हवाई यात्रुको पर्खाइमा काँकरभिट्टाका ट्राभल व्यवसायीहरु

२६ कार्तिक २०७७, बुधबार मा प्रकाशित

लक्ष्मी उप्रेती,काँकरभिट्टा ।

सरकारले स्वास्थ्य सुरक्षाको मापदण्डसहित असोज ५ गतेबाट आन्तरिक हवाई सेवा खुला गरेपनि सीमावर्तीक्षेत्रमा सञ्चालनमा रहेका ट्राभल व्यवसायीहरु हवाई यात्रुको अभावमा समस्यामा परेको बताउँछन् ।

नोवल कोरोना भाइरस कोभिड १९ का कारण ६ महिनासम्म बन्द भएको आन्तरिक हवाई सेवा सरकारले गएको असोज ५ गतेदेखि स्वास्थ्य सुरक्षाको मापदण्डसहित गर्ने निर्णय गर्यो । सरकारी निर्णयले जिल्लामा सञ्चालनमा रहेका ट्राभल व्यवसायीहरुले खुशी व्यक्त गरे ।

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेण्ट्स १ नम्बर प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठ सरकारले आन्तरिक हवाई सेवा सञ्चालन गर्ने निर्णय गरेपछि नियमित उडान भएपनि अहिले सीमाक्षेत्रका ट्राभल व्यवसायीहरु हवाई यात्रु अभावमा समस्या व्यहोर्न बाँध्य भएको बताउनुहुन्छ । ६ महिनाअघिदेखि सुनसान रहेको झापाको भद्रपुर विमानस्थलमा अहिले जहाज र यात्रुको केही चहलपहल बढेको भएपनि नेपाल भारतसीमाको काँकरभिट्टामा सञ्चालनमा रहेका ट्राभल व्यवसाय हवाई यात्रु अभावमा सुनसान बनेका छन् ।

सीमाक्षेत्रमा रहेका अधिकाँश ट्राभल व्यवसाय भारतीय हवाई यात्रु तथा पर्यटकका भरमा चलेका छन् । तर, अहिले कोभिड १९ का कारण भारतीय नागरिकहरुलाई नेपाल प्रवेशमा निषेध गरेसँगै हवाई यात्रुको चाप समेत घट्दो छ । यसैका कारण व्यवसायीहरुले ठूलो आर्थिक व्यवभार व्यहोर्नुपरेको छ । झापाको भद्रपुर तथा मोरङ्गको विमानस्थलबाट जाने हवाई यात्रुहरुको टिकट गर्ने काम काँकरभिट्टाका ट्राभल व्यवसायहरुले गदैं आएका छन् ।

भद्रपुर विमानस्थलबाट अहिले दैनिक बुद्घ एयरको ३ यति एयरको २ श्री एयर र सौर्य एयरको १ ÷१ गरी कुल ७ वटा विमानले नियमित उडान गरिरहेको भद्रपुर विमानस्थलले जनाएको छ । यतिखेर नियमितरुपमा हवाई कम्पनिहरुले उडान गरे पनि काँकरभिट्टाक्षेत्रमा ट्राभल व्यवसाय सञ्चालन गदैं आएका व्यवसायीहरुलाई कुनै फाइदा नपुगेको ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की नेत्रले बताउनुहुन्छ ।

विशेषगरी काँकरभिट्टामा सञ्चालनमा रहेका व्यवसाय ट्राभलहरु भारतको सिक्किम, दार्जिलिङ्ग, कालेम्पोङ्ग, खर्साङ्ग, आसामलगायतका ठाउँबट आउने हवाईयात्रुहरुले यो नाका प्रयोग गर्ने गरेको व्यवसायीहरुको भनाई छ । अहिले यो नाकाबाट नेपाल आउने भारतीय हवाई यात्रुहरुको संख्या शुन्य झै रहेको अध्यक्ष कार्की बताउनुहुन्छ । अहिले आन्तरिक हवाई सेवा शुरु भएपनि ट्राभल व्यवसायीहरुलाई कुनै फाइदा नपुगेको कार्कीको भनाई छ ।

लकडाउन अघि दैनिक १ सय देखि डेढसयवटा सम्म हवाई टिकट विक्री हुने गरेको भएपनि पछिल्लो समय कोभिड १९ का कारण व्यवसाय ठप्प थियो । अहिले मुस्किलले महिनामा दुईवटा टिकट बेच्न नसकेको व्यवसायीहरुको भनाई छ । पछिल्लो समय उडान शुरु भएपनि हवाईयात्रु अभावमा कार्यालय खोल्नु र बन्द गर्नुवाहेक केही नभएको ब्रदर हुड टुर एण्ड ट्राभल काँकरभिट्टाका सञ्चालक मोहन तामाङ्गको भनाई छ ।

भारतीय हवाई यात्रुहरु नआउँदा अहिले ट्राभल व्यवासयीहरु ठूलो मारमा परेको उहाँको भनाई छ । सहजरुपमा भारतीय पर्यटक आउने अवस्था नभएका कारण पर्यटन व्यवसायीले पीडा व्यहोर्नु परेको उहाँको भनाई छ । हवाई सेवा त खुल्यो तर, यात्रुको पर्खाइमा काँकरभिट्टाका ट्राभल व्यवासयीहरु बसेका छन् । यो व्यवसाय पर्यटक र हवाई यात्रुको भरमा चल्ने भएकाले उनीहरु नै नआए पछि व्यवसाय धान्न गाहे भएको झापा टुर एण्ड ट्राभल काँकरभिट्टाका व्यवस्थापक भवानी निरौलाको भनाई छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here