राम आचार्यको ‘आत्मकथन’

0
1719

नेपाली साहित्य आकाशको आत्मकथा विधाको भण्डारमा एउटा सुन्दर कृति थपिएको छ । बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ लक्ष्मीनारायण टोल झापा निवासी साहित्यकार ‘राम आचार्य’द्वारा लिखित आत्मकथा कृति ‘अतीत र वर्तमान’ प्रकाशित भएको छ ।

‘लेखक राम आचार्यले आफ्नो घरको कुरो गरे पनि प्रत्येक नेपालीहरुको अतीत हेर्ने ऐनाका रुपमा ती विषय परेका छन् । नेपालको पूर्वी पहाडी जीवनशैली प्रतिविम्वित भएका छन् । कृतिमा रुढीवादी अन्धविश्वासको चिरफार गरिएको छ । कृतिमा झापाको बुधबारेको एउटा सुन्दर अतीत पनि परेको छ । बुधबारेका शिक्षा, विद्यालय, गुरुवर्गहरु, यहाँको राजनीतिक चेतना आदिलाई पुस्तकमा स्थान दिइएको छ । कृति, लेखकको आत्म प्रकटीकरण हो । यसमा वैयक्तिक राग पोखिएका छन् । साथै इतिहास पनि सुनाइएका छन् ।’ सह प्राध्यापक डा. नारायण गड्तौलाका विचार कृतिमा छापिएका छन् ।

‘राम आचार्यद्वारा लिखित यो कृति जीवनी साहित्य अन्तर्गत पर्दछ । आपूmलाई केन्द्रीय पात्रका रुपमा उभ्याई आफ्नो अतीतको गाह्रो साँगुरो, उज्यालो, अँध्यारो बाटोमा बिस्तारै–बिस्तारै पाठकलाई विचरण गराउनु लेखकको ध्येय रहेको पाइन्छ । कृतिको थालनीमा पाठकले राम आचार्यलाई बाहिरी आँखाले हेरेको हुन्छ भने जति–जति पाठक कृतिभित्र पस्दै जान्छ त्यति–त्यति ऊ लेखकलाई बाहिरी आँखा बन्द गर्दै भित्री आँखाले हेर्न पुग्छ । राम आचार्यको शारीरिक आकृतिलाई हेर्न छोडेर अब पाठक उनको मनोगत सुदृढता बुझ्न पुग्दछ । यस कृतिको माध्यमबाट यथार्थमा राम आचार्यको आन्तरिक व्यक्तित्वको पहिचान खुल्दै जान्छ । अपाङ्गता हुनुको पीडा आपूmलाई जेजति छ त्यो भन्दा पनि बढी त आफ्ना कारणले माता पितालाई हुन गएको मानसिक दुःख वेदनाले चाहिँ आपूmलाई बढी सताउँदो रहेछ । उनका यी अभिव्यक्तिले आम पाठकलाई उनीहरुको तेस्रो आँखा खोलिदिएको अनुभव हुन्छ ।’ कृतिमा साहित्यकार तारा विविधको विचार व्यक्त भएका छन् ।

कृति लेखक स्वयम् चाहिँ के भन्छन् त ? ‘अतीतलाई अँगालो हालेर वर्तमानमा बाँचेका हुन्छन् मानिसहरु । कहिलेकाँही कल्पनामा बयलिँदा अतीतका स्मृतिका तरङ्गहरु तँछाड मछाड गर्दै तप्किन थाल्दछन् मनभरि । स्मृतिका डोबहरु भत्किँदै जाँदा कति त कहालीलाग्दा गहिरा तलाउ पनि बन्न पुग्दछन् । आमाको काखदेखि कोक्रासम्म अनि पिँढीदेखि आँगनसम्म बामे सरेका कलिला यादहरु र गाउँ परिवेशमा घटेका घटनाको स्मरणले कहिले फत्रक्क गले जस्तो अनि कहिले अत्यासले घेरिएर उकुसमुकुस भए जस्तो लाग्छ । यस्तै झझल्काहरुको लिपिबद्ध एउटा सँगालो हो यो कृति । यो पुस्तक मेरो सिङ्गो जीवनको एउटा खेस्रा हो । यसमा मैले धरतीमा स्पर्श गरेदेखि भोगेका आरोह अवरोहका सूक्ष्मतम् व्यथाहरुलाई शब्दमालामा उन्ने प्रयास गरेको छु ।’ स्रष्टा राम आचार्यले यो पुस्तक उनको सिंङ्गो जीवनको खेस्रा हो भने पनि उनी बल्ल त ५८ वर्ष टेक्दैछन् । अझ धेरै बाँच्नै छ । त्यसैले यो पुस्तक उनको बाल्यकालदेखि प्रौढ वयसम्मको आत्मकथा भन्न सकिन्छ । आशा यो गर्न सकिन्छ कि, यहाँदेखि उप्रान्तको रोचक आत्मकथा पनि उनले पक्कै लेख्ने नै छन् । पुस्तकका लागि शिक्षक तथा लेक्चरर बालकृष्ण दाहालले कृतिमा शुभकामना व्यक्त गरेका छन् । (१) अतीतभित्रको सेरोफेरो, (२) विस्मृतिको क्षण, (३) तातोपानीको यात्रा, (४) भगवान् निस्के रे, (५) सण्ठीस्कूलदेखि हाईस्कूलसम्म, (६) बैशाखीको परिकल्पना, (७) खाने मुखलाई जुँगाले छेक्दैन, (८) मैले मानेको गुरु, (९) म्यान्छे, (१०) आत्मसन्तुष्टिकै लागि लेख्दै छु, (११) बुबा, आमा र म । पुस्तकमा समेटिएका आत्मकथाका शीर्षकहरु हेर्दा नै पढ्न रुची जागी हाल्दछन् ।

स्रष्टा राम आचार्य शारीरिक रुपमा अपाङ्गगता भएका व्यक्ति हुन् । उनी बैशाखीको भरमा मात्र हिँड्न सक्छन् । तर, अरु दुई पाङ्ग्रा थपिएको (अपाङ्गगता भएकाका लागि अनुकूल बनाइएको) मोडिफाईड स्कुटरमा जताततै पुग्ने गर्दछन् । अपाङ्गगता भएका नाताले उनले अभिभावक, परिवार, आफन्त, साथीसंगी, गुरुजन तथा सहकर्मीहरुलाई कहिल्यै निराश पारेनन् । उनी आप्mनो बौद्धिक क्षमताले अरु सरह नै पढे अनि अघि बढिरहे । सहकारी अभियानमा उल्लेख्य योगदान गरे । रेडक्रस जस्तो मानवीय संस्थामा आबद्ध भएर मानवीय सेवामा टेवा पु¥याए । सँगसँगै लेखन कर्मलाई पनि अघि बढाइरहे । आजसम्म आइपुग्दा उनले ‘मैले बुझेको सहकारी’ २०७१, ‘पीडाभित्रका अनुभूतिहरु’ २०७३ कविता संग्रह र यो नयाँ कृति ‘अतीत र वर्तमान (आत्मकथन)’ जस्ता सुन्दर कृतिहरु सिर्जना गरेका छन् । विभिन्न पत्रपत्रिकामा समेत उनका सिर्जनाहरु प्रकाशन हुने गरेका छन् । साहित्यिक कार्यक्रममा उनको सक्रिय सहभागिता हुने गर्दछ । उनका सिर्जना सुन्न साहित्यप्रेमीहरु व्यग्र प्रतिक्षारत हुन्छन् । उनका सिर्जनाहरुमा सामाजिक, मानवीय यथार्थ तथा वास्तविकता सरल शब्द तथा रोचक बान्कीमा भरपुर प्रतिविम्वित भएका पाइन्छन् । उनका सिर्जनामा प्रकृति बोलिरहेको हुन्छ, खेतबारीहरु अन्न फलाइरहेका हुन्छन्, चराचुरुङ्गीहरु चिर्बिराइरहेका हुन्छन्, सुन्दर पूmलहरुले वासना छरिरहेका हुन्छन् अनि समाज तथा देशको यथार्थताप्रति चिन्तन गरिरहेका र चेतना प्रवाह गरिरहेका हुन्छन् । उत्साह र प्रेरणा उनका सिर्जनाका विशेषता हुने गर्दछन् ।

‘उत्कृष्ट सहकारी सञ्चालक पुरस्कार २०६२’ द्वारा डिभिजन सहकारी कार्यालय झापाबाट पुरस्कृत स्रष्टा आचार्य अन्य थुप्रै संस्थाहरुबाट समेत पुरस्कृत र सम्मानित भएका छन् । वि.सं. २०२० साल आश्विन ८ मा नागी पाँचथरमा जन्मेका पिता भानुभक्त आचार्य एवम् जानुकादेवी आचार्यका सुपुत्र राम आचार्यले अर्थशास्त्र विषयमा स्नातकोत्तरसम्मको शिक्षा हालिस गरेका छन् । साहित्य सर्जकका रुपमा आचार्य प्रतिभाशाली छन् । आधादर्जन संघ–संस्थामा अध्यक्ष नै रही सकेका आचार्य समाज सेवामा समेत समर्पित रहेका छन् । युवराज आचार्य, सिसिरा आचार्यद्वारा यही २०७७ सालमा प्रकाशित स्रष्टा राम आचार्यको कृति ‘अतीत र वर्तमान (आत्मकथन)’ जसलाई स्रष्टा आचार्यले संस्मरणात्मक लेख संग्रह विधा भनेर पनि उल्लेख गरेका छन् । यसलाई आत्मकथा पनि भन्न सकिन्छ । उनका आत्मकथाले पाठकवर्गको मन छुन्छ ।

स्रष्टा आचार्यले आत्मकथनमा आफ्नो बाल्य जीवन निकै रोचक किसिमले पस्केका छन् । बाल जिज्ञासा र उपद्र्याइँ, काम गर्दै आमाले छरछिमेक र आफन्तसँग गरेका पारिवारिक र घरायसी कुराकानी सुन्दाको क्षण, आमाको असाध्य दुःख र बाबुको सुख, दुःख, पहाड हुँदाको घर, खेत, मधेश बसाइँ आउँदाको यात्रा वर्णन र बुधबारे आइसकेपछिका समयहरुबारे निकै घत्लाग्दा किसिमले लेखेका छन् । स्कूले जीवन, ढाडमा पुस्तक कापीका झोला बोकेर चारपाउ टेक्दै असिनपसिन हुँदै स्कूल गएको क्षण, गुरुवर्ग र साथी संगातीहरुको सम्झना निकै मार्मिक छन् । उनको आत्मकथनले खासगरी बुधबारे क्षेत्रको विशेषता पनि झल्काउँदछ । मन छुने घत्लाग्दा वर्णनहरु कति छन् कति पुस्तकभरि । ती रोचक, घत्लाग्दा, मार्मिक र प्रेरणादायी आत्मकथन पढ्ने जिम्मा पाठकवर्गमा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here