरु मानसिक पीडामा छन् भने देशको अर्थतन्त्र नै जर्जर बनेको छ । सरकारले यी सबै वास्तविकतालाई अनुभूत गरेर कुटनीतिक पहल गर्दै विद्यमान असहजता हटाउनु पर्दछ । कोरोना भाइरसको परीक्षणलाई विश्वस्त बनाउने र नेपाली सवारीलाई चीनको सीमानाका हुँदै गोदामसम्म पुग्ने वातावरण निर्माण गरिदिनु पर्दछ । यसका लागि नेपाल सरकारले चीनस्थित नेपाली राजदूत, खासास्थित महावाणिज्य दूत र परराष्ट्र मन्त्रालयलाई सक्रिय बनाउने अग्रसरता देखाउनु पर्दछ । स्वास्थ्य सुरक्षाको भरपर्दो उपाय र वातावरण तयार गरी चिनिया सामान निर्वाध आयात गर्ने र व्यवसायीहरुलाई सहज वातावरण तयार गरिदिनु पर्दछ । अन्यथा सरकारप्रतिको निराशा कम गर्न सकिने छैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here