मेडिकल हब बन्दै बिर्तामोड : डा. नवल मल्टी स्पेसियालिटी अस्पतालको सेवा वैशाख १० बाट

0
5

सुरेन्द्र भण्डारी / गोपाल अधिकारी 
झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक शहर बिर्तामोड पछिल्लो समय ‘मेडिकल हब’का रुपमा बिस्तारित हुँदै गएको छ ।

निजी क्षेत्रको सक्रिय लगानी, आधुनिक उपकरणको प्रयोग र विशेषज्ञ सेवाको विस्तारसँगै बिर्तामोड ‘मेडिकल हब’ (स्वास्थ्य केन्द्र) का रूपमा परिचित बन्दै गएको हो । यसैक्रममा शल्य चिकित्सा क्षेत्रमा अनुभवी चिकित्सक डा. शम्भू नवलको नेतृत्वमा ‘डा. नवल मल्टी स्पेसियालिटी अस्पताल’ सञ्चालनको तयारीमा छ ।

आगामी वैशाख १० गतेदेखि सेवा शुरु गर्ने लक्ष्यसहित निर्माण गरिएको २५ शय्याको उक्त अस्पताल करिब १५ करोड रुपैयाँको लगानीमा तयार पारिएको हो ।

बिर्तामोडको भौगोलिक सहजता, पूर्वी पहाडी जिल्लासँगको पहुँच र भारतीय सीमासँग नजिक भएकाले यहाँ स्वास्थ्य क्षेत्रमा लगानी आकर्षित हुँदै आएको छ । इलाम, पाँचथर, ताप्लेजुङलगायतका पहाडी जिल्लाबाट आउने बिरामीहरूका लागि बिर्तामोड सहज गन्तव्य हो । यसअघि नै पूर्ण–टुङ्ग बिर्तासिटी अस्पताल, वीएण्डसी मेडिकल कलेज लगायतका दर्जनौं साना ठूला स्वास्थ्य संस्था सञ्चालनमा छन् ।

आँखा उपचारका लागि मेची आँखा अस्पतालसहित दर्जनौं आँखा अस्पतालले निजी स्वास्थ्य संस्थाले सेवा विस्तार गर्दै आएका छन् । यी सबै संरचनाले बिर्तामोडलाई मेडिकल हवका रुपमा स्थापित गराएको छ । ‘डा. नवल मल्टी स्पेसियालिटी अस्पताल’ ले विशेषगरी शल्य चिकित्सा सेवालाई प्राथमिकता दिएको छ । यहाँ चौबीसै घण्टा आपतकालीन शल्यक्रिया सेवा उपलब्ध हुने जनाइएको छ ।

अस्पतालमा पायल्स, फिसर, फिस्टुलाको लेजर प्रविधिबाट उपचारसहित हर्निया र हाइड्रोसिलको शल्यक्रिया, पित्तथैली र नलीमा हुने पत्थरीको दूरबिनमार्फत उपचार,मर्गौला तथा पिसाब नलीसम्बन्धी रोगको आधुनिक उपचार, एपेन्डिक्स र पेटभित्रका जटिल रोगहरूको शल्यक्रिया, ट्युमर तथा आन्द्रासम्बन्धी समस्याको उपचार गरिने जनाइएको छ ।

अस्पतालमा अत्याधुनिक प्रयोगशाला, एक्स–रे, भिडियो एक्स–रे, सघन उपचार कक्ष (आईसीयू) जस्ता सुविधा रहनेछन् भने नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) सेवा पनि छिट्टै विस्तार गर्ने योजना रहेको छ । डा. नवलका अनुसार पूर्वी नेपालमै पहिलोपटक ‘युरोफ्लोमेट्री’ सेवा शुरु गरिनेछ, जसले प्रोस्टेटसम्बन्धी बिरामीको पिसाबको धार परीक्षण गर्न सहयोग पु¥याउनेछ ।

स्त्रीरोग, बालरोग र हड्डी सम्बन्धी सेवा

अस्पतालले निकट भविष्यमा स्त्रीरोग सम्बन्धी सेवा विस्तार गर्दै सामान्य तथा शल्यक्रियामार्फत प्रसूति सेवा, पाठेघर तथा डिम्बको ट्युमर उपचार, तथा दूरबिनमार्फत जाँच सेवा शुरु गर्ने तयारी गरेको छ ।

त्यसैगरी हड्डी तथा जोर्नीसम्बन्धी सेवा अन्तर्गत भाँचिएको, चोटपटक लागेको, नशा च्यापिएको वा लिगामेन्ट च्यातिएको अवस्थाको उपचार उपलब्ध हुनेछ । बालरोग विशेषज्ञ सेवा र चौबीसै घण्टा फिजिसियन सेवा उपलब्ध गराइने अस्पतालले जनाएको छ ।
बिर्तामोडमा अस्पतालहरूको संख्या बढ्दै जाँदा स्वास्थ्य सेवामा प्रतिस्पर्धा पनि तीव्र बन्दै गएको छ । यसले सेवा गुणस्तर सुधार, नयाँ प्रविधिको प्रयोग र दक्ष जनशक्तिको माग बढाएको छ । पहिले सामान्य उपचारका लागि पनि बिराटनगर, धरान वा काठमाडौं धाउनुपर्ने अवस्था अहिले घट्दै गएको छ । अहिले धेरैजसो सेवा स्थानीयस्तरमै उपलब्ध हुन थालेका छन् ।

स्वर्ण पदक विजेता डा. नवल

नेपालको स्वास्थ्य सेवामा निष्ठा, ज्ञान र समर्पणको उज्ज्वल उदाहरणका रूपमा चिनिन्छन्– डा. शम्भु नवल । स्वर्ण पदक विजेता शल्य चिकित्सकका रूपमा परिचित उनी हजारौं बिरामीका लागि आशा, भरोसा र नयाँ जीवनको प्रतीक बनेका छन् ।

चिकित्सा शिक्षा र सेवामा निरन्तर उत्कृष्टता हासिल गर्दै आएका डा. नवल आफ्नो पुस्ताका अत्यन्त सक्षम, अनुशासित र समर्पित चिकित्सकमध्ये एक मानिन्छन् ।

वि.सं. २०३८ साल कात्तिक २२ गते सप्तरीको राजविराजमा पिता वलदेव र माता कलादेवी यादवका पुत्रका रूपमा जन्मिएका डा. नवलको बाल्यकाल शिक्षा र अनुशासनका बीच बित्यो । प्रारम्भिक शिक्षा राजविराजस्थित ह्याप्पील्याण्ड बोर्डिङ स्कूलमा पूरा गर्दै उनले अध्ययनप्रति असाधारण रुचि देखाए । त्यसपछि कक्षा ७ देखि एसएलसीसम्मको अध्ययन बिराटनगरस्थित अरनिको बोर्डिङ स्कूलबाट पूरा गरे ।

पिताको सरकारी सेवाका कारण परिवारको स्थानान्तरणसँगै शिक्षा यात्रामा पनि नयाँ मोड आयो । उच्च माध्यमिक तहको अध्ययन उनले भारतको चेन्नाईस्थित सेन्ट जेन्स इन्टरनेशनल रेसिडेन्सियल स्कूलबाट गरे ।  त्यहीँ उनले जीवविज्ञान विषयमा उत्कृष्ट प्रदर्शन गर्दै कक्षा १२ मा भारतको शीर्ष ०.०१ प्रतिशतमा पर्न सफल भए । पूर्ण छात्रवृत्ति प्राप्त गर्दै ‘टपर ट्रफी’ जित्नु उनको प्रारम्भिक उपलब्धिमध्ये महत्वपूर्ण थियो ।

चिकित्सा शिक्षातर्फको यात्रा उनले बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरानबाट एमबीबीएस अध्ययनमार्फत शुरु गरे । अध्ययन अवधिभर निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै उनले ‘सर्टिफिकेट अफ मेरिट’ प्राप्त गरेका थिए ।

उच्च विशेषज्ञताका लागि उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत महाराजगञ्ज मेडिकल क्याम्पस, शिक्षण अस्पतालबाट जनरल सर्जरीमा एमएस अध्ययन पूरा गरे । सन् २०१२मा सम्पन्न उक्त अध्ययनमा टपर हुँदै उनले स्वर्णपदक प्राप्त गरे । यही क्षणले उनको चिकित्सकीय यात्रालाई नयाँ उचाइमा पु¥याएको हो ।

डा. नवलको सेवा यात्रा केवल अध्ययनसम्म सीमित रहेन । उनले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह–प्राध्यापकका रूपमा २०१२देखि २०१४सम्म सेवा गर्दै नयाँ पुस्ताका चिकित्सक उत्पादनमा समेत योगदान दिए । साथै नेपाल मेडिकल एशोसिएशन, विभिन्न सर्जिकल संघ–संस्था तथा एसियाली इण्डोस्कोपी र ल्याप्रोस्कोपी सर्जन संगठनहरूसँग आबद्ध रहेर उनले अन्तर्राष्ट्रियस्तरमा समेत आफ्नो उपस्थिति जनाए ।

२०७१ सालदेखि झापाको बिर्तामोडस्थित पूर्ण–टुङ्ग बिर्तासिटी अस्पतालमा सेवा शुरु गरेपछि उनले हजारौं बिरामीको जीवनमा नयाँ उज्यालो ल्याइदिने काम गरे । २० हजारभन्दा बढी सफल शल्यक्रिया सम्पन्न गर्दै उनी हजारौं परिवारको विश्वास जित्न सफल भए । पाँच हजारभन्दा बढी पित्तथैली तथा पित्तनलीको शल्यक्रिया, चार हजारभन्दा बढी मृगौला र मृगौलासम्बन्धी जटिल शल्यक्रिया, साथै एपेन्डिसाइटिस, एपेन्डिसाइटिस फुटेको जस्तो जटिल शल्यक्रिया तथा पायल्स र विभिन्न गाँठागुँठीका शल्यक्रियामा उनले उल्लेखनीय सफलता हासिल गरेका छन् । उनी इन्डोस्कोपी सेवा मार्फत पनि आधुनिक उपचारमा सक्रिय छन् ।

आफ्नै पहल र लगानीमा बिर्तामोड–२ स्थित रामचोक उत्तर २५ शय्याको डा. नवल मल्टी स्पेसियालिटी अस्पताल सञ्चालन गर्दै उनले सेवालाई अझ व्यापक बनाएका छन् ।
अनुसन्धान क्षेत्रमा पनि उत्तिकै सक्रिय डा. नवलले स्थानीय जनसंख्यामा सिरम प्रोटिनको स्तर, जन्मजात मुटु रोग, तथा शल्यक्रियापछि देखिने जटिलतासम्बन्धी ‘सर्जिकल स्कोर’ जस्ता विषयमा अध्ययन गरेका छन् । उनका अनुसन्धानहरू स्वास्थ्य क्षेत्रमा मार्गदर्शक सामग्रीका रूपमा उपयोग हुँदै आएका छन् ।

नेपाली, अंग्रेजी, हिन्दी र मैथिली भाषामा दक्ष उनी आधुनिक प्रविधि र कम्प्युटर सीपमा पनि निपुण छन् । सरल स्वभाव, अनुशासित जीवनशैली र सेवामुखी सोचका कारण उनी बिरामीहरूका लागि केवल चिकित्सक मात्र नभई भरोसायोग्य सहयात्री बनेका छन् ।
आज डा. शम्भु नवल केवल एक सफल शल्य चिकित्सक मात्र होइनन्, हजारौं बिरामीका लागि आशा र जीवनको केन्द्र पनि हुन् । उनको यात्रा निरन्तर सेवा, समर्पण र उत्कृष्टताको प्रेरक कथा हो– जहाँ चिकित्सा केवल पेशा होइन, मानवताको सेवा बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here